Comments Add Comment

अनदुडाँडामा पर्यटक तान्दै विश्व शान्ति स्तूपा

bishwa-shanti-stupa
१३ वैशाख, पोखरा। पर्यटकीय नगरी पोखराको पश्चिमतर्फ अनदुडाँडास्थित विश्व शान्ति स्तूपा स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षण बन्दै गएको छ ।

पोखरा आउने पर्यटकले सम्भव भएसम्म विश्व शान्ति स्तूपा पुगेर फेवातालको दृश्यावलोकनका साथै यहाँबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतको हिमशृङ्खला नाङ्गो आँखाले अवलोकन गरेर त्यसको मज्जा लिने गरेका छन् ।

समुद्री सतहबाट दुई हजार १०० फिट उचाइमा रहेको स्तूप पुग्न पोखराको छोरेपाटनस्थित कालिमाटीबाट लगभग डेढ किमी दूरी रहेको छ ।

कालिमाटी विश्वशान्ति स्तूप टोल विकास संस्थाका अध्यक्ष राजु क्षेत्रीका अनुसार कालिमाटीबाट स्तूप पुग्ने एक किमी बाटो कालोपत्रे भइसकेकामा बाँकी ३५० मिटर कालोपत्रे गर्न निर्माण सम्झौता भई प्रक्रिया अघि बढेको छ ।

दृश्यावलोकन गर्ने सोचका साथ दैनिक लगभग तीन हजारको सङ्ख्यामा पर्यटक विश्व शान्ति स्तूप पुग्ने गरेका छन् ।

विशेषगरी असोज कात्तिक र मङ्सिरमा ७० प्रतिशत विदेशी र ३० प्रतिशत आन्तरिक पर्यटक स्तूप पुग्ने गरेका छन् भने अन्य महिनामा ३० प्रतिशत विदेशी र ७० प्रतिशत आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।

विश्व शान्ति स्तूपमा पर्यटकको बढ्दो आकर्षणसँगै कालिमाटी स्तूप क्षेत्रमा बस्ती विकास पनि तीव्र रुपमा बढ्दै गएको छ ।

विगतमा उपयोगविहीन रुपमा रहेको यस क्षेत्रको जग्गा स्तूप निर्माणसँगै दिन प्रतिदिन अमूल्य बन्दै गएको स्थानीयवासी बताउँछन् ।

स्तूप पुग्ने पर्यटकलाई प्रभावकारी सुरक्षाको प्रत्याभूति गराउन स्थानीय युवाको सक्रियता पनि प्रशंसायोग्य रहेको छ ।

स्थानीय सिर्जनशील क्लबका अध्यक्ष झम्कनाथ देवकोटा स्तूप आउने पर्यटकलाई सुरक्षाको प्रत्याभूति गराउन आफूहरू सक्रिय रुपमा लागिपरेको बताउँछन् ।

स्तूप क्षेत्रमा हुने प्रत्येक गतिविधिमा विशेष सहयोगीका रुपमा क्लब सक्रिय रहेको बताउँदै उनले विगत तीन वर्षयता यस क्षेत्रमा लुटपाट, चोरीजस्ता कुनै पनि उच्छृङ्खल गतिविधि नभएको जानकारी दिए ।

पर्यटकको बढ्दो चापसँगै उक्त क्षेत्रमा सुविधासम्पन्न होटल तथा लज विस्तार हुने क्रम पनि उत्तिकै बढेको छ भने होमस्टेमार्फत पनि पर्यटकलाई बस्ने खाने व्यवस्था मिलाइएको छ ।

इलिट क्याफे एण्ड होमस्टेकी सञ्चालक सरिता क्षेत्री दिन प्रतिदिन विश्व शान्ति स्तूप आउने पर्यटकको सङ्ख्या बढिरहेको धारणा राख्छन्  ।

उनका अनुसार स्तूप परिसर वरपर हाल ८० वटा सुविधा सम्पन्न कोठा भएका पाँचवटा लज सञ्चालनमा छन् भने १५ जनालाई सेवा प्रवाह गर्न सक्ने गरी होमस्टे (घरवास) पनि सञ्चालनमा आएको छ ।

पर्यटकको रुचिअनुसार न्यूनतम ५०० देखि अत्यन्त सुविधा सम्पन्न १५ हजारसम्मका कोठा रहेको जानकारी गराउँदै उनले स्तूप आउने जो कोही पर्यटकले निकै हर्षित बनेर फर्कने गरेको बताए ।

पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी कालिमाटी विश्व शान्ति स्तूप टोल विकास संस्थाको पहलमा भौतिक पूर्वाधारको विकास पनि तीव्र रुपमा बढेको छ ।

संस्थाले स्तूप परिसरलाई सरसफाइयुक्त हरित पार्कका रुपमा विकास गर्ने सोचका साथ जनजागरण अभियान पनि निरन्तर सञ्चालन गर्दै आएको छ भने स्तूप जाने मार्गमा पोखरा उपमहानगरपालिका कार्यालयको ८० प्रतिशत र स्थानीय २० प्रतिशत सहयोगमा ५० वटा फलामे कुर्सी राख्न लागिएको छ ।

सडक यातायातमार्फत कालिमाटी हुँदै लगभग डेढ किमी यात्राबाट स्तूप पुग्न सकिन्छ भने फेवातालबाट डुङ्गा चढेर पारी रानीवन हुँदै पनि जान सकिन्छ ।

पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी टोल विकास संस्थाको पहल एवम् साइकल सिटी पोखराको समन्वय र सरकारी अनुदानमा स्तूपदेखि फेवातालको ड्याम साइडसम्म चार किमी दूरीको साइक्लिङ रुट निर्माण गर्ने काम पनि बढिरहेको संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment