२ वैशाख, काठमाडौं । बेपत्ता छानविन आयोगले आज बिहीबारदेखि पीडितहरुबाट सार्वजनिक रुपमा उजुरी लिने भएको छ ।
आयोगले देशभरका शान्ति समितिमार्फत पीडितले दिएको उजुरी संकलन गर्न लागेको हो । पीडितले आयोगमा सीधै गएर पनि उजुरी दिन सक्नेछन् ।
आयोगले ६० दिनको समय सीमा तोकेर उजुरी संकलन गर्न लागको वेपत्ता पारिएका व्यक्तिको छानिविन आयोगका प्रवक्ता प्रा.डा विष्णु पाठकले अनलाइनखबरलाई जानकारी दिए ।
आयोगले जिल्लास्थित शान्ति समितिमा संकलन भएको उजुरी केन्द्रमा आएपछि अध्ययन थाल्नेछ । पाठकका अनुसार उजुरी अध्ययन पछि आयोगको टोली उजुरी दिने पीडितको घर दैलोमा पुगेर थप अध्ययन गर्ने छ ।
पीडितहरुलाई आफूमाथि परेको अन्यायविरुद्ध निर्धक्क भएर उजुरी गर्न उनले आग्रह गरेका छन् । पीडितले दिएका उजुरीका आधारमा नै दशवर्षे सशस्त्र संघर्षका समयमा कति मानिस बेपत्ता भएका थिए भन्ने निचोड आयोगले निकाल्ने छ ।
मेलमिलाप आयोगले पनि केहि दिनमा नै उजुरी संकलन गर्ने तयारी थालेको छ ।
उजुरी संकलनबारे स्पष्ट पार्न चैतको २६ र २७ गते शान्ति समितिका सचिवहरुलाई तालिम दिइएको थियो । सरकारले गठन भएको १४ महिनासम्म पनि नियमावली पारित नगर्दा दुवै आयोगले उजुरी संकलन गर्न पाएका थिएनन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले मारिएका, घाइते पारिएका, अपहरण गरिएका र अरु यस्तै खालका मानवअधिकारका गम्भीर उल्लंघनका घटनाहरु हेर्नेछ भने वेपत्ता आयोगले वेपत्ता भएका व्यक्तिहरुको सूची बनाउने र उजुरी लिने, अनुसन्धान गर्ने र घटनाको सत्य तथ्य पत्तालगाई स्थिति सार्वजनिक गर्नेछ ।
घटनामा दोषी देखिएकालाई कारवाहीको सिफारिस र पीडितलाई परिपुरण तथा पीडित परिवारलाई उपचारको सिफारिस पनि आयेगले गर्न सक्नेछ ।
प्रतिक्रिया 4