Comments Add Comment

दक्षिण कोरियाली सभामुखले ओनसरीलार्इ भेटे

savamukh-vetbarta१३ वैशाख, काठमाडौँ । सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेकी दक्षिण कोरियाका सभामुख छङ उई ह्वाबीच भेटवार्ता भएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा साेमबार भएको भेटवार्तामा नेपालको संसद् र दक्षिण कोरियाको संसदबीचको सम्बन्धलाई प्रभावकारी बनाउँदै जनस्तरको सम्बन्धलाई थप नयाँ दिशामा अगाडि बढाउने विषयमा कुराकानी भएको थियो ।

संसद् जनताको प्रतिनिधित्व गर्ने थलो भएकाले त्यसले जनस्तरको सम्बन्धलाई समेत प्रतिनिधित्व गर्ने भएकाले नेपालको संसद् र कोरियाको संसद् एवम् जनस्तरको सम्बन्धलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको सभासुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

सभामुख घर्तीले गत बर्षको गोरखा भूकम्पको समयमा दक्षिण कोरियाले उपलब्ध गराएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा नेपाललाई थप सहयोग प्राप्त हुने विश्वाससमेत व्यक्त गरेकी थिइन् ।

नेपाली जनता दक्षिण कोरियाको सहयोगबाट असाध्यै अनुग्रहित रहेको भन्दै उनले नेपालभित्रसमेत जनस्तरसम्म कोरियाको सहयोग र सद्भावप्रति असाध्यै सकारात्मक बुझाइ रहेको जानकारी गराइन् ।

नेपालमा पछिल्लो दिनमा लगानीमैत्री वातावरण बन्दै गएको भन्दै दक्षिण कोरियाली सभामुख ह्वाले आफू स्वदेश फर्केपछि आफ्नो सरकारसँग त्यस विषयमा कुरा गर्ने विश्वाससमेत दिलाए ।

नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रको विकासमा खुलेर सहयोग गर्न आफूहरु तयार रहेको भन्दै उनले थप लगानीमैत्री वातावरण बनाउनसमेत सभामुख घर्तीलाई उनले अाग्रह गरे ।

सभामुख घर्तीले लगानीका लागि केही अप्ठ्यारा रहेको भए त्यसमा सहजीकरण गर्न नेपाल सरकार र नेपालको संसद् तयार रहेको समेत उल्लेख गरेकी थिइन् ।

भेटवार्तामा कोरियाली सभामुखले उपयुक्त समयमा कोरियाको भ्रमण गर्नसमेत सभामुख घर्तीलाई आग्रह गरेका थिए ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment