+
+
Shares

कक्रोच पार्टीको आन्दोलनले थकाउँदैछ मोदी सरकार

भारतमा कक्रोच जनता पार्टीको आह्वानमा भइरहेको युवाहरूको आन्दोलन चर्किएको छ । प्रश्नपत्र लिक भएको घटनालाई जोडेर सु्रु भएको  आन्दोलनमा भारतको ठूलो नागरिक तप्का समेत यसको समर्थनमा उभिएको छ । आन्दोलनले नरेन्द्र मोदीको सत्तालाई थकाउन थालेको छ । 

कञ्चन कञ्चन
२०८३ साउन ७ गते २०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतमा नीट परीक्षाको प्रश्नपत्र लिक भएपछि उत्पन्न विवाद र विद्यार्थीहरूको आन्दोलनले राष्ट्रिय मुद्दाको रूप लिएको छ ।
  • कक्रोच जनता पार्टीले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र विद्यार्थीको माग सम्बोधन गर्न माग गर्दै दिल्लीको जन्तर–मन्तरमा प्रदर्शन जारी राखेका छन् ।
  • प्रधानमन्त्री नरेन्द्र मोदीले नीट काण्डको छानबिन गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरे पनि प्रदर्शनकारीहरू आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा छन् ।

५ मे, २०२४ मा भारतमा नीट परीक्षाकै दिन सामाजिक सञ्जालमा प्रश्नपत्रहरू बाहिरिएको समाचार आयो । नेशनल टेस्टिङ एजेन्सी (एनटीए) ले पेपर लिक भएको कुरा अस्वीकार गर्‍यो  । तर ग्रेस अंक, अनियमितता र पेपर लिकका विवादहरूले विद्यार्थीका प्रतिरोधलाई थिचिराख्न भने सकेन । दिल्ली, हैदरावाद जस्ता ठाउँहरूमा विभिन्न विद्यार्थी संगठनहरूले आन्दोलन जारी राखे । 

शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरे । पछि गएर यो विषय सर्वोच्च अदालतसम्म पुग्यो । अदालतले सुधारका सिफारिसहरू राख्यो । यसमा परिक्षाको डिजीटाईजेशन, एनटीएको पुनर्संरचना, मोनिटरिंग मेकानिज्म जस्ता कुराहरू समावेश गरिएका थिए । 

तर पेपर लिकको समस्या रोकिएन । यो वर्ष मे ३ मा भएको नीट परिक्षामा झन्डै २३ लाख विद्यार्थीहरू सहभागी भएका थिए । परीक्षा सम्पन्न भएपछि राजस्थान पुलिसले गरेको अनुसन्धानमा प्रश्नपत्रहरू हुबहु बाहिरिएको कुरा पुष्टि भयो । परिणामस्वरूप मे १२ मा सरकारले परीक्षा रद्द गरिएको कुरा बतायो । सरकारको आलोचना हुनु त सामान्य प्रतिक्रिया मात्र पनि हुन सक्छ – यसपटक भने दु:खद र गम्भीर घटनाहरू पनि घटे । ११ जना परीक्षार्थीहरूले आत्महत्या गरे  । अन्य विद्यार्थीहरूको वर्षौ‌को मिहिनेत खेर गयो । मानसिक स्वास्थ्यमा असर पर्न गयो । 

यतिबेलासम्म कक्रोच जनता पार्टी डीजिटल संसारमा मात्र सीमित थियो । सर्वोच्च अदालतका प्रधानन्यायधीशले युवाहरूलाई निष्क्रिय बस्ने कक्रोचसँग तुलना गरेपछि त्यसको व्यङ्गात्मक प्रत्युत्तरको रूपमा अभिजित दीपकेले कक्रोच जनता पार्टी ( सीजेपी ) को स्थापना गरेका थिए ।

 युवाहरूको निराशा र आक्रोशलाई एकीकृत रुप दिन पुगेको सीजेपी सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय बन्न पुगेको थियो । 

विपक्षी राजनीतिक दल, इन्फ्लुएन्सर, मिडिया पर्शनालिटी आदिबाट स्वागत र प्रशंसा बटुलेको थियो । सामाजिक सञ्जालमा मात्र उदाउने र वास्तविक राजनीतिक भूमिमा पदार्पण नगर्ने यस्ता डिजिटल प्रतिरोधी आवाजहरू संसारभरि नै क्षणभरमै प्रशस्त छन् । सीजेपी पनि त्यस्तै क्षणिक आवाजहरूमा सूचीकृत  हुन सक्ने लख पनि काटिन थालेका थिए । ‍

तर, यही समयमा नीटको पेपर लिक ज्वलन्त विकृति बनेर दोहोरिएको थियो । यसैबेला सीजेपीका अकाउन्टहरू बन्द गरिने प्रयास हुँदै थियो । सामाजिक सञ्जालमा मात्र सीमित बनेको प्रतिरोधी आवाजहरूलाई आन्दोलनको रुपमा ढाल्नका लागि सीजेपीले नीट पेपर प्रकरणलाई समात्यो । 

मोदी सरकारको अनवरत आलोचना गरिरहेका प्रसिद्ध युटयुबर ध्रुव राठीले पनि शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामालाई प्रमुख मुद्दा बनाउनुपर्नेमा जोड दिएका थिए । 

मे २० मा अपलोड गरिएको उक्त भिडियोमा राठीले बेरोजगारी, भ्रष्टाचार, नीट प्रश्नपत्र लिक विवाद र मिडियाको अवस्था जस्ता विषयमा कुरा गरेका थिए।

शिक्षा प्रणालीको बारेमा छलफल गर्दै राठीले अभियानका समर्थकहरूलाई नीट प्रश्नपत्र लिकको मुद्दामा ध्यान केन्द्रित गर्न आग्रह गरे। उनले यस विषयमा जवाफदेहिता माग्न पनि आग्रह गरे।

केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई उल्लेख गर्दै उनले भने, ‘म ‘कक्रोच जनता पार्टी’सँग एउटा मात्र अनुरोध गर्न चाहन्छु। आजको दिन देशका युवाहरू सबैभन्दा बढी कुनै कुराबाट निराश छन् भने त्यो शिक्षा प्रणाली हो। त्यसैले म भन्न चाहन्छु कृपया धर्मेन्द्र प्रधानको राजीनामा माग्नुहोस्। यो विषयलाई पनि आफ्नो घोषणापत्रमा समावेश गर्नुहोस् ।’ 

व्यङ्ग्यात्मक शैलीमा भिडियोको बिट मार्दै राठीले थपे, ‘म पनि ‘कक्रोच जनता पार्टी’को सदस्य बन्न चाहन्छु।’

000

सीजेपीका संस्थापक दीपकेले सामाजिक सञ्जालमार्फत आफू भारत फर्किने घोषणा गरे । आफ्नो भ्रमणको घोषणा गर्दै दिपकेले एक्समा सार्वजनिक गरेको एउटा भिडियोमा भनेका थिए, ‘नीटको प्रश्नपत्र लिकका कारण आत्महत्या गरेका विद्यार्थीहरूको पक्षमा हामीले धेरै दिनदेखि सामाजिक सञ्जालमा आवाज उठाइरहेका छौँ। लाखौँ विद्यार्थीहरूको खेर गएको मिहिनेतका लागि धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्छ।’ 

दिल्लीको जन्तर-मन्तरमा सहभागी भएर शिक्षामन्त्री प्रधानको राजीनामा माग गर्दै विरोध प्रदर्शनमा सहभागी हुन आव्ह्वान गरे । 

जुन ६ शनिवबारको दिन उनी अमेरिकाबाट नयाँ दिल्ली ओर्लिएका थिए । उनको हातमा बाबासाहेब अम्बेडकरको आत्मकथाको किताब थियो । जुन ५ सम्म शिक्षामन्त्री प्रधानले राजीनामा नदिए लद्दाखका शिक्षा तथा वातावरण अभियन्ता सोनाम वाङचुकले समेत सीजेपीको प्रदर्शनमा सहभागी हुने घोषणा गरेका थिए  । तर, शिक्षामन्त्री प्रधानले राजीनामा दिएनन् । 

वाङचुक पनि दिल्ली विमानस्थलबाट ओर्लने बितिकै जन्तर–मन्तर पुगेका थिए । दीपकेले प्रदर्शनकारीहरूलाई शान्तिको प्रतीकस्वरूप फूल बोक्न अपिल गरेका कारण वाङचुकले पनि  हातमा गुलाफको फूल लिएर प्रदर्शनस्थल पुगेका थिए । 

आन्दोलनमा सम्मिलित हुनुअघि नै वाङचुकले आन्दोलनलाई सकारात्मक दृष्टिले हरेका थिए । कतिपयले सीजेपीलाई षड्यन्त्रको सिद्धान्तको आधारमा व्याख्या गर्ने गरेका थिए । वाङचुकले भने २३ मे मा उनले आफूलाई आन्दोलनको ‘मानार्थ कक्रोच’ (अनररी ककरोच) को रूपमा चिनाएका थिए । उनले युवाहरूको डिजिटल अभिव्यक्तिलाई दबाउनुको सट्टा सरकारलाई उनीहरूका चिन्ता र सरोकारहरूलाई सम्बोधन गर्न आग्रह गरेका थिए ।

प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) सँगको अन्तर्वार्तामा यस विवादबारे बोल्दै वाङचुकले यस अभियानलाई लोकतान्त्रिक पृष्ठपोषणका रूपमा हेरिनुपर्ने र यसलाई खतराको रूपमा लिन नहुने बताए।

वाङचुकले पीटीआईलाई थप भनेका थिए, ‘पहिलो कुरा त, म यसबाट निकै प्रभावित भएको छु। हाम्रा युवाहरूको यस्तो रचनात्मक अभिव्यक्तिबाट चिन्तित हुनुपर्ने वा डराउनुपर्ने कुनै कारण छैन। सरकारले यसको सन्देश बुझ्नुपर्छ ‘मेसेन्जर’ लाई नमार्नुहोस्। यदि हामीले सन्देशवाहकलाई नै मार्‍यौँ भने पनि सन्देश समाप्त हुने छैन।’

वाङचुकले नेपालको जेनजी आन्दोलनको उदाहरण दिँदै अनलाइनमा सिर्जनशील अभिव्यक्तिमाथि प्रतिबन्ध लगाउँदा अप्रत्याशित परिणामहरू आउन सक्ने तर्क समेत गरेका थिए । उनले भनेका थिए, ‘नेपालमा हिंसा त्यसै भएको होइन। जब उनीहरूले इन्टरनेट बन्द गरे र अनलाइनमा रचनात्मक अभिव्यक्तिहरू रोके, तब युवाहरू सडकमा उत्रिए र स्थिति कुरुप बन्यो।’ 

000 

सीजेपीका आरम्भिक दिनहरू यस्ता थिए । त्यहीबेलादेखिको मुद्दा अहिले झन् चर्किएको हो ।

वाङचुकले  आन्दोलनलाई समर्थन गर्दै सुरु गरेको अनिश्चितकालीन भोक हड्तालको २५ दिनपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

 गत २८ जुन देखि जन्तरमन्तरमा नुन-पानीको भरमा अनशन बसेका वाङचुकको स्वास्थ्य अवस्था गम्भीर बनेपछि प्रहरीले उनलाई सफदरजंग अस्पताल भर्ना गरेको थियो। अस्पतालको शय्याबाटै हड्ताल जारी राखेका उनले आफ्ना मागहरूलाई पुरा गर्ने आश्वाशन दिएमात्रै अनसन तोड्ने बताएका छन् ।

२२ जुलाईमा उनले अस्पतालको शैय्यामार्फत् पत्र लेख्दै आफ्ना मागहरूको बारेमा जानकारी दिएका छन् । पेपर लिक भएपछि आत्महत्या गरेका छात्रहरूका परिवारलाई पर्याप्त क्षतिपूर्ति दिनुपर्ने, जवाफदेहिता सुनिश्चित गर्न संसद्‍मा सार्थक छलफल हुनुपर्ने, शिक्षामन्त्रीको राजीनामाको विषय र आन्दोलनलाई दबाउन नमिल्ने जस्ता मागहरू राखेका छन् ।  

वाङचुक अस्पतालमा रहँदा आन्दोलनको ओजलाई घट्न नदिन सीजेपी संस्थापक दीपके स्वयं अनशनमा बसेका थिए । तर स्वास्थ्यमा समस्या देखिएपछि केही दिनमै उनी अनशन तोड्न बाध्य भएका थिए । आन्दोलनमा सहभागिता जनाएका केही छात्र- छात्राहरूले अनशन बसेका थिए ।

यसबीचमा केन्द्रीय मन्त्रीले पनि सीजेपीसँग कुरा गर्न चाहेका थिए । संसद्को मनसुन सत्रको समयलाई परवाह नगरी ‘संसद् मार्च’ मा उत्रिएपछि २० जुलाईमा केन्द्रीय मन्त्री जेपी नड्डाले सीजेपी प्रवक्ता सौरभ दाससँग भेटेका थिए ।

 प्रवक्ता दासले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत तस्वीर सार्वजनिक गर्दै आफूले मन्त्री नड्डालाई मागपत्र बुझाएको जानकारी सार्वजनिक गरेका थिए । यद्यपि सरकार पक्षले भने यसबारे थप कुनै जानकारी दिएको छैन ।  

पहिलो माग सोनम वाङचुकलाई अस्पतालबाट डिस्चार्ज गर्ने विषयबारे थियो। साथै आन्दोलनलाई लिएर उनीमाथि कुनै कानुनी कारबाही नगर्ने माग गरिएको थियो । दोस्रो माग धर्मेन्द्र प्रधानको राजीनामा वा उनलाई बर्खास्त गर्ने विषयमा छ । र, तेस्रो माग नीट २०२६ पेपर लीकपछि आत्महत्या गरेका विद्यार्थीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्ति दिने विषयमा थियो।

त्यस्तै गरि एक्समार्फत नै प्रवक्ता दासले जेपी नड्डासँग भेट्न दुई घण्टाभन्दा बढी पर्खिनु परेको पनि बताएका थिए । प्रवक्ता सौरभ दासले सरकारस्तरबाट कुनै पनि प्रतिबद्धता नआएपनि आन्दोलन जारी रहने जनाएका छन् । सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘ प्रदर्शनकारीहरूका जबसम्म माग पुरा हुँदैनन्, तबसम्म आन्दोलन जारी रहन्छ।’

संसद् मार्चको क्रममा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप पनि भएको थियो । जन्तर-मन्तरका सबै प्रवेश र निकास बिन्दुहरूमा प्रहरीले ७ फिट अग्लो ३-तहको ब्यारिकेडिङ गरेको थियो । तर, बढ्दो भिडले ब्यारिकेडहरू पन्छाउँदै र तोड्दै अघि बढ्ने प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । जन्तर-मन्तरदेखि संसद्‌सम्म करिब ५ हजार प्रहरी र र्‍यापिड एक्सन फोर्सका जवानहरू तैनाथ गरिएका छन्।

सार्वजनिक भएका भिडियो फुटेजहरू तथा सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा प्रहरीले कतिपय प्रदर्शनकारीहरूलाई निर्ममतापूर्वक लाठीचार्ज गरेको छ । अश्रु ग्याँस पनि प्रहार गरेको छ । दिल्लीमा मात्र सीमित नभई पटनामा पनि संसद् मार्च आन्दोलनलाई समर्थन गर्दै सञ्चालित आन्दोलनमा समेत प्रहरीको दमन भएको थियो । कतिपय सहभागीहरूका अनुसार, सुरक्षाकर्मीहरूले महिलालाई गलत तरिकाले  स्पर्श पनि गरेका थिए । 

मानवाधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले भारतमा शान्तिपूर्ण विरोधको आवाजलाई दबाइएको बताएको थियो। एम्नेस्टी इन्टरनेसनल इन्डियाका बोर्ड चेयरपर्सन आकार पटेलले भनेका थिए, ‘जन्तर-मन्तरमा भएको प्रदर्शनबाट अगाडि आएका तस्बिरहरू र रिपोर्टहरूले भारतमा शान्तिपूर्ण विरोधको आवाज दबाइएको देखाउँछन्।’

प्रहरीको यस दमनबारे सुप्रिम कोर्टमा याचिका सुनुवाई गर्न अस्वीकार गरिएको थियो । वकिलले प्रहरीले गरेको दमनको बारेमा भिडियोहरू प्रमाण रहेको भन्दै याचिका प्रस्तुत गर्दा प्रधानन्यायधीश सूर्यकान्तले सुनुवाई गर्न अस्वीकार गरेका थिए । सूर्यकान्तले भनेका थिए, ‘कृपया हाम्रो समय बर्बाद नगर्नुहोस् र आफ्नो पनि समय बर्बाद नगर्नुहोस्। तपाईंको समय हाम्रो समयभन्दा धेरै बहुमूल्य छ।’ 

जुलाई २० मा भएको प्रहरी दमनमाथि चौतर्फी विरोध भईरहेको छ । बलिउडका हस्तीहरू, कमेडियन, इन्फ्लूएन्सर, पत्रकार, बुद्धिजीवीहरूले सरकारको व्यापक आलोचना गरिरहेका छन् । साथै, प्रदर्शनकारीहरूलाई हिम्मत नहार्न समेत आग्रह गरेका छन् ।  

000

यो आन्दोलन केवल सामाजिक सञ्जालमा मात्र सीमित प्रतिरोध हो कि धरातलसँग जोडिएको आन्दोलन हो भन्ने सन्देह व्याप्त थियो । तर, भारतका संचारमाध्यमहरूले प्रस्तुत गरेका रिपोर्टअनुसार सोमबार यस सन्देहको उत्तर प्राप्त भयो । कलेजमा अध्ययनरत तथा विभिन्न परीक्षाहरूको तयारी गरिरहेका ठूलो संख्याका विद्यार्थीहरू सडकमा ओर्लिएर सरकारले आफ्ना प्रश्नहरूमा लामो समयसम्म मौनता साध्न नसक्ने कुरा स्पष्ट पारिदिएका थिए।

विगत एक महिनादेखि युवाहरूको यस आन्दोलनलाई पछ्याइरहेकी स्वतन्त्र पत्रकार स्मिता शर्माका अनुसार यी विद्यार्थीहरूले केन्द्र सरकारलाई समस्या शिक्षा व्यवस्थाको मात्र नभई महँगी र बेरोजगारीजस्ता अन्य मुद्दाहरूलाई पनि बेवास्ता गर्न सकिँदैन भन्ने स्पष्ट सन्देश दिएका छन्।

यो आन्दोलनको अर्को सफलताको रूपमा भने विपक्षी दलहरूको सहभागितालाई लिन सकिन्छ । प्रारम्भमा आन्दोलनदेखि टाढा रहेको विपक्षी दलहरू अहिले भने जन्तर – मन्तर पुग्ने क्रम बढ्दै गएको छ । यसबाट सीजेपीको राजनीतिक महत्त्व सान्दर्भिकता बढ्दै गएको देखिन्छ । शुक्रबार कांग्रेस पार्टीका प्रवक्ता एवं राज्यसभा सांसद पवन खेडा सोनम वाङचुक र प्रदर्शनकारीहरूलाई भेट्न जन्तर-मन्तर पुगेका थिए।

उनले एक्समा लेखेका छन्, ‘लोकतन्त्रमा शान्तिपूर्ण विरोध-प्रदर्शन गर्नु हरेक नागरिकको संवैधानिक अधिकार हो। जब नागरिक आफ्नो कुरा सुनाउन भोक हड्तालमा बस्छन्, तब सरकारको कर्तव्य उनीहरूको कुरा सुन्नु हुन्छ। उनीहरूबाट मुख मोड्नु सरकारको कर्तव्य होइन। यही राजधर्म हो ।’

उनले अगाडि लेखेका छन्, ‘कांग्रेस पार्टीका तर्फबाट म जन्तर-मन्तरमा सोनम वाङचुक र प्रदर्शनकारीहरूलाई भेटेँ। मैले उनीहरूलाई बिग्रँदो स्वास्थ्यलाई ध्यानमा राखेर अनसन समाप्त गर्न आग्रह गरेँ। कुनै पनि आन्दोलनलाई आफ्ना मानिसहरू गुमाएर मजबुत बनाउन सकिँदैन। हामी अगाडि पनि संघर्ष गर्नका लागि जीवित रहन्छौँ ।’

आइतबार दिल्लीका पूर्वउपमुख्यमन्त्री मनिष सिसोडिया धर्नास्थल पुगे। उनले मानिसहरूलाई पार्टीभन्दा माथि उठेर मार्चमा सहभागी हुन आग्रह गरे। समाजवादी पार्टीकी सांसद प्रिया सरोज आइतबार जन्तर-मन्तर पुगिन्। उनले मञ्चबाट यो मार्चमा सहभागी हुन अपिल गरिन्। उनले सोमबार हुने मार्चमा सहभागी हुने कुरा पहिले पनि भनेकी थिइन्।

आइतबार समाजवादी पार्टीका सांसद राजीव राय र इक्‌रा हसन पनि पुगे। मञ्चबाट बोल्दै राजीव रायले समाजवादी पार्टी र उनीहरूका सबै कार्यकर्ता सीजेपीको यो आन्दोलनसँग रहेको बताए।

संसद्मा पनि सीजेपीको विषयलाई लिएर विपक्षी दलहरूले प्रश्न खडा गर्न थालेका छन् । भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार सीजेपीका प्रदर्शनकारीहरूमाथि भएको प्रहरी लाठीचार्जको मुद्दा राज्यसभामा सशक्तरूपमा उठाएका छन्।

जन्तर-मन्तरमा भेला भएका हजारौँ युवाहरूमाथि प्रहरीले लाठीचार्ज गरेको बताउँदै उनले मोदी सरकारले युवाहरूको आवाज दबाउन खोजिरहेको आरोप लगाएका छन्। संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै खड्गेले दिल्ली आएर आफ्ना कुरा राख्न चाहने छात्र तथा नौजवानहरूमाथि कुटपिट र दुःख दिने कार्य गलत भएको बताएका छन्।

000

स्वय‌ं  प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मौनता तोड्दै गइरहेको छन् । आन्दोलनको बारेमा एक शब्द पनि खर्च नगरेका मोदीले नीट पेपर लिकको विषयलाई समाधान गर्न फास्ट ट्र्याक अदालत गठन गर्ने घोषणा गरेका छन्। उनले एक्समा पोस्ट गर्दै घोषणा गरेका हुन् ।  नितिश कुमारको पार्टी जनता दल युनाइटेडको प्रतिक्रिया आएको छ।

जेडीयुका मुख्य प्रवक्ता तथा एमएलसी नीरज कुमारले पीएम मोदीको घोषणाबारे एबीपी न्युजसँग कुरा गर्दै भने, ‘नीट पेपर लीकको मुद्दा छात्र-छात्रासँग मात्र जोडिएको नभई अभिभावकहरूको पनि भावनात्मक सम्बन्ध रहेको विषय हो। देशले यसमा चिन्ता व्यक्त गरिरहेको छ।’

उनले प्रधानमन्त्रीद्वारा यस सम्बन्धमा दिइएको आश्वासन, कारबाही तथा फास्ट ट्र्याक अदालत गठनको निर्देशनसँगै दोषीहरू उम्कन पाउने छैनन् भन्ने आशा जागेको बताए। उनले न्यायपालिकाले उनीहरूलाई पूर्ण सजाय दिने भन्दै सबैलाई विश्वास, संयम र धैर्य राख्न आग्रह समेत गरे। गृहमन्त्री अमित शाहले पनि प्रधानमन्त्री मोदीले युवाहरूको हित र उनीहरूको उज्ज्वल भविष्य सरकारको सर्वोच्च प्राथमिकतामा राखेको बताएका छन् । 

प्रधानमन्त्री मोदीलाई जवाफ फर्काउँदै लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले एक्समा लेखेका छन्, ‘तपाईंले नै हाम्रा युवाहरूको भविष्यलाई सबैभन्दा बढी क्षति पुर्‍याउनु छ। तपाईंले हाम्रो शिक्षा व्यवस्थामाथिको कब्जा र यसको विनाशलाई रोक्न त भएन नै, उल्टै यसलाई प्रवर्द्धन गर्नुभयो र यसका लागि जिम्मेवार हरेक व्यक्तिलाई संरक्षण दिनुभयो ।’ 

गान्धीले मोदीले युवाहरूको हित चाहिरहेको हो भने उनीहरूको सबै माग पुरा गर्न आग्रह गरेका छन् । 

त्यस्तै केन्द्रीय मन्त्री डा. जितेन्द्र सिंहले एक वक्तव्य जारी गर्दै जन्तरमन्तरमा प्रदर्शन गरिरहेका कक्रोच जनता पार्टीका प्रतिनिधिहरूलाई वार्ताका लागि आमन्त्रित गरेका छन् । सरकारका तर्फबाट हामी जुनसुकै समयमा पनि वार्ताका लागि तयार रहेको पनि बताएका छन् । 

केन्द्रीय मन्त्रीले भने, ‘सरकारले हिजो दिउँसोदेखि उनका प्रतिनिधिहरूसँग वार्ताका लागि चार पटक औपचारिक प्रस्ताव पठाइसकेको छ।हामी हाम्रा सम्पूर्ण युवा साथीहरूलाई खुला निमन्त्रणा दिन्छौँ कि सरकार तपाईंहरूको सुविधा अनुसार, जुनसुकै समयमा पनि सबै मुद्दाहरूमा वार्ता गर्न तयार छ ’ 

डा. सिंहले वार्ता केन्द्रीय मन्त्री जे.पी. नड्डाको कार्यालय वा उनको निवासमा हुन सक्ने जानकारी दिए। 

लेखक
कञ्चन

कञ्चन अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?