Comments Add Comment

भूकम्प पीडितलाई एकमुष्ट राहत नदिए आन्दोलन गर्ने कांग्रेसको चेतावनी

nepali congress

१४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक महिनाभित्र भूकम्प पीडितलाई एकमुष्ट राहत दिन सरकारसँग माग गरेको छ । नभए आन्दोलनमा उत्रने उसको चेतावनी छ ।

कांग्रेसका २२ सांसदले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै भूकम्प प्रभावितको राहत र पुनर्निर्माणमा असन्तुष्टि जनाएका छन् ।

सरकार कहिले ‘पुनर्निर्माणको महाअभियानको थालनी’ त कहिले ‘मेरो धरहरा म आफै बनाउँछु’ भन्ने नारामै रमाइरहेको कांग्रेसको आरोप छ । ज्ञापन पत्रमा भनिएको छ, ‘अहिले सरकारको काम व्यवहारले भूकम्प पीडितका लागि राहत ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ भने पुनर्निर्माण कुइरोको काग जस्तै भइरहेको छ ।’

कांग्रेसले भूकम्प पीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभइ एक महिनाभित्र एकमुष्ट रुपमा दिन माग गरेको छ । साथै पीडितहरुको पुन प्रमाणीकरणको कार्यलाई स्थगित गरी गत साल गरिएको प्रमाणीकरणलाई नै आधार बनाउनु पर्ने माग गरेको छ ।

राहत वितरणलाई सरल र सहज बनाउनका लागि ईबैंकिङ प्रणाली अपनाउन र पीडितलाई घरको निःशुल्क नक्सा पासको व्यवस्था गर्न आग्रह गरेको छ ।

कांग्रेसका सांसदहरुले नाकाबन्दी खुलेको महिनौं हुँदा पनि ग्यास, इन्धन जस्ता अत्यावश्यक बस्तु सहज ढंगबाट आपूर्ति हुन नसक्नु संस्थागत कालोबजारी भएको भन्दै अत्यावश्यक वस्तुहरुको सहज आपूर्ति गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना माग पूरा नभए दबाबमुलक कार्यक्रम गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment