Comments Add Comment

ओली सरकारमाथि एमाओवादीमा अविश्वास

prachanda

८ वैशाख, काठमाडौं । दोस्रो संविधानसभामा झापा क्षेत्र नं ७ मा केपी ओलीसँग चुनाव हारेका एमाओवादी नेता गोपाल किरातीले मंगलबार आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई भने-‘कामरेड मैले त ओली सरकारलाई ढाल्नुपर्छ भनेर सार्वजनिकरुपमा बोल्न र अन्तरवार्ता दिन थालें है ।’

जवाफमा प्रचण्डले यतिमात्रै भने, ‘ओहो ! थालिनै पो सक्नुभयो ?’

केपी ओली नेतृत्वको सरकारलाई ढाल्नुपर्छ भन्नेमा गोपाल किराती एक्ला नेता होइनन् । किरातीसँगै केही सांसद र केन्द्रीय सदस्यहरु पनि ओली सरकार ढाल्नुपर्छ भन्ने मत राखिरहेका छन् ।

मोरङबाट सांसद जितेका एवं एमाओवादीको केन्द्रीय सदस्यसमेत रहेका शिवकुमार मण्डल पनि सरकार ढाल्ने खेलमा सक्रिय हुन थालेका छन् । त्यसैगरी एमाओवादीका मधेसी नेताहरु अशोक जैसवाल, सत्यनारायण भगत र अमर मण्डल लगायतले पनि ओली सरकार ढाल्नुपर्ने लविङ पार्टीभित्र थालेका छन् ।

स्रोतका अनुसार बलदीप श्रपिाइली पनि पदम सुन्दासलाई राजदूत बनाउनुभन्दा अघिसम्म ओली सरकारसँग चर्कोरुपमा असन्तुष्ट थिए ।

यसैवीच एमाओवादी स्थायी कमिटी सदस्य गोपाल किरातीले अनलाइनखबरसँग कुरा गर्दै भने- ‘अब हामी स्थायी कमिटीको बैठक तत्काल बोलाउन माग गर्छौं, त्यो बैठकमा राजदूत नियुक्तिको विषयदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल जरुरी छ ।’

प्रधानमन्त्री केपी ओलीलाई अब एमाओवादीले समर्थन गर्दा पार्टीलाई घाटा हुने किरातीको विश्लेषण छ । उनले अनलाइनखबरसँग भने-‘चारु मजुम्दारको चिहानमाथि ज्योति बसुले साशन गरेजस्तै केपी ओलीले हामी माओवादीको चिहानमाथि ज्योति बसु बन्न खोजिरहेका छन् ।’
‘भारतले केपी ओलीको सरकारलाई ढाल्न खोजिरहेको बताउँदै किरातीले भने-‘भारतले ढाल्नु अगावै हामी ढालौं, भारतसँग तालमेल मिल्छ भने पनि मिलोस् ।’

‘मन्त्री फेर्न प्रचण्ड मानेनन्’

सरकारमा गएका एमाओवादीका मन्त्रीहरु फेरेर अर्को टीम पठाउन आफूले माग गरेको किरातीले बताए । ‘अहिलेका मन्त्रीहरु फेरौं भन्दा अध्यक्ष प्रचण्ड मान्नुभएन, अब सरकारै फेर्नुपर्छ,’ उनले भने- अब पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ ।’

प्रचडको नाममा सहमति भएन भने शेरबहादुर देउवा, उपेन्द्र यादव वा विजयकुमार गच्छदारलाई पनि प्रधानमन्त्री बनाउन सकिने किरातीको प्रस्ताव छ ।

एमाओवादीले सरकारमा पठाएका मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको गुनासो एमाओवादीभित्र व्याप्त छ । गोपाल किरातीमात्रै होइन, एमाओवादी मन्त्रीहरुको भूमिकाप्रति उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत विगतदेखि नै असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

एमाओवादीले आफ्नो भागमा पाएका गृह र आपूर्ति मन्त्रालयले प्रभावकारी रुपमा काम गर्न नसकेको गुनासो पार्टीभित्र छ । नाकाबन्दी खुलेको लामो समय भइसक्दा पनि ग्यासको अभाव हट्न नसक्नुमा यिनै दुई मन्त्रालयको कमजोरी रहेको बुझाइ जनमानसमा छ ।

एमाओवादी नेता किरातीले विशेष गरी गृहमन्त्री शक्ति बस्नेतलाई फेरेर अर्को नेतालाई पठाउनुपर्ने माग गर्दै आएका थिए । तर, प्रचण्डले किरातीको मागको सुनुवाइ गरेका छैनन् ।

केही महिनाअघि भूकम्पपीडितको कोटामा नातेदारलाई चीन भ्रमणमा पठाएका्े आरोप लागेपछि गृहमन्त्री बस्नेतले पार्टीको बैठकमा आत्मालोचना गर्नुपरेको थियो । त्यसबेला किराती बस्नेतविरुद्ध कडारुपमा प्रस्तुत भएका थिए ।

देउवा दिल्लीमा, प्रचण्ड दोधारमा

एमाओवादी अध्यक्ष प्रचण्ड यतिबेला प्रधानमन्त्री केपी ओलीका बलिया सारथी हुन् । उनले अहिल्यै ओली सरकारको विकल्प खोज्ने सम्भावना छैन । आगामी स्थानीय चुनावमा समेत एमालेसँग तालमेल गरेर अघि बढ्ने योजनामा प्रचण्ड देखिन्छन् ।

उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘श्रीमतीको उपचार गर्न’ दिल्ली गएका छन् । उपचारको नाममा दिल्ली जाने र राजनीतिक उठबस गरेर र्फकने नेपालका नेताहरुको पुरानै बानी हो । अहिले देउवाको दिल्ली यात्रालाई पनि यसैगरी बुझिएको छ ।

देउवाको दिल्ली यात्रालाई सत्ता पक्षका नेताहरुले पनि सशंकित भएर हेरिरहेका छन् । यस्तो अवस्थामा एमाओवादी अध्यक्ष प्रचण्डचाहिँ गोपाल किरातीहरुको अभियान देखेर विलखबन्दमा परेका छन् ।

प्रचण्डले यो कुरा राम्रोसित बुझेका छन् कि अहिले सरकारबाट बाहिरिँदा भन्दा त्यही बसेर एमालेलाई दुहुन सजिलो छ । जस्तो कि विपक्षमा बसेको नेपाली कांग्रेसले एएटा पनि राजदूत पाएन । तर, एमाओवादीले आफ्नो भागमा केही राजदूत हात पारेको छ । त्यसैगरी आगामी बजेट घोषणा हुन लागेका बेला एमाओवादीले सरकारमा बसेर केही न केही फाइदा लिन सक्छ भन्ने प्रचण्डको सोचाइ हुन सक्छ ।

तर, सरकारबाट हट्नुपर्छ भन्ने नेताहरुको तर्क चाँहि के छ भने यही अवस्था रहँदा आगामी चुनावमा राम्रो काम जति एमालेको थाप्लोमा र कालोबजारी लगायतका नराम्रा कामजति एमाओवादी मन्त्रीको भागमा पर्न जाने खतरा पनि उत्तिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment