+
+

मिस नेपाल : कोही चम्किए, कसैको अत्तोपत्तो छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २ गते १३:०९

मिस नेपालको ताज लगाएपछि हरेक सुन्दरीले भन्ने गर्छन्, म नेपाल र नेपालीको नाम विश्वमा चिनाउने छु । पहिलो मिस नेपाल रुवी राणादेखि अघिल्लो वर्षकी इभाना मानन्धरसम्म आइपुग्दा कतिले नेपाललाई विश्वमा चिनाए त ? आउनुस जवाफ खोजौं ।

मिस नेपाल हुँदा सञ्चारमाध्यममा छाएका कतिपय सुन्दरीहरुको अहिले अत्तोपत्तो छैन । केही मिस नेपालले चाहिँ ग्ल्यामरको क्षेत्रमा लागेर नाम कमाएका छन् । हेरौं अहिलेसम्मका मिस नेपाल को चम्किए र को हराए ?

रुबी राणा
सन् १९९४ मा पहिलोपटक भएको मिस नेपाल प्रतियोगितामा वीरगञ्जकी रुबी राणाले उपाधि जितिन् । पहिलो प्रतियोगिताको फाइनलमा उनले २१ प्रतिस्पर्धिलाई उछिनेकी थिइन् ।
मिस नेपाल भएपछि केही समय अभिनय र मोडलिङमा सक्रिय रहे पनि यसमा निरन्तरता दिन भने सकिनन् । बरु उनी अहिले व्युटिसियनका रुपमा चिनिएकी छिन् ।
सुमी खड्का
सन् १९९५ मा भएको मिस नेपालको दोस्रो संस्करणमा सुमी खड्काले बाजी मारिन् । ताज लगाएपछि उनले पनि अभिनयको क्षेत्रमा हाम्फालिन् । अभिनेता भुवन केसीले उनलाई आफ्नो फिल्म सुपरस्टारमा नायिका बनाए । तर उनको पनि अभिनय यात्रा अगाडि बढ्न सकेन । अहिले उनी एयरहोस्टेसको रुपमा कार्यरत छिन् ।

पुनम घिमिरे
पेशाले नर्स पुनम घिमिरे तेस्रो मिस नेपाल हुन् । काठमाडौकै स्थायी वासिन्दा पुनमले पनि सिरियलमार्फत अभिनय सुरु गरेकी थिईन् । तर, मिस नेपाल भएको तीन वर्षपछि उनी अमेरिका भासिइन् । अहिले पनि अमेरिकामै गुमनाम भएर बाँचिरहेकी छिन् ।

नीलिमा गुरुङ
सन् १९९७ मा पोखराकी निलिमा गुरुङले मिस नेपालको ताज हात पारिन् । उनी मिस नेपाल बन्न सफल पहिलो जनजाती सुन्दरी थिइन् । मिस नेपाल भएपछि केही म्युजिक भिडियोमा अभिनय गरेकी निलिमा विवाहपछि लगभग बेखबर जस्तै छिन् । उनी यूकेमा बस्दै आएको बताइन्छ ।
gharana bajracharya
झरना बज्राचार्य
नीलिमा मिस नेपाल घोषित भएकै वर्ष भएको अर्को प्रतियोगीतामा झरना बज्राचार्य ‘मिस वल्र्ड नेपाल’ भइन् । झरनाले मिस नेपाल भएपछि चलचित्र र म्युजिक भिडियोमा नाम कमाइन् । उनले एउटा हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा समेत अभिनय गरिन् ।

पछिल्लो समय योगा प्रशिक्षक बनेकी झरनाले हालै छोरा जन्माएकी छिन् । बेलायती नागरिकसँग ईंगेजमेन्ट गरेपछि विवाह नै नगरी सम्बन्ध तोडेकी उनले भारतीय मुलका मलेशियन ब्यबसायी राहुल अग्रवालसँग विवाह गरेकी हुन् । नेपाली चलचित्र ‘सेफल्याण्डिङ’का निर्मातासमेत रहेका अग्रवालँंग झरनाले प्रेम विवाह गरेकी थिइन् ।

ज्योती प्रधान/निरु श्रेष्ठ
सन् १९९८ मा मिस नेपाल भएकी ज्योती प्रधानले आफ्नो ताज सुरक्षित राख्न सकिनन् । मिस नेपाल भएको १ वर्ष नपुग्दै सम्झौता तोडेर ज्योती अमेरिका गइन् । त्यसपछि आयोजक संस्थाले उनको ताज खोसेर तत्कालिन सेकेण्ड रनर अप निरु श्रेष्ठलाई मिस नेपाल घोषणा गरेको थियो ।

श्वेता सिंह
सन् १९९९ मा श्वेता सिंह मिस नेपाल भइन् । उनलाई मिस नेपाल घोषणा गर्दा आयोजक संस्थाले धाँधली गरेको भनेर निकै आलोचना भएको थियो । तत्कालिन एअरहोस्टेस श्वेता अहिले हरेक वर्ष हुने मिस नेपालका प्रतियोगीलाई प्रशिक्षण दिने गर्छिन् ।

उषा खड्गी
सन् २००० मा भएको प्रतियोगीतामा उषा खड्गी मिस नेपाल घोषित भइन् । मिस नेपाल भएपछि उनी ग्ल्यामरको क्षेत्रमा नै रमाइरहेकी छिन् । कार्यक्रम प्रस्तोता जिपी तिमिल्सीनासँग विहे गरेकी उनी म्युजिक भिडियो र विज्ञापनमा व्यस्त छिन् । उनी बुटिक पेशालाई अगाडि बढाएर चर्चामा छिन् ।
malbika subba
माल्भिका सुब्बा
मिस नेपाल भएकाहरुमध्ये प्रतिभाशाली सुन्दरीभित्र गनिन्छिन् माल्भिका सुब्बा । उनी २००२ मा मिस नेपाल भएपछि अभिनय हुँदै फिल्म निर्माणमा समेत सक्रिय छिन् । आमा बन्ने तयारीमा रहेकी माल्भिकाले निर्माण गरेको फिल्म ‘हाउ फन्नी’ प्रदर्शनको तयारीमा छ ।

प्रिती सिटौला
प्रिती सिटौला पनि थोरै चर्चा पाउने मिस नेपालभित्र पर्छिन् । सन् २००३ मा मिस नेपाल भएपछि केही म्युजिक भिडियोमा अभिनय गरे पनि उनको करिअर माथि उठ्न सकेन । उनी हाल अमेरिकामा बस्दै आएकी छिन् ।

पायल शाक्य
मिस नेपाल भए पनि खासै चर्चामा आउन सकिनन् पायल शाक्य । सन् २००४ मा मिस नेपाल भएकी उनी त्यसको दुई वर्षपछि अष्ट्रेलियातिर उडिन् । अष्ट्रेलियामा लामो समय गुमनाम जीवन बाँचेकी उनी सन् २०१० मा गुठी अष्ट्रेलियाको सांस्कृतिक दूत भएकी थिइन् ।

सुगारिका केसी
सन् २००५ मा सम्पन्न ११ औं मिस नेपालकी विजेता सुगारिका केसी स्टेजको राम्रै होस्ट मानिन्छिन् । मिस नेपाल प्रतियोगीलाई प्रशिक्षण दिने काममा पनि उनको राम्रै योगदान छ ।

जेनिशा मोक्तान
मिस तामाङ हुँदै सन् २००९ मा मिस नेपालको ताज हात पारेकी जेनिशा मोक्तानले एक समय मोडलिङमा राज गरिन् । एक महिनाअघि मात्रै व्यवसायी दिकेश मल्होत्रासँग विवाह बन्धनमा बाँधिएकी जेनिशा अहिले हनिमुनमा छिन् ।

सदीक्षा श्रेष्ठ
सन् २०१० मा मिस नेपाल भएकी सदिक्षा श्रेष्ठ पनि चर्चामा छिन् । उनले चलचित्र र म्यूजिक भिडियोमा हात हालेकी त छैनन् । तर, उनको चर्चा विज्ञापन र सार्वजनिक कार्यक्रममा खुबै हुन्छ । केही विज्ञापनमा मोडलिङ समेत गरेकी सदिक्षा फेसनको दुनियाँमा भने सक्रिय छिन् ।

मलिना जोशी
धरानकी मलिना जोशी सन् २०११ मा मिस नेपाल भएपछि अभिनयमा लागिन् । डेब्यू फिल्म ऋतुले उनलाई खासै सफलता दिलाएन । उनी अहिले अर्को फिल्म संरक्षणमा व्यस्त रहेकी छिन् । केही म्यूजिक भिडियोमा पनि मलिनाले काम गरेकी छिन् ।
shristi shrestha
श्रृष्टी श्रेष्ठ
चितवनकी श्रृष्टी श्रेष्ठ चर्चित मिस नेपालहरुमध्येमा पर्छिन् । केही नेपाली र हिन्दी गीतमा समेत मोडलिङ गरेकी सृष्टीले अभिनय गरेको पहिलो फिल्म रिलिजको तयारीमा छ । उनले नायक अनमोल केसीको अपोजिट भएर गाजुलीमा अभिनय गरेकी हुन् ।

जो हराए
इशानी श्रेष्ठ (२०१३), सुबिन लिम्बु (२०१४) इभाना मानन्धर (२०१५)  मिस नेपाल भएर खासै चर्चामा आउन सकेनन् । पछिल्लो समय मिस नेपालको क्रेज खस्किएको आभाष पनि गर्न थालिएको छ । बर्षमा हुने सयौ सौन्दर्य प्रतियोगीताका कारण पनि मिस नेपालको क्रेज केही खस्किएको छ । तर, विश्व सुन्दरी प्रतियोगीतामा भाग लिन पुग्ने र सहजै चलचित्र वा मोडलिङमा प्रवेश गर्न पनि सकिने भएकाले मिस नेपालको चर्चा अरु सौन्दर्य प्रतियोगीताको भन्दा बढी नै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?