
२१ वैशाख, गमगढी । वैशाख महिनाको सुरुदेखि नै मुगु जिल्लाको आकासमा बाक्लो तुवाँलो लागेपछि जनजीबन प्रभावित बनेको छ । तुवाँलोका कारण भिजिबिलिटी कम भएपछि हवाइ उडानसमेत गत १६ गतेदेखि ठप्प छ ।
मंगलबार मुगु सदरमुकाम र त्यस आसपासका क्षेत्रमा दिउँसै अँध्यारो देखिएको छ । गमगढी निवासी ७३ वर्षीया बुच्या चौलागाइँले भनिन्, ‘मलाई सम्झना भएसम्म मुगुमा यस्तो कहिल्यै भएको थिएन । प्रकृतिको यो लिलाले अब बाँच्न गाह्रो हुने भयो ।’
बाक्लो तुवाँलोका कारण स्थानीयमा आँखा पोल्ने र सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएको छ । खडेरीका कारण भोकमरीबाट आक्रान्त मुगुबासी बाक्लो तुवाँलोका कारण स्वास्थ्यमा पनि समस्या थपिएपछि मर्कामा परेका छन् । आसपासका जंगलमा जताततै आगलागि भएको र लामो समयदेखि पानी नपरेकाले बाक्लो तुवाँलोले ढाकेको बताइएको छ ।
वरिपरिका वनहरु डढेलोले सखाप पार्दासमेत जिल्ला वन कार्यालय र सरोकारवाला निकायले निभाउन कुनै पहल नगरेको स्थानीय व्यापारी ज्ञानदत्त भट्टले बताए ।
तुवालोकै कारण ताल्च विमानस्थलमा पाँच दिनदेखि हवाई उडान अबरुद्ध भएको गोमा एयरका महेन्द्र भामले बताए । हवाई उडान अबरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन् ।
५० प्रतिशत उत्पादन घट्यो
खडेरीका कारण कतिपय ठाउँमा पानीका मुहानसमेत सुकेका छन् । एक गाग्रो पानी लिन स्थानीयलाई घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता छ ।
लामो खडेरीका कारण मुगुमा ५० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । यसपटक सिंचाइ हुने सीमित जग्गामा मुस्किलले हिउँदे बाली लगाइएको थियो ।