Comments Add Comment

लागुऔषध सेवनदेखि जेलको हेड मिससम्म

२१ वैशाख, काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारमा करिब २५ सय कैदीबन्दी छन्। तीमध्येकी एक हुन् २८ वर्षीया सोफिया केसी । उनी अहिले पनि प्राथमिक विद्यालयको प्रधानाध्यापकको रूपमा कार्यरत छिन्। लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेकी उनी केन्द्रीय कारागारमै रहेको विद्यालय हाँकिरहेकी छिन्, नयाँ पत्रिका दैनिकमा समाचार छ ।

woman-in-Jailसोफियाले जेल पर्ने धेरै महिलालाई पढ्न र लेख्न सक्ने बनाएकी छिन्। विगत साढे दुई वर्षदेखि सरकारी कोटाकै दरबन्दीमा उनी प्रधानाध्यापकको रूपमा कार्यरत छिन्। ‘हिजो कलम पनि समाउन नजान्नेले आज चिठी लेखिरहेको देख्दा साह्रै आनन्द लाग्छ,’ सोफिया भन्छिन्, ‘म बिग्रिएर यहाँ आए पनि आफूले जानेको कुरा अरूलाई सिकाउन पाएकोमा निकै खुसी मिलेको छ।’

प्रावि स्कुलको प्रधानाध्यापककै स्केलमा उनले तलब बुझ्छिन्। तर, स्कुलमा एउटा मात्र दरबन्दी भएकाले त्यही तलब पाँचजनाले बाँडेर लिने गरेका छन्।

यसरी पुगिन् सोफिया जेल

झन्डै सात वर्षअघि पिपल्स क्याम्पसबाट बिबिएस गरेपछि केसी क्यानाडा जाने तयारीमा थिइन्। क्यानाडा जाने प्रक्रिया पनि सुरु भइसकेको थियो। १९ भदौ ०६६ को बिहान करिब ११ बजेको थियो। आमा अफिस गइसकेकीले घरमा भाइ र उनी मात्र थिए। भाइ आफ्नै काममा थिए, उनी ब्राउनसुगरको नसामा मस्त थिइन्।

घरको बेल बज्यो। कोही आफन्त आए होला भन्ने ठानेर उनले ढोका खोलिन्। ढोका खुलेलगत्तै ६–७ जनाको समूह एकैपटक भित्र छिर्‍यो। उनीहरूले आफूलाई प्रहरी भएको बताउँदै खानतलासी सुरु गरे। एक केटी साथीसँगै करिब ३० हजार रुपैयाँमा उनले ५० ग्राम ब्राउनसुगर किनेकी थिइन्। त्यसमध्ये ४६ ग्राम बाँकी थियो। प्रहरीले भेटायो। प्रहरीले हत्कडी लगाएर लग्यो। त्यही दिनदेखि उनको जेलयात्रा सुरु भयो।

तीन वर्ष अझै जेलको बास

सुरुमा तीन महिना केसीलाई हनुमानढोकास्थित हिरासतमा राखिएको थियो। अदालतले उनलाई ११ वर्ष कैद सजाय सुनाएको छ। जसमध्ये करिब आठ वर्ष उनले पूरा गरेकी छिन्। अझै तीन वर्ष उनी जेलमै बस्नुपर्नेछ। लागुऔषध मुद्दामा अरूमा जस्तो कैद छुट हुँदैन। ‘जेलमा बस्दा सबैभन्दा के कुरा मिस हुन्छ ?’ ‘परिवार,’ उनले तुरुन्तै जवाफ दिइन्, ‘आठ वर्ष हुन लागिसक्यो, अब त यो ठाउँ एकदमै अत्यास लाग्छ।’

विद्यालयदेखि नै कुलत

स्कुलदेखि नै उनले गाँजा खान थालेकी थिइन्। साथीहरूको लहलहैमा पछि ब्राउनसुगर खान थालिन्। ‘म साथीहरूलाई नै यस्तो खानुहुँदैन भनेर गाली गर्थेँ,’ सोफिया भन्छिन्, ‘एक दिन कस्तो हुन्छ भनेर चाखेको आनन्दजस्तो भयो, त्यही दिनदेखि फसेँ।’ ब्राउनसुगरको लत लागेपछि कहिले आमाको पैसा चोर्ने त कहिले कलेजको फी भनेर मागेर लागुऔषध किन्ने गरेको उनले सुनाइन्।

दुई वर्षपछि छुट्यो दुव्र्यसनी

अहिले उनी लागुऔषध सम्झन पनि चाहन्नन्। भन्छिन्, ‘ड्रग भनेको यस्तो कुरा हो जसको प्रयोग परै जाओस् सुन्नु पनि पाप हो जस्तो लाग्छ।’ उनी जेल परेको दुई वर्षमा पूरै सुध्रिसकेकी थिइन्। तर, जीवन ११ वर्षपछि धकेलिएको उनको बुझाइ छ। सोफिया भन्छिन्, ‘साथीहरू कहाँ पुगिसके, आफू भने अब शून्यबाट जीवन सुरु गर्नुपर्नेछ, केही सोच्नै सकिरहेको छैन।’

जेलभित्र दुई उपलब्धि

जेल परेर सोफियाले दुई कुरा पाएकी छिन्। एउटा– लागुऔषधको दुनियाँबाट टाढा भएकी छिन्। अर्को– जेलभित्र अक्षर नचिनेकालाई लेख्न–पढ्न सक्ने बनाएकी छिन्। केन्द्रीय कारागारको महिला बन्दीगृहमा करिब दुई सय २० महिला कैदीबन्दी छन्। जसमध्ये करिब ५० जना कारागारको स्कुलमा पढ्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment