Comments Add Comment

अमेरिकामा रहेका नेपालीलाई शशांकको आग्रहः पार्टीलाई चन्दा नदिनुस्

Sashank-Koirala

न्युयोर्क । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले अमेरिकामा रहेका कार्यकर्तासँग पार्टीलाई पैसा नदिन आग्रह गरेका छन् ।

विदेशमा बस्ने शुभचिन्तकहरुबाट हरेक पार्टीले आर्थिक संकलन गर्ने गरेका बेला महामन्त्री कोइरालाले भने पैसा दिएर नबिगार्न अमेरिकाका कार्यकर्तासँग आग्रह गरे । नेपाल जनसम्पर्क समिति अमेरिकाले आफ्नेा सम्मानमा आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, ‘कांग्रेसलाई पैसा नदिनुस् । तपाईर्ंको वुद्धि हामीलाई दिनुस् ।’

कांग्रेसका नवनिर्वाचित महामन्त्री कोइरालाले कांग्रेस विनायोजना सरकार फेर्ने खेलमा नलाग्ने बताए ।  सरकार परिवर्तनको चर्चाले बजार गर्माइरहेका बेला काग्रेसका नवनिर्वाचित महामन्त्री कोइरालाको यस्तो भनाइ आएको हो । कोइरालाले भने, ‘अहिले सरकारमा गएर के गर्ने ? सरकारमा जानुअघि आफूले गर्ने कामको कांग्रेसले फेहरिस्त तयार गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले हालै भेट्दा भनेको कुरा सस्मरण गर्दै भने, ‘मैले प्रधानमन्त्रीलाई हामी सकारात्मक, रचनात्मक र सिर्जनात्मक भूमिका खेल्छौं भनेको छु । सरकारलाई कामै गर्न नदिएर ढाल्ने हामी गैरजिम्मेवार प्रतिपक्ष हामी बन्न चाहँदैनौं ।’

उनले आफू निर्वाचित भएर आएपछि पार्टीमा गुट निर्मूल पार्न आफूले भूमिका खेल्ने कोइरालाले बताए । ‘हिजो ६०/४० को भागवण्डाले पार्टीलाई कहाँ पुर्‍यायो ? सबैले देखेकै छौं,’ उनले भने, ‘मैले गिरिजाबाबु, शुशिल दाइ, शेरवहादुरजीलाई भने, तपाईंहरुको द्वन्द्व होला । त्यसको पीडा तपाईंहरुले हैन पार्टीका कार्यकर्ताले भोगिरहेका छन् ।

मुलुकमा धेरै चुनौती रहेको उनले बताए । ‘भूकम्पपीडितलाई केही गर्न सकेका छैनौं । सरकार कानमा तेल हालेर बसेको छ । हामी सरकारमा हुँदा समेत केही गर्न सकेनौं,’ उनले भने ।

उनले नयाँ आएको संविधानको सुरक्षा गर्ने अर्को चुनौती रहेको कांग्रेस महामन्त्री कोइरालाले बताए । उनले भने, ‘अहिलेको संविधान निकै राम्रो आएको छ । पूर्णरुपमा त मलाई पनि चित्त बुझेको छैन । तर यसले आदिवासी, जनजाती, महिला, सीमान्तकृत सबैको अधिकार सुनिश्चित गरेको छ । बीपी कोइरालाले बिकेन्द्रीकरण भन्नु भएको थियो । हामीले त छलाङ मारेर संघियतामा गएका छौं ।’

अहिलेको संविधानको महत्वपूर्ण उपलब्धि लोकतन्त्रलाई संस्थागत गर्नु रहेको उनले बताए । महामन्त्री कोइरालाले संविधानको संरक्षण नगरे अतिवादीहरुले मुलुकलाई सिध्याउने दाबी गरे । ‘अहिले पनि एउटा समूह हतियार उठाउने कुरा गरिरहेको छ,’ उनले विप्लब माओवादीलाई संकेत गर्दै भने ।

महामन्त्री कोइरालाले पार्टीलाई आधुनिकरण गर्ने बताए । ‘मेरो इमेलमा तपाईंहरु केन्द्रीय समितिमा लैजाने एजेन्डा पठाउनुस्,’ उनले भने । उनले पार्टी केन्द्रयि कार्यालयमा भिडियो कन्फरेन्सिङको सुविधा उपलब्ध गराउने बताए । ‘पार्टीमा विकेन्द्रीकरणको अबधारणा अनुसार स्थानीय पार्टीलाई स्वायत्तता दिने मेरो योजना छ,’ उनले भने, ‘विदेशमा रहेका कार्यकर्तालाई मुद्दापिच्छे सुझाव लिन आमन्त्रीत केन्द्रीय सदस्य बताउने प्रस्ताव मेरो हुनेछ ।’

नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा समितिका महासचिव मुनेन्द्र नेम्वाङ, लङ्गआईल्यण्ड च्याप्टरका अध्यक्ष बिश्वराज बाँस्तोल र न्युयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुङ्गानाले मन्तब्य ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment