Comments Add Comment

पोखराका होटलमा ८० अर्ब लगानी, चार अर्ब थपिँदै

अन्तरराष्ट्रिय विमानस्थललाई धान्ने होटलको माग

Landmark-pokhara-hotel२ वैशाख, पोखरा । पर्यटकीय नगरी पोखरामा सञ्चालित होटलमा अहिलेसम्म ८० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यही वर्ष ४ अर्बको लगानी थपिँदै छ ।

नयाँ वर्षको प्रारम्भमै प्रधानमन्त्री केपी ओलीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास गरेका छन् । ठेकेदार चिनियाँ सीएएमसी इञ्जिनियरिङ कम्पनीले चार वर्षभित्र विमानस्थल निर्माण सम्पन्न गर्ने बताएको छ । अन्तरराष्ट्रिय विमानस्थल बनेपछि पोखरामा विदेशी पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

विमानस्थल बनेसँगै पर्यटकको संख्या बढेमा अहिले सञ्चालनमा रहेका होटलहरुले नपुग्ने निश्चित छ । केही होटलबाहेक अहिले सञ्चालनमा रहेका अधिकांश होटलहरुले सुरक्षा संवेदनशिलता भएका विशिष्ट पर्यटकलाई सेवा दिन सक्दैनन् ।

नयाँ विमानस्थलसँगै पोखरामा प्रयाप्त पाँचतारे होटलको आवश्यकता महशुस गरिएको छ । विमानस्थल शिलान्यासमा आएका प्रमुख दलका शीर्ष नेताहरुले पनि तारे होटलहरुको संख्या बढाई र सेवा सत्कारको गुणस्तर सुधारेर धेरै भन्दा धेरै पर्यटकको सेवाका लागि तयार रहन सुझाव दिएका छन् ।

अहिले पोखरामा वाषिर्क सवा लाख विदेशी पर्यटक आउँछन् । विमानस्थल सञ्चालनमा आएपछि यो संख्या १५ गुनाले बढ्ने सांसद रविन्द्र अधिकारीको ठम्याइ छ । पर्यटकको संख्या १५ गुनाले बढेमा होटलको संख्या पनि त्यही अनुरुपमा बढाउनुपर्ने हुन्छ ।

ठूला घरानाको आकर्षण 

पोखरामा पछिल्लो समय होटलमा लगानी हृवात्तै बढेको छ । होटल व्यवसायमा लगानी गर्न खोज्नेहरुको पहिलो रोजाइ पोखरा बनेको छ । पोखरामा स्तरीय तारे होटलको अभाव महसुस भइरहेका बेलामा ठूला व्यवसायिक घरानाले लगानी गर्ने घोषणा गरिसकेका छन् ।

लगानी घोषणा गरेर पनि निर्माण सुरु नगरेका यी घरानाले विमानस्थल निर्माण सँगसँगै होटल बनाउन सुरु गर्ने अपेक्षा गरिएको छ ।

Hotel-Middle-Path,-Pokhara-पोखरामा चारतारे होटल खोल्ने घोषणा गरेको लक्ष्मी समूहले लगानीको उपयुक्त समय पर्खिएर बसिरहेको थियो । विमानस्थलको शिलान्यासँगै होटल बनाउने उपयुक्त समय आएको लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठले बताए । लेकसाइडमा होटल खोल्न चाहिरहेको लक्ष्मी समूहले चारतारे होटलका लागि करीब दुई अर्ब लगानी गर्नेछ ।

यसैगरी सोल्टी होटलले छिट्टै ४ तारे होटल निर्माण गर्ने बताएको छ । अहिले नेपालगञ्जमा चारतारे होटल बनाइरहेको सोल्टीले दोस्रो प्राथमिकतामा पोखरालाई राखेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष सुरज वैद्यले बेगनासमा रिसोर्ट सञ्चालनको तयारी गरिरहेको बताएका छन् । रिसोर्टका लागि उनले जग्गा समेत खोजेर तयारी अवस्थामा राखिसकेका छन् ।
डलर अर्बपति विनोद चौधरीले पनि पोखरामा तारे होटल खोल्नका लागि जग्गा खोजिरहेका छन् । उपयुक्त जग्गा पाउनासाथ होटल निर्माण गर्ने पक्षमा उनी छन् ।

भर्खरैमात्र उनले चितवनको मेघौलीमा मेघौली सराई लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएका छन् । जुन रिसोर्टको व्यवस्थापनको जिम्मा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड ताज सफारीले लिएको छ ।

व्यवसायिक घरानाले होटल निर्माण सुरु गरेमा करीव १० अर्ब रुपैयाँ लगानी थपिने देखिन्छ । यी घरानाले ४ र ५ तारे होटल बनाउने योजना बनाइरहेका छन् ।

यस्तो छ पोखरामा होटलको अवस्था 

अहिले पोखरामा ४ सय पर्यटकस्तरीय होटलहरु सञ्चालनमा रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरत पराजुलीले बताए । यी होटलमा करिव ९ हजार रुमहरु छन् ।

अहिलेसम्म यहाँका होटलमा २० हजार रुमहरु उपलब्ध रहेको अध्यक्ष पराजुलीले बताए । अहिले सञ्चालनमा रहेका होटलहरुले दैनिक २५/३० हजार पर्यटकलाई सेवा दिन सक्छन् ।

‘पोखरामा होटल बनाउने क्रम हृवात्तै बढेको छ, ३/४ अर्ब लगानीका होटलहरु निर्माण भइरहेका छन्’ अध्यक्ष पराजुलीले भने- ‘तर, नयाँ बन्न लागेका अधिकांश होटलहरु २५ देखि ८० रुमका मात्र छन् ।’

पोखरामा फूलवारी रिसोर्ट र पोखरा ग्रान्ड होटल गरी दुईवटा पाँचतारे होटल सञ्चालनमा छन् । अझै रिसोर्ट प्रकृतिका तीनवटा पाँचतारे होटलको आवश्यकता रहेको अध्यक्ष पराजुलीको भनाइ छ । पोखरामा खर्चालु र विशिष्ट खालका पर्यटक राख्ने होटलको अभाव रहेको उनले बताए ।

hotel-pokhara-grandeपोखराका होटलमा लगानी बढे पनि एउटै स्तरका होटलहरुमात्र बनिरहेको पराजुली बताउँछन् । यस्ता होटलले गुणस्तरीय पर्यटक भित्राउने भन्दा पनि आपसी प्रतिस्पर्धामात्र बढाउने पराजलुीको बुझाइ छ । उनका अनुसार पोखरामा ठूलो क्षेत्रफलमा फैलिएका भिल्लासहितका रिसोर्ट आवश्यक छ ।

पोखरामा रिसोर्ट विनाका होटलहरु पर्याप्त भएको हुँदा नयाँ लगानी गर्नेहरुले रिसोर्ट टाइपका होटलहरु बनाउनुपर्ने पराजुलीको जोड छ ।

ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक ओमप्रकाश पाण्डेका अनुसार करिव ५० वटाको हाराहारीमा नयाँ होटल तत्कालै सञ्चालनमा आउँदैछन् । भूकम्प र नाकाबन्दीका कारण यी होटल सञ्चालनमा आउन ढीला भएको उनको भनाइ छ ।

निर्माणाधीन नयाँ होटलहरु 

भूकम्प र नाकाबन्दीको बिचमा पनि गएको वर्ष पोखरामा करिव एक दर्जन होटल सञ्चालनमा आएका छन् । सराङकोटमा कर्ण शाक्यको हिमालय फ्रन्ट रिसोर्ट, हलनचोकमा होटल गुडवील, जलमाजल, पुम्दीभुम्दीमा दी प्याभिलियन हिमालयज रिसोर्ट, रुपाकोट रिसोर्ट लगायत गतपर्ष वर्ष सञ्चालनमा आए ।

पोखरा भ्यालीमा जग्गा महंगो र अभाव भएका कारण नयाँ लगानीकर्ताको आकर्षण डाँडाकाँडातिर देखिएको छ

हिमालय फ्रन्ट रिसोर्ट, दी प्याभिलियन हिमालयज र रुपकोट रिसोर्ट खर्चालु पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको हो । बाँकी निर्माणाधीन होटलहरु भूकम्प र नाकाबन्दीका कारण सञ्चालनमा आउन ढिलाइ भएको हो । यो वर्ष यी होटलहरु सञ्चालनमा आउने ल्यान्डमार्क होटलका प्रबन्ध निर्देशक पाण्डे बताउँछन् ।

पछिल्लो समय पोखरा भ्यालीबाहिर पनि होटलहरु निर्माण गर्ने क्रम बढेको छ । पोखरा भ्यालीमा जग्गा महंगो र अभाव भएका कारण नयाँ लगानीकर्ताको आकर्षण डाँडाकाँडातिर देखिएको छ । डाँडाकाँडा दृश्यालवकोनका लागि उत्तम हुने हुँदा पर्यटक समेत त्यस्ता ठाउँमा बस्न रुचाउँछन् ।

सराङकोट डाँडामा दुईवटा तारे होटल बनिरहेका छन् । धनाढ्य पर्यटक भित्राउने लक्ष्यसहित जापानीज र नेपाली लगानीकर्ताले दुईवटा होटल बनाइरहेका छन् । सराङकोटका दुई होटलमा करीव एक अर्ब रुपैयाँ लगानी हुने अनुमान संघका अध्यक्ष पराजुलीको छ ।

Pokhara-Japanise-Hotelजापानी लगानीकर्ताले बनाउन लागेको सराङकोटको होटलमा पोखराबाट केवलकारमा ग्राहकहरुलाई होटलसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य राखिएको छ । यो होटल पोखराकै नमूना होटलका रुपमा स्थापित हुने छ ।

राजधानी र पोखरामा तारे होटल चलाइरहेको सांग्रिला होटल चलाइरहेको सांगि्रला होटल एन्ड रिसोर्टले पोखराको बेगनासस्थित पचभैयामा ५० अर्ब लगानीमा ‘द लस्ट होराइजन रिसोर्ट’ खोल्ने तयारी गरिरहेको छ ।

यो रिसोर्टमा ४० वटा विश्वस्तरीय कटेजहरु रहनेछन् । यो रिसोर्टमा प्रतिरुम करबाहेक ३० हजारदेखि ५० हजार रुपैयाँसम्म बिक्री गरिने भएको छ ।

खासगरी बेगनास तला, रुपाताल, विश्व शान्ती स्तुपा, सराङकोट, पामे साइटमा होटल तथा रिसोर्ट खुल्ने क्रम जारी छ । तारे होटल बनाउने लगानीकर्ताले लेकसाइड भन्दा बाहिर जग्गा खोजिरहेका छन् । लेकसाइडमा ठूलो क्षेत्रफलमा बनाइने होटलका लागी जग्गा पाउन मुस्किल पर्छ ।

बहुराष्ट्रिय ब्रान्ड भित्राउनुपर्छ 

पोखराको पर्यटनलाई गति दिनका लागि विदेशी बहुराष्ट्रिय ब्रान्ड आवश्यक रहेको संघका अध्यक्ष पराजुली बताउँछन् । पछिल्लो समय राजधानीमा केन्द्रीत भएका अन्तर्राष्ट्रिय चेनहरु पोखरामा पनि ल्याउन सकेमा यहाँको पर्यटनमा नयाँ आयाम थपिने विश्वास व्यावसायीको छ ।

पोखरामा अधिकांश होटलहरु पारिवारिक रुपमा चलिरहेका छन् । कर्पोरेट रुपमा सञ्चालनमा रहेका होटलहरु निकै कम रहेका छन् । जसले गर्दा पोखरा गुणस्तरीय पर्यटक भित्राउन चुकिरहेको छ ।

 अर्बपति विनोद चौधरीले पोखरामा रिसोर्ट खोले पनि अन्तर्राष्ट्रिय चेनलाई भित्राउने छन् । जसले धनाढ्य पर्यटक भित्राउन सहयोग पुग्नेछ । पोखरामा अहिलेसम्म विदेशी चेन टिक्न सकेका छैनन् । एशियाकै चर्चित मानिने फुलवारी रिसोर्टमा पटक-पटक विदेशी चेन व्यवस्थापन सम्हाल्न आए पनि टिक्न सकेका छैनन् ।

बहुराष्ट्रिय कम्पनीको सञ्जाल विश्वभर फैलिएको हुँदा मार्केटिङमा सहज हुन्छ । यी कम्पनीले आफुलाई आवश्यक ग्राहक आफै खोज्छन् । यिनीहरुको सञ्जालबाट विश्वभर भ्रमण गर्ने पर्यटकको सानो हिस्सामात्र नेपाल ल्याउन सकेमा नेपाली पर्यटन व्यवसायले फड्को मार्छ ।

लेकसाइट बाहिर फैलन जरुरी 

पोखरालाई पर्यटकीय नगरी भनेपनि यहाँको पर्यटन लेकसाइडमा मात्र केन्दि्रत रहेको छ । लेकसाइडको विकल्पमा सराङकोट र हृवाइट गुम्बा बाहेक तेस्रो ठाउँ छैन । जसले गर्दा होटल व्यावसायी पनि लेकसाइडमै केन्द्रित छन् ।

Pokhara Lakesideलेकसाइडमा थोरै जग्गा लिएर भवन बनाई ४०/५० रुमका होटल बनाउने क्रम बढेपछि यहाँको पर्यटन खुम्चिएको छ । यही कारण पोखरामा रिसोर्ट टाइपका तारे होटलहरुको संख्या कम भएको पराजुली बताउँछन् ।

अब लेकसाइड बाहिर पर्यटन विस्तारमा लाग्नुपर्ने पराजुलीको भनाइ छ । नयाँ विमानस्थल बनेपछि त्यहाँ पाँचतारे होटल बनाउनैपर्छ । यो विमानस्थलले पोखराको पर्यटन बहुआयामिक हुने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment