१९ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बन्द भएका राष्ट्रिय उद्योगहरु खुलाउन आन्दोलन गर्न मजुरहरुलाई आहृवान गरेका छन् ।
विश्व मजदुर दिवसको अबसरमा आइतबार शान्तिबाटिकामा आयोजित सभामा प्रचण्डले नयाँ संविधानका मजदुरहरुका केही अधिकार सुनिश्चित गरेको बताए । उनले संविधानमा प्राप्त अधिकारको रक्षा गर्दै बाँकीका लागि संघर्ष गर्दै जानु पर्नेमा जोड दिएका छन् ।
मजदुरहरुको तलव सुविधा जति हुनु पर्ने हो त्यो नभएको र उद्योग कलकारखाना बन्द भएको भन्दै उनले भने, ‘राष्ट्रिय उद्योगहरु निजीकरणका नाममा बेचिएका छन् र मजदुरहरु लाबारिस भएका छन् । हेटौंडा जस्ता औद्योगिक क्षेत्र बन्द भएका छन् । त्यस्ता उद्योगीहरु खुलाउने वातावरण बनाउन संघर्ष गरिरहेका छौं । तपाईँ मजदुर साथीहरुलाई एकपटक सशक्त आन्दोलन गर्न अपील गर्छु ।’
खाडी जानु लज्जा
युवाहरु खाडीसहितका देशमा रोजगारीका लागि गएको र उनीहरुले त्यहाँ अपमान खेप्नु परेको भन्दै उनले यो लज्जाको विषय भएको बताए । प्रचण्डले स्वदेशमा रोजगारीको माग गर्दै आमरण अनसनमा बसेकाहरुका माग सम्बोधन गर्न पनि सरकारलाई आग्रह गरे ।
संविधानमा कुराहरु राम्रा लेखिँदैमा कार्यान्वयन हुन्छ भन्ने नभएको भन्दै उनले त्यसको कार्यान्वयन र बाँकी अधिकार प्राप्तीका लागि संघर्ष गर्नुपर्ने दोहोरो जिम्मेवारी कम्युनिष्ट र मजदुरहरुमा रहेको बताए ।
एमाओवादी अध्यक्ष प्रचण्डले भूकम्पपछिको पुनर्निर्माण, संविधानको कार्यार्न्वयनका लागि पनि राष्ट्रिय एकता र सहमति आवश्यक रहेको बताए । मधेसी र जनजातिले संविधानमा संशोधन गरेर केही माग पूरा होस् भनेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले त्यसका लागि पनि राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन् ।
संविधानमा मुलुक अब समाजवादउन्मुख हुने लेखिएको भन्दै उनले भने, ‘यो मजदुर वर्गको निर्णायक क्रान्तिको चरण हो र आन्दोलनको केन्द्र ठूला शहर, प्रदेशका हेडक्वाटर र राजधानी नै हुन्छ ।’
प्रतिक्रिया 4