१२ वैशाख, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका २ स्थित भलायडाँडा जंगलमा लागेको आगो बस्तीमा सल्किँदा ११ घर-गोठ जलेर नष्ट भएका छन् । आगलागीले रेडियो अर्घाखाँचीको स्टुडियोमा पनि सामान्य क्षति भएको छ ।

सदरमुकाम सन्धिखर्क नजिकैको भलायडाँडा जंगलबाट शुरु भएको आगो राती अबेरसम्म पनि किमडाँडाको जंगल र बस्तीमा फैलिएको थियो ।
आगलागीले अशोक पोख्रेल, भेषराज बञ्जाडे, शालिकराम पोख्रेल, गणेश बुढाथोकी, डिल्लीराज मरासिनीका घर-गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट बस्ती जोगाउन सेना र प्रहरी खटिएका थिए । तर, हावाहुरीका कारण आगो नियन्त्रण गर्न निकै कठिन भएको थियो । निक्कै कठिन प्रयासबाट राति अबेर आगो नियन्त्रणमा आएको प्रंहरी नायव उपरिक्षक नबरत्न पौडेलले बताए ।
जलेर घाइते भएका युवकको अस्पतालमा मत्यु
यसैबीच वनमा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका गुल्मीका एक युवकको मृत्यु भएको छ । जिल्लाको मलागिरी गाविसको धैरेनी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका मलागिरी २ का २१ वर्षीय कमल खड्काको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको हो ।
गत चैत २९ गते राति सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा घाइते भएका खड्कालाई जिल्ला अस्पताल गुल्मीमा उपचार हुन नसकेपछि थप उपचारको लागि पाल्पा मिसन अस्पताल हुँदै काठमाडौं लगिएको थियो ।
प्रतिक्रिया 4