Comments Add Comment

मानव कंकाल भेटिने लाङटाङमा फेरि पर्यटक आउन थाले

Langtang-Valley-Rasuwa

रमेश धमला
२५ चैत, काठमाडौं । पर्यटकहरुका लागि आकर्षणको केन्द्र लाङटाङलाई गत वैशाखमा आएको भूकम्पले बगरमा परिणत गरिदियो ।

त्यहाँ पुरिएका मानिसहरुको शव अहिलेसम्म निकाल्न सकिएको छैन । तर, यही उजाड बगर हेर्नकै लागि भए पनि स्वदेशी तथा विदेशी पर्यटकहरु लाङटाङ आउने क्रम सुरु भएको छ ।

हिमपहिरोले लाङटाङलाई सोत्तर बनाएको एक वर्ष बित्न लाग्दा यहाँ पर्यटकहरुको चहलपहल देखिन थालेको हो । जबकि अहिलेसम्म हिमपहिरोमा कतिजना बेपत्ता भए भन्ने यकिन तथ्यांकसमेत आउन सकेको छैन ।

हिमपहिरोमा लाङटाङका स्थानीय र विदेशी पर्यटक ठूलो संख्यामा बेपत्ता भएका थिए भने कयौंले भागेर ज्यान जोगाएका थिए । बेपत्ताका बारेमा जानकारी दिने आफन्तसमेत नभएकाले उनीहरुको यकिन तथ्यांक आउन नसकेको अधिकारीहरु बताउँछन् ।

रसुवाका प्रहरी प्रमुख डीएसपी अवधेष विष्टले भूकम्पअघि लाङटाङ घुमेर लोभिएका विदेशीहरु अहिले उजाड भएको लाङटाङ हेर्न पनि आउन थालेको बताए ।  विष्ट भन्छन्, ‘कतिपयले आफना साथीहरु गुमाएको हुन सक्छ भने कतिपयलाई पर्यटकीय स्थल बगरमा परिणत भएको अवस्थामा पनि हेर्ने इच्छा हुन सक्छ ।’

भूकम्पपछि करिब २०० विदेशी पर्यटकहरु रसुवा पुगेकोमा अधिकांश लाङटाङ पुग्ने गरेका छन् ।

langtang

दुतावासबाट २१ जनाको लिस्ट

लाङटाङको पहिरोमा वेपत्ता भएको हुन सक्ने भन्दै नेपालस्थित विभिन्न देशका दुतावासहरुले जिल्ला प्रहरी कार्यालय रसुवामा तथ्यांक पठाएका छन् । अहिलेसम्म २१ जना विदेशी हराएको तथ्यांक जिल्ला प्रहरी कार्यालय रसुवामा पुगेको छ ।

आफ्ना वेपत्ता नागरिकहरुको शव भेटिएको छ कि भनेर विभिन्न दुतावासहरुले बेला-बेलामा चासो दिन्छन् । यसरी चासो दिनेमा जर्मनी, अमेरिका, स्पेन लगायत देशका दुतावासहरु रहेका छन् ।

त्यसो त स्थानीय र ट्रेकिङ गएकाहरुसमेत गरी सयौं नेपालीहरु पनि वेपत्ता भएका छन् । तर, परिवारै पहिरोमा परेकाले खोजी गर्न आउनेहरु निकै कम छन् । जिल्ला प्रहरी कार्यालय रसुवाले आफन्त वेपत्ता भएकाहरुलाई विवरण भर्न र्फम बनाएको छ । तर, खासै धेरैले र्फम भरेका छैनन् ।

कंकालहरु भेटिन्छन्

लाङटाङको हिमपहिरोमा परी ज्यान गुमाएकामध्ये १ सय ८७ जनाको शव आफन्तलाई बुझाइसकेको जिल्ला प्रहरी कार्यालय रसुवाको तथ्याङ्क छ । पछिल्लो समय पटक-पटक गरी  २२ वटा कंकालहरु भेटिएका छन् ।

केही दिनअघि मान्छेको दाँत देखिएको भन्ने सुचना पाएर पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले कम्मरभन्दा मुनिको आधा शरीर भएको कंकाल निकालेको थियो । उक्त कंकाल पनि डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।

तत्काल शव उत्खनन् सम्भव छैनः  प्रहरी

हिमपहिरोले बगर बनेको लाङटाङमा बेपत्ता भएकाहरुको शव उत्खनन् तत्काल सम्भव नभएको प्रहरीले जनाएको छ । पटक-पटक गएको पहिरोले गर्दा घरहरु निकै तल धसिएका छन् ।

पुरिएका ती घरहरुबाट शव उत्खनन् गर्ने सम्भावना नरहेको, तर कसैले शव वा कंकाल देखिएको खबर गरेमा उत्खननको लागि प्रहरी पठाउन सकिने जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी विष्टले बताए । उनी भन्छन्, ‘भेटिएका कङ्कालहरु उत्खनन गर्दै परिक्षणको लागि पठाइरहेका छौं, तर गएर सबै उत्खनन गर्न सकिने अवस्था छैन ।’

Langtang

१० सैनिक अझै वेपत्ता

लाङटाङको हिमपहिरोमा ज्यान गुमाएकाहरु सयौंको शव निकालेको नेपाली सेनाले आप\mनै जवानहरुको भने कंकालसमेत भेटाउन सकेको छैन । हिमपहिरोले ब्यारेक नै बगर बनेपछि सेनाका एक अधिकृतसहित १० जवान पनि त्यहि पहिरोमा विलिन भएका थिए ।

रसुवास्थित नारायणदल गणका गणपति प्रमुख सेनानी विक्रम गुरुङ भन्छन्, ‘हाम्रा सदस्यहरु पनि पहिरोमा पुरिएका छन्, तर निकाल्न सकिएको छैन ।’

सेनाले टोलीले पहिरोमा पुरिएकाहरुको शव भेटिन्छ की भनेर बेला-बेलामा घटनास्थलको रेकी गर्ने गरेको छ । शव वा कंकाल देखिएको सुचना पाएलगत्तै परिचालन हुने अवस्थामा सैनिक टोली रहेको प्रमुख सेनानी गुरुङले बताए । गुरुङ भन्छन्, ‘सेनाले सयौं शवहरु निकाल्यो, अब पनि वेपत्ताहरुको बारेमा कुनै जानकारी आए उत्खननको लागि तयारी अवस्थामा बसेका छौं ।’

सेनाले पहिरोमा बेपत्ता भएहरुको खोजिका लागि तयां प्रविधिको प्रयोग गर्ने तयारी गरिरहेको छ । पुरिएको स्थानमा किला गाडेर रसायनको प्रयोग गरेर मान्छेको शव छ कि छैन भन्ने पत्ता लगाउने प्रविधिको प्रयोग गरेर पुरिएकाहरुको शव उत्खनन गर्ने तयारी सेनाले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment