Comments Add Comment

यी हुन् दुर्जकुमार उर्फ दुर्जधन !

१४ वैशाख, काठमाडौं । दुर्जकुमार राईलाई नचिन्ने कमै होलान् । सशस्त्र प्रहरीको महानिरीक्षक पदमा बढुवा भएका उनको नामै काफी छ । धेरैले उनलाई दोस्रो जनआन्दोलन ०६२/६३ मा सर्वसाधारणलाई गोली चलाउने प्रहरी अधिकृत भनेर चिन्छन् । त्यतिबेला उनले पेस्तोल ताकेर गोली चलाएको तस्वीर ‘भाइरल’ बनेको थियो ।

Durja Kumar Rai Final
आन्दोलनकारीलाई ताकेर गोली चलाउँदै दुर्जकुमार राई । तस्वीर: राजेन्द्र मानन्धर

‘जनआन्दोलनको दोषी’ ठहर भएका दुर्जकुमारको परिचय त्यतिमा मात्रै सीमित छैन । दुर्जकुमारको अर्को परिचय पनि छ, त्यो हो- नेपाली सेनाको ‘भगौडा’ र ‘नागरिकता किर्ते’ ।
 
दुर्जधनबाट दुर्जकुमार

भोजपुरबाट ०३९ चैत १५ गते जारी नागरिकतामा उनको नाम ‘दुर्जधन बान्तवा राई’ छ । १९३२/५९९९ नम्बरको नागरिकतामा उनको जन्म मिति ०१८ मंसिर १ गते उल्लेख छ ।

नेपाली सेनाबाट भागेपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नाम परिवर्तन गरी नागरिकताको प्रतिलिपि बनाएका छन् । नागरिकता नम्बर १९३२/५९९९/४६७४ मा परिवर्तित नाम ‘दुर्जकुमार राई’ उल्लेख छ । जसमा प्रशासकीय अधिकृत बासुदेव दाहालले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् नागरिकताको प्रतिलिपि-

Durja-Kumar-Rai-Nationality-Final

पहिलो र दोस्रो नागरिकतामा उनका बुबाको नाम पनि फरक छ । भोजपुरबाट जारी पहिलो नागरिकताले उनी श्रीनाथ पल्टनमा ०३७ साल चैत १ गते सेनामा भर्ती भए । उनको सैन्य नम्बर २१८८५५ हो । जसमा नाम ‘दुर्जधन बान्तवा राई’ छ ।

तर, उनी नेपाली सेनामा लामो समय टिक्न सकेनन् र भागे । त्यतिबेला नेपाली सेनाले उनको पद खालि भएको सूचना जारी गरेको थियो । ०४० असोज १५ गते जंगी अड्डाले ३० दिनसम्म हाजिर नभएको विवरण उल्लेख गरी राईको पद खालि भएको जनाएको थियो ।

हेर्नुस् जंगी अड्डाको विवरण

Durja-Kumar-Rai-Jangi-adda

सेनाबाट भगौडाहरुलाई पक्राउ गरेर कारवाही गरिन्छ तर यसबाट बँच्दै आएका उनी ०४३ सालमा एकैपटक प्रहरी निरीक्षक पदमा भर्ना भए । दुर्जधन बान्तवा राई प्रतिलिपि नागरिकता अनुसार ‘इन्सपेक्टर दुर्जकुमार राई’ बन्न सफल भए । जनपद प्रहरीको इन्सपेक्टरबाट सेवा प्रवेश गरेका राई ०५८ सालमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बलमा पठाइएका हुन् ।

जन्म मिति २०१८ साल भए पनि ०३३ सालको एसएलसी परीक्षामा उनी सहभागी भएका भए । १६ वर्ष उमेर नपुगेको विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन पाउँदैन तर, १८ सालको जन्मले एसएलसी परीक्षा दिँदा उनको उमेर १५ वर्ष मात्रै हुन्छ । उनको एसएलसी सिम्बोल नम्बर १९५५९ ‘जी’ हो ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सशस्त्र प्रहरी बललाई चलानी नम्बर ३४७ र मिति ०६० पुस ९ गते पठाएको पत्रमा राईको जन्म मितिमा कैफियत देखिएको उल्लेख छ ।
 
हेर्नुस् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको पत्र

Nepal-SLC-Board-Durja-Kumar-Rai

सशस्त्र प्रहरी प्रधान कार्यालयले बिभिन्न व्यक्तिहरुको जन्ममिति खुलाई पठाइदिन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीलाई चलानी नम्बर ५३५ र ५६२ तथा मिति ०६० मंसिर २३ र पुस ९ गते पत्र पठाएको थियो । सोही पत्रको जवाफमा राईको जन्म मिति केरमेट गरिएको उल्लेख छ । राईसँगै सनदकुमार बस्नेत, खोजबहादुर गुरुङ र भिष्मकान्त अर्यालको जन्ममितिमा पनि कैफियत देखिएको छ ।

सशस्त्र प्रहरी नियमावलीमा ३० वर्ष सेवा अवधि पूरा गरे अनिवार्य अवकाश हुन्छ । २०४३ सालमा प्रहरी निरीक्षक भर्ना भएका दुर्जकुमारको सेवा अवधि ३० वर्ष पुगिसकेको छ ।

दुर्ज कुमार राई अहिले सशस्त्र प्रहरीको कायम मुकायम महानिरीक्षक छन् । कोषराज वन्त अख्तियारको कारबाहीमा परेपछि वरिष्ठताक्रमले राईले कामु महानिरीक्षकको जिम्मेवारी पाएका हुन् ।

[sam_list]

उपत्यकाका विभिन्न प्रहरी इकाइमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका उनलाई सरकारले ०६९ भदौ २८ गतेको मन्त्रिपरिषद बैठकबाट सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दोस्रो जनआन्दोलन दबाउन भूमिका खेलेका राईलाई गणतान्त्रिक सरकारले नै पदोन्नति गरेपछि सर्वत्र आलोचना भएको थियो । तर आलोचनाकै बाबजुद उनलाई ०७० साल मंसिर १७ गतेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बनाउने निर्णय गर्‍यो ।

जनआन्दोलनका दोषी ठहर भई सर्वाधिक आलोचित बनेका राईलाई नेपाल सरकारले गत ०७२ पुस ३ गते पुनः पदोन्नति गर्दै कायम मुकायम प्रहरी महानिरीक्षकको जिम्मेवारी सुम्पियो ।

जनआन्दोलन दबाउन भूमिका खेले पनि लोकतान्त्रिक सरकारबाट पुरस्कृत हुने दुर्जकुमार एक्ला व्यक्ति भने होइनन् । शाहीकालका गृहमन्त्री कमल थापा गणतान्त्रिक सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री छन् । शाही सरकारका मुख्य सचिव लोकमान सिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त छन् । तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाल पनि जनआन्दोलनका दोषी हुन् ।

जनआन्दोलन दबाउन भूमिका खेल्नेहरुलाई पुरस्कृत गरेर सरकारले जनआन्दोलनको भावना र मर्मको खिल्लीमात्रै उडाएको छैन जीबन उत्सर्ग गर्ने सहिदहरुको अपमानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment