Comments Add Comment

ट्राफिकको कारबाही झोक चल्दा मात्रै हो ?

ट्राफिक चिन्हबिनै कारबाही गर्दा सवारी चालकलाई सास्ती

traffice_police Checking

९ वैशाख, काठमाडौं । ट्राफिक जवान गंगा राजवंशी बिहीबार विजुलीबजार पुल नजिकै सवारी व्यवस्था मिलाउन खटिएकी थिइन् । पुल क्रस गरेर बुद्धनगरतिर मोडिएका मोटरसाइकलहरुलाई धमाधम फर्काउँदै थिइन् उनी ।

उनको आदेश मान्दै मोटरसाइकलहरु पुलमुनिबाट क्रस गरेर आए । तर ती मोटरसाइकललाई पनि चिट काट्न थालिन् । सँधै यो बाटो ओहोर-दोहोर गर्दै आएका यात्रुहरु केहीबेर एकतर्फी बाटोको कुनै संकेत चिन्ह राखिएको छ कि भनेर हेर्न थाले । तर त्यहाँ कुनै ट्राफिक चिन्ह वा संकेत थिएन ।

करिब १० मिनेटसम्म राजवंशीले त्यहाँ उभिएर मोटरसाइकल चालकलाई कारवाही गरिन् । उनी हिँडेपछि त्यहाँ साविककै शैलीमा मोटरसाइकलहरु ओहोर-दोहोर गर्न थाले ।

traffic

सडकमा सवारीचालकले नियम उल्लंघन गरे कारबाही गर्ने निकाय ट्राफिक प्रहरी हो । ट्राफिक चिन्हअनुसार सवारी नचलाउने वा नियमविपरित सवारीसाधन चलाउनेहरु ट्राफिक प्रहरीको कार्वाहीमा पर्ने गर्छन् । तर ट्राफिक चिन्ह नराखिएका सडकहरुमा पनि पासो थापेर बस्ने ट्राफिक प्रहरीको कारण थुपै्रले सास्ति पाइरहेका छन् ।

माइतीघरमा पासो

बानेश्वरबाट आउने कुनै पनि सवारीसाधन माइतीघर मण्डलामा क्रस गरेर सैनिक मुख्यालयको बाटो हुँदै भद्रकाली निस्कने खोजे ट्राफिक प्रहरीको पासोमा पर्छन् ।

traffic (2)

बानेश्वरपट्टीबाट एउटा बायाँ नमोडिने चिन्ह राखिएको छ । त्योसँगै बीचको बाटोमा ‘सैनिक सवारीसाधन मात्रै’ भनेर लेखिएको अर्को बोर्ड छ ।

बानेश्वरबाट जाने सवारीचालकहरु मण्डलाबाट क्रस गरेर भद्रकाली जाने प्रयास गरेमा लेन अनुशासनको कार्वाहीमा पर्ने गर्छन् । बिहीबार पनि लुकेर र पासो थापेजस्तो गरेर कारवाही चलाइरहेको थियो ट्राफिक प्रहरीले ।

सबै कार्वाहीमा पर्दैनन्

बिहीबार पनि माइतीघरबाट क्रस गरेर भद्रकाली जाने बाटोमा ट्राफिक कारवाही चलिरहेको थियो । केहि मोटरसाइकललाई रोकेर कार्वाही चलाइरहँदा बाँकी भने सरासर गैरहेका थिए ।

traffice checking

बा ३५ प ३०३५, बा ५० प ७३१३ नम्बरको मोटरसाइकल पनि त्यसरी नै क्रस गरेर आए । तर एकातिर कारवाही गरिरहेको ट्राफिक प्रहरीले ती मोटरसाइकल देख्दै देखेनन् । रुखको छहारीमा बसेर आफ्नो सुविधाअनुसार कारवाही गरिरहेका जस्ता देखिन्थे ट्राफिक प्रहरी ।

एकातिर कारबाही, अर्कोतिर जाम

traffice_jam due to Parking at Maitighar

माइतीघर मण्डलामा एकातिर ट्राफिक प्रहरी लेनको कारवाही चलाइरहेको थियो भने अर्कोतिर जामले सास्ति दिइरहेको थियो । मण्डला नजिकै बा ९ च ६५५४ र बा ८ च १९८१ नम्बरका गाडीहरु सडकमै तेर्स्याइएका थिए । त्यसैले गर्दा त्यो क्षेत्र पूर्णरुपमा जाम थियो ।

Parking

सडक नै कब्जा गरेर राखिएका अन्य मोटरसाइकलका कारण पनि बाटो खुलिरहेको थिएन । तर जामको मुख्य कारण बनिरहेका सवारीसाधनलाई कारवाही गर्न ट्राफिक प्रहरी त्यहाँ कतै देखिएनन् ।

पायक पर्ने ठाउँमा लेन अनुशासन  

traffice_Jamभद्रकालीबाट सिंहदरवारतिर आउँदा सडकमा ट्राफिक प्रहरीको उपस्थिति निकै बाक्लो देखिन्छ । तर उनीहरुको कार्वाही पनि एकनासको छैन । विशेषगरी बिहान कार्यालयमा लेन अनुशासन भन्दै कार्वाही चलाउने ट्राफिक प्रहरी दिउँसो खासै देखिँदैनन् ।

त्यसो त सिंहदरवार क्षेत्र बग्गीखाना नजिकै भएकाले पनि लेन अनुशासन केहि कडा जस्तो देखिन्छ । अन्य ठाउँमा ट्राफिक कार्बाही न्यून छ ।

Vehicles

बिहीबार हामी जमल पुग्दा बा १ ज ८१३२ नम्बरको माइक्रोबस विना कुनै रोकतोक तिव्र गतिमा विपरित लेनबाट कुदीरहेको थियो । त्योसँगै बा १ ज ४२९० नम्बरको ट्याक्सीले पनि उस्तै दादागिरी देखाइरहेको थियो ।

चाबी किन खोस्ने ?

सवारी नियम सम्झाउने र नमाने कार्बाही गर्ने ट्राफिक प्रहरीको जिम्मेवारी हो । तर ट्राफिक नियम उल्लंघन गर्नेहरुको सुरुमै साँचो खोस्ने ट्राफिक प्रहरीको शैली छ ।

बिहीबार माइतीघर मण्डलामा कार्वाहीमा परेका रोशन ठाकुर भन्दै थिए, ‘मेरो मोटरसाइकलको चाबी किन खोसेको ? के म भाग्न खोजेको थिएँ ?’ तीनकुने बस्दै आएका रोशन भन्छन्, ‘ट्राफिकको काम लाइसेन्स लिने हो, अपराधीलाई जस्तो सवारीसाधनको चाबी खोस्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment