Comments Add Comment

देशभरका पत्रकार चितवनमा, साधारण सभाको उदघाटन राष्ट्रपतिबाट हुने

२१ वैशाख, चितवन । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभामा सहभागी हुन देशभरका पत्रकार चितवनको रत्ननगरमा भेला भएका छन् ।

FNJ_logoप्रादेशिक संरचनाअनुसार विधान संशोधनको प्रस्तावमाथि छलफल गर्न पत्रकार यसरी भेला भएका हुन् । चितवनको रत्ननगरस्थित स्टार बैंकटमा आजदेखि दुईदिने साधारणसभा आयोजना गरिएको छ । यसपटक पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधन हुन लागेको हो ।

साधारणसभामा शाखा, प्रतिष्ठान, एसोसिएट तथा विदेशी शाखाका सभासद् तथा शाखा अध्यक्ष गरी कुल एक हजार ६५१ जना सहभागी हुने पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए ।

साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको स्थानीय व्यवस्थापन समितिका संयोजक हरिप्रसाद पोखरेलले जानकारी दिए ।

आज बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधान सभाको उद्घाटन गर्ने कार्यक्रम रहेको डा. विष्टले बताए ।

रत्ननगरको स्टार बैंकटमा हुन लागेको कार्यक्रममा लागि अधिकांश पत्रकार चितवन आइसकेका छन् । उनीहरुलाई सौराहामा आवासको व्यवस्था गरिएको आवास व्यवस्थापन समितिका संयोजक जनक अर्यालले जानकारी दिए ।

यसपालिको साधारणसभामा विधान संशोधनको प्रस्ताव पेस हुनेछ । महासङ्घले ल्याएको विधान संशोधन प्रस्तावमा हाल नेपाल भौगोलिक हिसाबले सात प्रदेशमा विभाजन भएपनि महासङ्घले १० वटा प्रादेशिक संरचनाको प्रस्ताव गर्दैछ जसमा सात वटा प्रदेश, उपत्यका एक, एसोसिएट एक र प्रतिष्ठान एक गरी १० पु¥याउने गरी प्रस्ताव ल्याएको छ ।

यस्तै, केन्द्रीय सभामा चयन हुने सभासद् यसअघि १० बराबर एक रहेकोमा प्रस्तावित विधानमा १५ बराबर एक रहने व्यवस्था गरिएको छ ।

हाल महासङ्घका ७४ शाखा, ४२ प्रतिष्ठान, १० एसोसिएट र सात विदेशी शाखा रहेका छन् । यस्तै, प्रस्तावित विधानमा अब पत्रकार बन्नका लागि कम्तीमा पनि उच्च माध्यमिक तह वा सोसरहको पढाइ हुनुपर्ने प्रस्ताव ल्याइएको छ । यसअघिको विधानमा एसएलसी उत्तीर्ण गरेका व्यक्तिले पत्रकार बन्न पाउने व्यवस्था थियो ।

पत्रकार महासङ्घको विधान २०६० को चौथो संशोधनका लागि उक्त प्रस्ताव ल्याइएको महासङ्घका अध्यक्ष डा. विष्टले जानकारी दिए ।

महासङ्घको कात्तिक २७ को बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो । फागुन १९ मा सभासद् र सदस्यबाट सुझाव सङ्कलन भएको थियो । फागुन १५ गते उक्त प्रस्ताव पारित भएको महासङ्घले जनाएको छ ।

यस वर्ष पेसा र भौतिक सुरक्षालाई प्राथमिकता दिँदै पत्रकार तथा आमसञ्चार माध्यमको व्यावसायिक हकहित र भौतिक सुरक्षाका लागि सक्रिय रहने भन्ने बुँदा थप गरिएको छ ।

प्रस्तावमा कार्यकारिणी सभालाई केन्द्रीय सभा बनाउने, सभासद्लाई केन्द्रीय सभासद् र प्रदेश सभा नयाँ थप्ने प्रस्ताव ल्याइएको छ । राष्ट्रपति तथा अन्य उच्च सरकारी अधिकारी आउने भएपछि कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment