Comments Add Comment

कञ्चनपुर एयरपोर्टमा भैंसी, दोधारा पुलमा भटभटे

सुदुरपश्चिम डायरीः सरकारलाई लाज लाग्दैन ?

Dodhara 2
एशियाकै सबैभन्दा लामो झोलुंगे पुल पश्चिम नेपालको कञ्चनपुर जिल्लामै भए पनि परिस्थितिले झोलुंगे पुलको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिलेको थिएन । मौका जुराइदियो नयाँ वर्ष ०७३ ले ।

महाकाली बाहिरको नेपाल भनेर चिनिने दोधारा-चाँदनी क्षेत्र पर्यटकीय गन्तव्य भनेर जति किताव र पत्रपत्रिकामा पढियो, त्यति किन पर्यटकीय विकास भएन ? दोधारा-चाँदनी क्षेत्रको वर्तमान अवस्था कस्तो छ ? पर्यटन विकास हुन नसक्नुका कारण के हुन् ? यसबारे जान्न चासो लागिरहेको थियो ।

पर्यटकीय सम्भावनाः

कृष्ण महरा
कृष्ण महरा

हिजोका दिनमा महाकालीपारिका दुईवटा गा.वि.स. कुन-कुन हुन भन्ने प्रश्नको सजिलो उत्तरमा दोधारा, चाँदनी आउँथ्यो । आज दोधारा-चाँदनीको परिचय फेरिएको छ ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट दक्षिण-पश्चिममा रहेको दोधारा चाँदनी क्षेत्र भारतीय सीमानासँग जोडिएको नेपालको पश्चिमी सीमाना हो । यो क्षेत्र पर्यटनका लागि बहुचर्चित र प्रसिद्ध छ ।

कञ्चनपुर जिल्ला विश्वमै दुर्लभ बाह्रसिंगाको राजधानी नै मानिन्छ । दोधारा-झोलुंगे पुलसँगै जोडिएको शुक्लाफाँटा वन्यजन्तु आरक्ष र यहाँ रहेका जीवजन्तु, प्राकृतिक दृश्य तथा घाँसे मैदानहरुको अवलोकन गर्न संसारका कयौं देशहरुबाट विदेशी पर्यटकहरु आउने गर्दछन् । अझ पछिल्लो समयमा फस्टाएको थारु होम स्टे तथा कटेजहरुको रौनक पनि यहाँको पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।

Dodhara Bridge 3 copy

हामी मदनचोकमा पुग्नेवित्तिकै एकजना मोटरसाइकल चालकले सोधिहाल्नुभयो ।
‘सर झोलुंगे जाने हो’ ?
‘हो हो’ , मैले टाउको हल्लाएमात्रै ।
सँगै एउटा म्याजिक पनि थियो । म्याजिक र मोटरसाइकलवालाहरु बीच कसले यात्रु आफुले ओसार्ने भन्ने विषयमा भनाभन र चर्काचर्की नै भयो । मोटरसाइकलले सय र म्याजिकले पचास रुपैयाँ मात्रै लिन्थ्यो ।
बिहानको दश बजिसकेकाले गर्मीयाममा हामीलाई जतिसक्दो चाँडो जानु थियो । मोटरसाइकल वा म्याजिक जुनमा गए पनि पैसाको खासै फरक थिएन । मोटरसाइकल चढ्ने वित्तिकै करिब पन्ध्र/बीस मिनेटमा पुर्‍याइदिन्थ्यो । म्याजिकले यात्रु भर्दै कम्तिमा पनि एक घण्टा । समयको हिसाबले हामीले मोटरसाइकल नै रोज्नु थियो तर पनि हामीले म्याजिक नै रोज्यौं ।
किनभने, हामीलाई दोधारा झोलुंगे पुल पुर्‍याउन तम्सिएका अधिकांश मोटरसाइकल भारतीय नम्बर प्लेटका थिए । सोच्यौँ हामीलाई झोलुंगे घुमाउने सवारी साधन कम्तिमा नेपाली नम्बरको होस्, नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको होस् ।

विमानस्थलमा भैंसी
Kanchanpur Airport
यातायातको साधनका नाममा तिनै मोटरसाइकल र सानो म्याजिकबाहेक दोधारा झोलुंगे जान चाहने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि गुणस्तरीय जीप, माइक्रोबस वा बसको व्यवस्था छैन । रोडका नाममा साँघुरो, थोरै कालोपत्रे र धेरै धुलाम्य सडक छ । त्यही सडकमा हामी चढेको म्याजिक बाटोभरि अन्य यात्रुहरुलाई ओराल्दै-चढाउदै अगाडि बढ्यो ।

सदरमुकाम महेन्द्रनगरबाट करीब चार/पाँच किलोमिटर अघि बढेपछि आयो एउटा ठूलो खुल्ला चौर र कच्ची सडक, जहाँ दर्जनौँको संख्यामा भैंसी, बाख्रा अनि गाइगोरु र गोठाला भेटिए । यस अघि त्यस ठाउँमा नगएका हामीले ड्राइभरलाई सोध्यौं, ‘दाइ यो के हो ?’

‘कञ्चनपुरको एयरपोर्ट यही हो नि’, उनले सोझो उत्तर दिए । विश्वप्रसिद्ध दोधारा झोलुंगे पुल, बारसिंगाको राजधानी शुक्लाफाँटा वन्यजन्तु आरक्ष, सुप्रसिद्ध धार्मिक स्थलहरु विष्णुमन्दिर, शिवधाम, घटालबाबा, वैजनाथधाम, निंलाशैनी भगवती, र सिद्धनाथ तथा यस क्षेत्रका अति नै रमणीय बेतकोट ताल, बन्दा ताल,  झिलमिला ताल, रानीताल, प्यारा ताल एवं पुरैना ताल जस्ता कैयौं पर्यटकीय स्थल रहेको कञ्चनपुर जिल्लामा एयरपोर्टको त्यो हालत देख्दा हामी अचम्मित मात्रै भएनौं, नेपाल सरकारलाई सम्झेर दया लागेर आयो ।

एयरपोर्टको धावनमार्गमा गाई र गोरु दौडिरहेका थिए, जहाज पार्किङ गर्ने ठाउँमा भैंसी आराम गरिरहेका थिए । नालायक र भ्रष्ट नेताहरुलाई सरकारमा बस्नुको अलिकति पनि लाज हुन्थ्यो भने यस्तै नेपालका कयौं एयरपोर्टहरुमा भैंसी होइन, देश विदेशबाट वोइङ ४७७ जहाजहरु अवतरण र पार्किङ हुन्थे । यहाँ भैंसी गोठालाहरुको सट्टा देशी विदेशी पाइलटहरु हुन्थे । यस क्षेत्रका कसैले पनि दिल्ली र बैंग्लोरका होटलमा भाँडा माझ्न जानु पर्दैनथ्यो । दश हजारका लागि कतार र साउदी अरबका भेडीगोठमा आˆनो जीवन लिलाम गर्नुपर्दैनथ्यो ।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगरले ०६८ सालमा ‘दिपायल तथा कञ्चनपुरको एयरपोर्ट नियमित रुपमा सञ्चालन हुन्छ’ भन्दै फर्केका थिए । तर, मन्त्री काठमाडौं फर्केसँगै दिपायल र कञ्चनपुरमा पनि एयरपोर्ट छ भन्ने कुरा उनले बिर्सेछन् ।

गत फागुन २१ गते सुदुरपश्चिम क्षेत्रीय महोत्सव उद्घाटन गर्न दिपायल पुगेका उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पनि दिपायल एयरपोर्ट सुचारु गर्ने बताए । वहालवाला पर्यटन मन्त्री आनन्द पोखरेल मन्त्री निवासबाट तीन किलोमिटर दुरीमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा छड्के गर्नुमै आˆनो ठूलो उपलब्धि ठान्दै मिडियामा खुब छाइरहेका छन् ।

मन्त्री ज्यू, कल्पना गर्नुहुन्छ ? कञ्चनपुरको मझगाँउ एयरपोर्टमा भैँसीहरुले सरकार, नेता तथा पर्यटनमन्त्रीलाई गिज्याइरहेछन् र भनिरहेका छन्- ‘जहाज राख्ने ठाउँमा हामीलाई राख्ने यो कस्तो देश ? सरकार चलाउनेहरु हाम्रै वंशका हुनुपर्छ र त हामीलाई एयरपोर्टको पार्किङमा बस्ने र धावन मार्गमा चर्ने सुविधा मिलेको छ ।’

एयरपोर्टपछि साँघुरो सडक हुँदै महेन्द्रनगरबाट १० कि.मि.को यात्रापछि हामी पुग्यौं दोधारा झोलुंगे पुलमा । एशियाकै सबैभन्दा लामो (१४५२.९६ मिटर) झोलुंगे पुल हो यो ।

यो पुल निर्माण हुनुभन्दा पहिले दोधारा-चाँदनीका जनताले भारतीय भुमि वनवासा हुँदै नेपाल आउनुपर्दथ्यो । पुल निर्माणसँगै अाफ्नै जिल्ला सदरमुकाम आउँदासमेत विदेशी भूमि टेक्नुपर्ने आम नेपालीको बाध्यता हटेको छ । पुल निर्माणले स्थानीय उत्पादनहरु सहजरुपमा बजारमा निर्यात गरी आय आर्जनमा समेत सहयोग पुगेको छ ।

झोलुंगे पुल निर्माणताका यो पुलको उद्देश्य मोटरसाइकलको आवागमन सायदै थियोे होला । तर, अहिले झोलुंगे पुलमाथि मान्छे भन्दा पनि सामानले भरिएका मोटरसाइकलहरु सिंगै पुल हल्लाउँदै चल्ने गर्दछन् । यसले गर्दा झोलुंगे पुलको भविष्य संकटमा पर्ने निश्चित छ ।

सवारी साधनहरुको आवत-जावतका लागि अर्को पुल निर्माण गरी यो झोलुंगे पुललाई मानव आवत-जावतका लागि मात्रै प्रयोग गर्न सके यसको संरक्षण तथा सम्वर्द्धन हुन सक्थ्यो ।

झोलुंगे पुल हेर्न आएका सबैले देख्ने साझा तस्विर हुन् त्यहाँ हुने अवैध ओसार-पसारका । महेन्द्रनगरको मदनचोकमै लाइन लाग्ने भारतीय नम्बर प्लेटका मोटरसाइकलहरु झोलुंगे पुल वारिपारि छ्यापछ्याप्ती भेटिन्छन् ।

पुलमुनिबाट निर्वाधरुपमा चल्ने ट्रयाक्टर, जीप, तथा ट्रकहरु अवैध ओसार-पसारमा प्रयोग हुन सक्ने अनुमान गर्न सकिन्छ ।

अबको बाटो
कञ्जनपुरलाई साँच्चिकै पर्यटकीय गन्तव्य बनाउन सबैभन्दा पहिलो गर्नुपर्ने काम भनेको मझगाउँ एयरपोर्ट सञ्चालन तथा स्तरोन्नति नै हो । त्यसका साथै महेन्द्रनगर-दोधारा सडक फराकिलो पार्ने र कालोपत्रे गर्न जरुरी छ ।

Magic gadi
महाकाली नदी किनारमा पक्की बाँध निर्माण गर्न र झोलुंगे पुलको संरक्षण तथा सम्वर्द्धन गर्न जरुरी छ । हाललाई कम्तिमा त्यतिसम्म गर्न सकियो भने कञ्चनपुरलगायत सम्पूर्ण सुदुरपश्चिम क्षेत्र अवश्य नै पर्यटन व्यवसायका लागि उदाउँदो क्षेत्र बन्न सक्छ । पक्की पुल निर्माणसँगै अवैध सामान ओसार-पसारमा समेत नियन्त्रण र नियमन हुन जरुरी छ ।

वषर्ायाममा पुरै दोधारा-चाँदनी बगाउने पानी, गर्मीयाममा झण्डै पाँच किलोमिटर माथि वनबासाबाटै भारततिर लगिएको छ । वषर्ायाममा डुबेर मर्नुपर्ने, हिउँदमा त्यही नदीको एकथोपा पानी पनि नपाइने । आˆनै महाकाली नदी दोधारा-चाँदनीका जनताका लागि होइन रहेछ ।

लाग्यो, म बाँचेको देशको कुनै राष्ट्रियता रहेनछ । मेरो राष्ट्रियता झोलुंगे पुलमुनि पानीविनाको सुख्खा बगरमा खसेछ, तैपनि भन्न छाडिन्न, मेरो नेपाल, प्यारो नेपाल ।

करीब तीन/चार घण्टाको अवलोकन र स्थानीयसँगको भलाकुसारीपछि हामी महेन्द्रनगरतर्फ फर्क्यौं । र्फकँदा म्याजिक चालक दाइले गायक रामचन्द्र काˆलेको स्वरमा सुदुरपश्चिमेली भाका हालिएको गीत सुनाएः

दोधारा झोलुंगे पुल वनबासाका गेट झुपा तम्रै मायाले ।
ऐलै मुई बाडुल्गी लागी हुनु रैछ भेट झुपा तम्रै मायाले ।।
 
गीत सुन्दा मैले मेरो देश सम्झें । र, सम्झें झोलुंगे पुलमुनिको रित्तो बगर ।

Dodhara pul

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment