+
+
Shares

वर्षा नहुँदा गुल्मीका किसानले धानको ब्याड राख्न पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १४ गते १०:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीमा पर्याप्त वर्षा नहुँदा र खडेरीका कारण अधिकांश क्षेत्रमा धान रोपाइँ प्रभावित भएको छ ।
  • इस्मा गाउँपालिका–२ का किसानले धानको ब्याड राख्न नपाएको भन्दै उत्पादनमा कमी आउने चिन्ता व्यक्त गरेका छन् ।
  • खोलाको सतह भासिँदा सिँचाइको स्रोत कमजोर भएको र आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको किसानहरूले बताएका छन् ।

१४ असार, गुल्मी । धान रोपाइँको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि गुल्मीका अधिकांश क्षेत्रमा पर्याप्त वर्षा नहुँदा धान खेती प्रभावित बनेको छ । लामो समयदेखि पानी नपरेपछि जिल्लाका किसानले धानको बीउ राख्ने ब्याडसमेत तयार गर्न नसकेका हुन् ।

समयमै ब्याड तयार हुन नसक्दा यस वर्षको धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने चिन्ता किसानले व्यक्त गरेका छन् । विशेषगरी इस्मा गाउँपालिका–२ अन्तर्गतको छल्दी फाँटका किसान खडेरीका कारण सबैभन्दा बढी मारमा परेका छन् ।

सामान्यतया असारको मध्यसम्म धानको ब्याड तयार भई धेरैजसो खेतमा रोपाइँ सुरु भइसक्ने भए पनि यस वर्ष पर्याप्त वर्षा नहुँदा खेतहरू चिराचिरा परेका छन् । आकाशे पानीको भरमा खेती गर्दै आएका किसानले रोपाइँ त परको कुरा, बीउ राख्ने ब्याडसमेत तयार गर्न नसकेको बताएका छन् ।

स्थानीय किसानका अनुसार समयमै वर्षा नहुनु मात्र नभई छल्दी खोलाबाट जथाभावी गिटी–बालुवा उत्खनन गरिँदा खोलाको सतह भासिँदै गएको छ । यसले खोलाबाट खेतमा पुग्ने पानीको स्रोतसमेत कमजोर बनेको उनीहरूको गुनासो छ ।

पहिले खोलाको पानी सहजै खेतसम्म पुग्ने गरे पनि अहिले खोलाको सतह तल झर्दै जाँदा सिँचाइ गर्न कठिन भएको किसानहरू बताउँछन् । इस्मा गाउँपालिका–२ का स्थानीय जंगबहादुर खत्रीले पछिल्ला केही वर्षयता प्रत्येक वर्ष धानको ब्याड तयार गर्न समस्या हुँदै आएको बताए ।

उनका अनुसार समयमै वर्षा नहुँदा धान उत्पादन निरन्तर घटिरहेको छ । ‘पहिले असार लाग्नेबित्तिकै ब्याड राख्थ्यौं, अहिले मध्य असार बितिसक्दा पनि ब्याड राख्न पाएका छैनौं’, उनले बताए ।

खडेरीसँगै खोलाबाट हुने गिटी–बालुवा उत्खननका कारण सिँचाइका परम्परागत स्रोतसमेत प्रभावित भएका छन् । यदि समयमै पानी नपर्ने अवस्था दोहोरिरह्यो भने खेती गर्नै मुस्किल हुने उनको भनाइ छ ।

अरूको खेत अधियाँमा लिएर धान खेती गर्दै आएका इस्मा–२ का पूर्णबहादुर नेपालीले पनि समयमै पानी नपर्दा खेतीप्रति नै निराशा बढ्दै गएको बताए । धान रोपाइँका लागि आवश्यक ब्याड तयार गर्न नसक्दा यस वर्ष खेत रोप्ने कि नरोप्ने भन्ने अन्योलमा रहेको उनले सुनाए ।

उनका अनुसार खेतीमा लाग्ने लागत बढ्दो छ भने उत्पादन घट्दै जाँदा अधियाँ खेती गर्न कठिन हुन थालेको छ । जिल्लाका अधिकांश स्थानमा अघिल्ला वर्षको तुलनामा यस वर्ष निकै कम क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ ।

पर्याप्त वर्षा नहुँदा किसानहरू आकाशे पानीकै प्रतीक्षामा छन् । केही ठाउँमा सिँचाइ सुविधा भए पनि अधिकांश खेत वर्षामा निर्भर रहेकाले रोपाइँ प्रभावित भएको हो ।

कृषि क्षेत्रमा निर्भर गुल्मीका अधिकांश किसानको मुख्य आम्दानी धान खेतीबाट हुने गर्छ । तर, निरन्तरको खडेरी, पानीका स्रोत सुक्दै जानु र सिँचाइको अभावका कारण खेती प्रणाली नै संकटमा पर्दै गएको किसानहरूको भनाइ छ ।

वर्षा अझै ढिलो भए धान रोपाइँको उपयुक्त समय गुज्रिने र यस वर्षको उत्पादनमा ठूलो गिरावट आउने जोखिम बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?