Comments Add Comment

भारत्तोलन खेलाडीको दर्दनाक अनुभवः काष्ठमण्डपले निल्यो मेरी निलूलाई

छोरालाई बचाएँ, रक्तदान गरिरहेकी श्रीमती बचाउन सकिनँ

एक बर्षअघि भूकम्प जानुभन्दा केहि सेकेण्डअघि मात्र खिचिएको तस्वीरमा रञ्जीत दाम्पती
एक बर्षअघि भूकम्प जानुभन्दा केहि सेकेण्डअघि मात्र खिचिएको तस्वीरमा रक्तदान गर्दै रञ्जीत दम्पती

भारत्तोलनका राष्ट्रिय खेलाडी लक्ष्मण रञ्जित एक वर्षदेखि भार उचाल्नबाट वञ्चित भएका छन् । गत वर्षको वैशाख १२ मा आएको भूकम्पले उनको खेल जीवन मात्र होइन, पारिवारिक जीवन पनि तहस-नहस बनाइदिएको छ ।

काष्ठमण्डपमा एकैसाथ रक्तदान गरिरहेका बेला लक्ष्मण, उनकी पत्नी र छोरा भूकम्पमा परेका थिए । काष्ठमण्डप भत्किएपछि बाबुछोरा जेनतेन बाँचे, तर श्रीमती निलू भने भग्नावशेषमा पुरिइन् । ४५ मिनेटसम्म छोरासहित भग्नावशेषमा च्यापिएका लक्ष्मणलाई उद्धारकर्मीले अस्पताल पुर्‍याए । उनका गोडाको तीनपटक अपरेसन भइसकेको छ ।

उनै पीडित लक्ष्मण भूकम्पको त्रासदीपूर्ण अनुभव यसरी सुनाउँछन्ः 

मेरो बिहे ०६१ सालमा भएको हो । घर नजिकैकी निलू चित्रकारसँग कलिलै उमेरदेखि प्रेम थियो । परिवारबाट स्वीकृति हुने नदेखेपछि भगाएँ । त्यतिबेला २१ वर्षको मात्रै थिएँ । ०६५ सालमा हाम्रो छोरा भयो ।

निलू निम्बुस बहुउद्देश्यीय सहकारीमा काम गर्थिन्  । छोरा स्कुल जान थालेको थियो । जीन्दगी राम्रैसँग बित्दै थियो । तर, ०७२ वैशाख १२ गते आएको भूकम्पले मेरो जीवनमा समेत ठूलो भूकम्प ल्याइदियो । निलू मबाट सँधैका लागि टाढा भइन् ।

Laxman Ranjeet (11)
रक्तदान गर्दागर्दै भूकम्प

शनिबार बिदाको दिन भएकाले म घरमै सुतिरहेको थिएँ । छोरो मसँगै थियो । निलूले काम गर्ने सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो, काष्टमण्डपमा ।’ उनी त्यतै थिइन् । बिहान ११ बजेतिर उनले मलाई फोन गरेर रक्तदान गर्न आउन भनिन् । छोरालाई लिएर म त्यहाँ पुगें । निलूले पहिलोपटक रक्तदान गर्न लागेकी थिइन् । म र उनले सँगै बसेर रक्तदान गर्ने भयौं । मैले दाहिने र उनले देब्रे हातबाट रक्तदान गर्दै थियौं । आधा जति भएको थियो, अचानक जमीन हल्लिन थाल्यो ।

सबै ‘भूइँचालो आयो’ भन्दै भाग्न थाले । रक्तदान गरिरहेका हामी श्रीमान-श्रीमती मात्र थियौं । डाक्टरले हामीलाई नआत्तिन भने । हामीले पाइप निकालेका थिएनौं । छोरो आर्यन डवलीमा खेलिरहेको थियो । भूकम्प आएपछि ऊ पनि आत्तिन थाल्यो ।

म हतार-हतार पाइप निकालेर छोरा भएतिर पुगेँ । छोरालाई सम्हालेर भाग्नमात्रै के लागेको थिएँ, पूरै काष्ठमण्डप ढल्यो । म  पनि किचिएँ ।

६ वर्षको छोरालाई छातीमा च्यापेको थिएँ । मेरो एउटा खुट्टा च्यापिएको थियो । निकाल्न प्रयास गरेँ, तर सकिनँ । सानो-सानो भूकम्प आइरहेकै थियो । निलूकै अफिसमा काम गर्ने एक दिदीलाई मैले छोरालाई सुरक्षित स्थानमा लगिदिन आग्रह गरेँ । तर, उनले यति सदासयता पनि देखाइनन् । त्यत्तिकै भागिन् ।

म एउटा हातमा छोरो च्यापेर छट्पटाइरहेको थिएँ । करिव ४५ मिनेटपछि टोलका मानिसहरु उद्धारका लागि आए । ससुरा र साला पनि त्यही आए । परिवारका सदस्यले मेरो उद्धार गरेर वीर अस्पताल लगे ।

Laxman Ranjeet (8)
छोरा बचाएँ, श्रीमती गुमाएँ

हामी बाबु-छोराको त ज्यान जोगियो । तर, श्रीमतीको खोजखबर थिएन । उनलाई के भयो होला भनेर अत्याश लागिरहेको थियो । बेलुुका टोलका साथीहरु तथा खेलकुद परिषदका गुरुहरु आएर मलाई सान्त्वना दिन थाले । उनीहरुको अनुहार हेरेरै मैले लख काटेँ, मेरी श्रीमती यो संसारमा छैनन् ।

बेलुकी ५ बजेतिर मैले उनको मृत्यू भएको औपचारिक खबर पाएँ । मसँगै रक्तदान गरिरहेकी निलूलाई काष्ठमण्डपले निलेछ । उद्धार प्रक्रिया एकदमै ढीलो भएको थियो । काष्ठमण्डपबाट उनको शव अपरान्ह ४ बजेतिर मात्र निकालिएको रहेछ ।

निलू यो संसारमा नरहेको थाहा पाएपछि मैले आफूलाई सम्हाल्नै सकिनँ । उनको शव टिचिङ अस्पतालमा राखिएको रहेछ । मैले त्यही जान जिद्धी गरेँ ।
तर, मेरो दायाँ गोडाको नलीहाड भाँच्चिएको थियो । डाक्टरहरुले तुरुन्तै अपरेसन नगरे खुट्टा काट्नुपर्ने हुन सक्छ भनेका थिए । तर, मैले निलूलाई हेर्न टिचिङ जाने अड्डी लिएँ । अस्पतालमा घाइते र आफन्तहरुको रुवाबासी चलिरहेको थियो । अन्ततः एउटा एम्बुलेन्समा मलाई टिचिङ लगियो । टिचिङ अस्पतालको मूर्दाघरको छेउमै उनको शव राखिएको रहेछ । मैले निलूको शव हेरेँ । भक्कानो फुट्यो । तर, मलाई उनको शव छुन दिइएन/पाइनँ । मैले निलूको मृत शरीरलाई समेत छुन पाइँन ।

केही समयपछि उनको शव पशुपति लगियो । त्यहाँ विधि गरेपछि अन्त्येष्टिका लागि बसन्तपुरमै रहेको बहालमा ल्याइयो । मेरी श्रीमतीको किरिया मेरा बुबाले गर्नुभयो । त्यतिबेलै मैले छोरालाई पनि भनिदिएँ । सबैले छोरालाई नभन्नु है भनिरहेका थिए । तर, छोराले पछि ‘मम्मी खोई ?’ भनेर सोध्दा के जवाफ दिने भन्ने सोचेर छोरालाई आफैंले भनिदिएँ । त्यसपछि मलाई बीर अस्पताल ल्याइयो । बीरको ट्रमा सेन्टरमा म ४३ दिन बसेँ ।

मलाई अहिले पनि लाग्छ, समयमै उद्धार गर्न सकेको भए मेरी निलू बाँच्ने थिइन् । यदि म भग्नावशेषमा नच्यापिएको भए उनलाई आफैंले उद्धार गर्ने थिएँ । मलाई हरपल यही कुरामा पश्चाताप लाग्छ कि मैले मेरी निलूलाई बचाउन सकिनँ । छोरालाई बचाएँ । तर, निलूलाई सँधैका लागि गुमाएँ । भाग्यमा सायद यही लेखेको रहेछ ।

शव हेर्दा निलूको शरीरमा कुनै चोट थिएन । उनलाई केही वस्तुले चेपेको रहेनछ । पुरिएपछि अक्सिजनको कमी भएकाले मात्रै उनको मृत्युभएको रहेछ । भूकम्पको १/२ घण्टाभित्र उद्धार गरिएको भए पनि उनलाई बचाउन सकिनेरहेछ । मलाई साह्रै नमीठो लाग्छ यस्तो सोच्दा ।

तस्वीर विवेकराज श्रेषठ
तस्वीर विवेकराज श्रेष्ठ

तीनवटा अपरेसन

वीर अस्पतालको ट्रमा सेन्टरमा मैले डाक्टर दीपक बिष्ट, ज्ञानेन्द्र मल्ललगायत अनुभवी डाक्टरको टोलीबाट उपचार पाएँ । राष्ट्रिय खेलाडी भएकाले मेरो उपचारमा विशेष ध्यान दिइएको थियो । विदेशबाट आएका चिकित्सकको टोलीले पनि मेरो विशेष निगरानी गरिरहेको थियो । मेरो नलीखुट्टा र गोलीगाँठो भाँच्चिएको रहेछ । वैशाख १५ गते मेरो पहिलो अपरेसन सफल भयो त्यसपछि २१ गते अर्को अपरेसन गरियो ।

मेरो खुट्टामा स्टिल राखिएको छ । भूकम्पपछि मैले कुनै पनि प्रतियोगिता खेलेको छैन । डाक्टरहरुले पनि स्टिल भइरहेको समयमा नखेल्न सुझाव दिएका छन् । डाक्टरकै सल्लाहमा फिजियोथेरापी गरिरहेको छु । उहाँहरुले मलाई ठूलो हौसला दिनुभएको छ । साउन/भदौमा स्टिल निकाल्ने भनेको छ । त्यसपछि फिट हुने आशा राखेको छु ।

म अचेल कहिलेकाहीँ रंगशाला जान्छु । अरुले प्रशिक्षण गरिरहेको देख्दा गरौं गरौं लाग्छ । ८०/९० किलोको भार त बोक्न सकिहाल्छु नि जस्तो लाग्छ । रंगशाला पुगेपछि खुट्टामा स्टिल छ भन्नेकुरा बिर्सिँदो रहेछु ।

मलाई विश्वास छ, खुट्टाबाट स्टिल निकालेपछि म पुनः खेलमा र्फकनेछु । सबैबाट राम्रो हौसला पाएको छु । पुनः भारत्तोलनमै फर्किएर राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य लिएको छु । पुलिसबाट यो बीचमा निक्कै ठूलो सहयोग पाएको छु । क्लवले मलाई पुरै छुट्टी दिएको छ । म कृतज्ञ छु ।

Laxman-Ranjit

छोरालाई पनि खेलाडी बनाउने सपना

मेरो छोरा आर्यनले ६ बर्षको हुँदा आमाको काख गुमाएको छ । मैले उसलाई आमा र बाबा दुवैको माया दिनुछ । प्रयास गरिरहेको छु । तर, के सक्थेँ । बेलाबेलामा मम्मी सम्झन्छ । रुन्छ । ऊ रुँदा म पनि रुन्छु  । त्यसैले उ सकभर मैले नदेख्ने गरी रुन्छ । यसबाट मलाई झन् पीडा हुन्छ ।

अहिले मैले छोरालाई साथी बनाउने प्रयास गरिरहेको छु । उसलाई आफूजस्तै खेलाडी बनाउने सपना छ मेरो । दुई वर्षअघि जिम्न्याष्टिकको प्रशिक्षणमा राखेको थिएँ । रंगशालाको पुनःनिर्माण सुरु भएपछि त्यहाँ प्रशिक्षण हुन छाड्यो ।

अहिले उसले स्वीमिङमा अलि चासो दिएको जस्तो लाग्छ । उसलाई स्वीमिङ र मार्शल आर्ट सिकाउने सोचमा छु ।

तस्वीरः कविन अधिकारी

कुराकानीमा अाधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment