News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा चैतदेखि वैशाखसम्म प्रि-मनसुन अवधिमा असाधारण रूपमा पटकपटक वर्षा, असिना र हिउँ परेको छ जसले अस्वाभाविक चिसोपन महसुस गराएको छ।
- पश्चिमी वायु प्रणालीको सक्रियताका कारण प्रि-मनसुनमा सामान्यभन्दा तीन गुणा बढी वर्षा भएको छ र वैशाख अन्तिमसम्म २३० मिलिमिटर पानी परेको छ।
- मौसमविद्हरूले एलनिनो प्रभावका कारण यस वर्ष मनसुन अवधिमा कम वर्षा र बढी गर्मी हुने पूर्वानुमान गरेका छन् र सतर्कता अपनाउन सुझाव दिएका छन्।
३ जेठ, काठमाडौं । सामान्यत: चैत–वैशाखलाई नेपालमा अत्यधिक गर्मी हुने समय मानिन्छ । तर यस वर्ष भने अवस्था फरक भयो । वर्षायाम सुरु भइसकेको झल्को दिने गरी दिनहुँजसो पानी पर्यो, जाडो महसुस भयो ।
गर्मीयाममा पनि ज्याकेट लगाउने खालको अस्वाभाविक अनुभव किन भयो ? यसको सामान्य उत्तर सरल छ– पानी परिरहेकाले ।
फेरि अर्को जिज्ञासा हुनसक्छ– निरन्तर पानी चाहिँ किन परिरह्यो ? यसको उत्तर खोज्नका लागि भने समुद्रसम्म पुग्नुपर्छ ।
मौसमविद्हरूका अनुसार अहिले भइरहेको वर्षा नेपालमा प्रि-मनसुन अर्थात् मनसुनअघिको मौसमी प्रणालीको सक्रियता हो । प्रि–मनसुन भन्नाले मध्य फागुनदेखि मध्य जेठसम्म अर्थात् मार्च, अप्रिल र मे महिनाको अवधिलाई बुझिन्छ । यो अवधिमा प्राय गर्मी हुन्छ । तर यस वर्ष वैशाखसम्मै पटक–पटक पानी, असिना, हिउँ परेको छ । (पानी परेको तथ्यांक)
केही ठाउँमा हावाहुरी र चट्याङले पनि दु:ख दिएको छ । यस्तो अवस्था यो जेठ महिनामा पनि कायम रहने सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।
वर्षा मुख्यत: तीन कारणले हुने गरेको छ– सक्रिय पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव ।
पश्चिमी वायु (वेस्टर्न डिस्टर्बेन्स) भनेको पश्चिम दिशाबाट पूर्वतर्फ सर्ने हावाको प्रणाली हो । यसले विशेषगरी प्रि–मनसुन समयमा र जाडोयाममा नेपालमा वर्षा तथा हिमपात गराउँछ । नेपालमा मौसम परिवर्तन गराउने मुख्य प्रणालीमध्ये यो एक हो ।
यो भूमध्यसागर क्षेत्र हुँदै, टर्की, इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दक्षिण एशियामा फैलिन्छ । यो प्रणाली पश्चिम एशियाबाट आएको जलवाष्पयुक्त चिसो हावा हो, जसले हिमालय क्षेत्रमा पुगेर बादल बनाउँछ र वर्षा वा हिमपात गराउँछ । कहिलेकाहिँ असिना र आँधी पनि आउँछ ।
यस वर्ष हिउँद सकिएलगत्तै सुरु भएको प्रिमनसुन अवधिमा पनि पश्चिमी वायु सक्रिय देखिएकाले हिमपात र असिना पानी परेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल बताउँछन् । चैत–वैशाखमा पनि पटक–पटक वर्षा र जाडो महसुस हुनुको कारण सुनाउँदै सिग्देल भन्छन्, ‘हिउँदपछि पश्चिमी वायु अलि बढी सक्रिय भयो अनि स्थानीय वायु र जलवाष्पको जुन रिसाइक्लिङ प्रोेसेस हुन्छ त्यो पनि सक्रिय भयो । त्यसले गर्दा वर्षाको मात्रा बढी भयो ।’

अर्का मौसमविद् उज्ज्वल उपाध्याय फिलिपिन्स सागरमा आएको ठूलो आँधी (हरिकेन) का कारण सिर्जित वायुमण्डलीय प्रणालीले पनि नेपालसहित इन्डोनेसिया, श्रीलंका, थाइल्याण्ड, लाओस र भियतनामसम्मको ठूलो क्षेत्रमा वर्षा गराएको बताउँछन् । जेठसम्मै पश्चिमी वायुको प्रभावले नेपालमा वर्षा गराउने पूर्वानुमान गरिएको उपाध्यायले बताए ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अर्का सहप्राध्यापक डा. विनोद पोखरेल पनि यो जेठ महिनाको केही दिन अझै पानी पर्ने बताउँछन् ।
बादल लाग्ने र वर्षा हुने यही कारणले सूर्यको किरण छेक्छ अनि पृथ्वी तात्न नपाएपछि जाडो महसुस हुन्छ । नेपालमा ठीक यही अवस्था देखियो ।
केही दिनअघिसम्म दिउँसो घाम लाग्ने बेलामा बादल लागेर पानी पर्ने अनि राति आकाश खुल्ने गरेको थियो । दिनमा घामले पर्याप्त ताप दिन नपाउँदै बादलले ढाक्ने र राति ताप छिटो क्षय हुने अवस्थाले चैत–वैशाखमै पनि चिसो अनुभव गराएको मौसमविद् बताउँछन् ।
‘जुन समय सबैभन्दा बढी घाम लागेर तापक्रम बढ्नुपर्ने हो त्यही समयमा बाक्लो कालो बादल विकसित हुने, हावाहुरी चल्ने र वर्षा हुने हुँदा सूर्यको ताप जमिनसम्म पुग्न नपाएकाले दिनको तापक्रम अपेक्षाकृत कम भयो,’ मौसमविद उपाध्याय भन्छन्, ‘त्यसमाथि पनि रातिको समयमा आकाश प्राय: खुला हुने भएकाले जमिन र वायुमण्डलमा सञ्चित तापक्रम छिटो घट्ने गर्दछ । यही कारण बिहान र रातितिर अलि बढी चिसोपन महसुस भयो ।’
यस वर्षको प्रि-मनसुनमा कति वर्षा ?
प्रि–मनसुनलाई हिउँद सकिएपछि र मनसुन (वर्षा ऋतु) सुरु हुनुभन्दा अगाडिको संक्रमणकालीन समय मानिन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्य फागुनदेखि मध्य जेठको अवधिमा नेपालभर सरदर २०० देखि २३० मिलिमिटरसम्म पानी पर्ने गर्छ ।
यद्यपि यो स्थान विशेष अनुसार फरक–फरक हुन्छ । काठमाडौंको हकमा कुरा गर्दा प्रिमनसुनमा सरदर करिब १०० मिलिमिटर पानी पर्छ । तर यस वर्ष वैशाख अन्तिम साताभित्र २३० मिलिमिटर वर्षा भइसकेको छ । यो सरदर वर्षाको करिब ३ गुणा बढी हो ।
जेठ महिनामा पनि पानी पर्ने सम्भावना रहेकाले यस वर्षको प्रिमनसुन अवधिमा वर्षाको मात्रा अझै बढ्ने निश्चित छ ।
काठमाडौंको तथ्यांक प्रस्तुत गर्दै उपाध्यायले भने, ‘विगत ४५ वर्षको तथ्यांक हेर्दा वैशाख र जेठमा काठमाडौंमा औसत १०० मिलिमिटर पानी पर्नुपर्नेमा वैशाख २५ गतेसम्म नै २३० मिलिमिटर वर्षा भइसकेको छ । वैशाख महिना सकिन अझै केही दिन बाँकी रहेकाले यो परिमाण तीन गुणासम्म पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।’
१९८१ देखि २०२५ सम्मको ४५ वर्षको तथ्यांक हेर्दा नेपालमा प्रिमनसुन अवधिमा कुनै वर्ष धेरै र कुनै वर्ष कम पानी परेको देखिन्छ । अर्थात् प्रिमनसुन वर्षा उतारचढावपूर्ण छ ।
हेर्नुहोस् यो ग्राफ
जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखाका मौसमविद अशोक बख्रेलका अनुसार सन् १९९० मा सबैभन्दा धेरै ३३२.३१ मिलिमिटर प्रिमनसुन वर्षा भएको देखिन्छ । त्यसपछि सन् २००० मा ३२२.८५ मिलिमिटर, २०२१ मा ३१७.९ मिलिमिटर र २०२० मा ३१५.५९ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
सन् २०२५ मा फेरि २७४.२१ मिलिमिटर वर्षा रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।
त्यसविपरीत, सन् १९९२ मा सबैभन्दा कम १३८.०१ मिलिमिटर वर्षा भएको देखिन्छ । १९९६ मा १४१.५६ मिलिमिटर, २०१४ मा १५४.९१ मिलिमिटर र १९९५ मा १६२.४२ मिलिमिटर मात्रै वर्षा भएको थियो ।
‘यी तथ्यांकहरुले प्रिमनसुन वर्षामा तीव्र उतारचढावको संकेत गरेका छन्,’ मौसमविद बख्रेल भन्छन् ।
उनका अनुसार प्रिमनसुनमा पश्चिमको तुलनामा पूर्वी नेपाल दुई गुणाभन्दा बढी भिज्ने गरेको छ । तथ्यांक हेर्दा पश्चिम नेपालमा औसत १३३.७ मिलिमिटर, मध्य नेपालमा २५०.९ मिलिमिटर र पूर्वी नेपालमा २९१.३ मिलमिटर वर्षा रेकर्ड छ । यसको मुख्य कारण बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावा र हिमाली भू–बनोट भएको मौसमविदहरु बताउँछन् ।
फाइदा–बेफाइदा
चैत–वैशाख महिनामा सामान्यत: पश्चिमी वायु प्रणालीले हिमाल र पहाडी क्षेत्रमा वर्षा तथा हिमपात गराउँछ । प्रिमनसुन अवधिमा हुने वर्षाले कृषि, खानेपानी, वन डढेलो र विपद् जोखिममा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।
विशेषगरी नेपालमा मकै खेति गर्ने र धान रोपाइँको तयारी हुने समय भएकाले प्रिमनसुन वर्षालाई कृषिका लागि महत्वपूर्ण मानिन्छ ।
मौसमविद्हरूका अनुसार अहिलेको लगातार वर्षा र तापक्रम गिरावटले तत्कालका लागि शीतल महसुस गराएको छ । वनको डढेलो पनि न्यून छ । तर पनि यसलाई सकारात्मक मान्न भने सकिँदैन । लगातारको वर्षाले गहुँ, मसुरो लगायत बाली भित्राउन किसानहरुले कठिनाइ भोगे ।
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालका अनुसार पटक–पटकको वर्षाले पूर्वी तराईका कतिपय जिल्लाका किसानहरूले मुग र जुट खेतिका लागि जग्गा तयारी गर्न समेत पाएनन् । असिना र हुरीले मकै र केरा लगायतका फलफूलका तरकारी खेतिमा समेत नोक्सान भयो
विशेषगरी वैशाख–जेठमा हुने अत्यधिक वर्षाले माटो चाँडै भिज्ने भएकाले आगामी मनसुनमा पहिरो र बाढीको जोखिम बढ्न सक्ने कतिपयको अनुमान छ । तर मौसमविदहरु प्रिमनसुन सकृय वा निष्कृय हुँदैमा मनसुनी वर्षा घटी वा बढी हुने निश्चित नहुने बताउँछन् ।
प्रशान्त महासागरको तापक्रमको अवस्था, हिन्द महासागरको तापक्रमको अवस्था अनि जेट स्ट्रिमजस्ता ठूला विश्वव्यापी प्रणालीले नेपालको मनसुनको सम्भावित अवस्था निर्धारण गर्छन् ।

हाल प्रशान्त महासागरको तापक्रम औसतभन्दा बढी अर्थात् एल निनो अवस्थामा रहेको र हिन्द महासागरको तापक्रमको अवस्था (आईओडी) तटस्थ रहेकाले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम पानी पर्ने र बढी गर्मी हुने आकलन जल तथा मौसम विज्ञान विभागले गरेको छ ।
नेपालको कुनै–कुनै ठाउँमा सरदरसम्म वर्षा हुने भए पनि धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने पूर्वानुमान गरिएको मौसमविद सुदर्शन हुमागाइँ बताउँछन् ।
अनिश्चित र संवेदनशील बनेको मौसम
केही वर्षयता मौसमको चरित्र बदलिँदै गएको छ । वर्षा हुने समयमा नहुने, भए पनि कुनै ठाउँमा एकदमै ठूलो पानी पर्ने र कतै सुक्खा हुने अवस्था छ । गत वर्ष मनसुन अवधिमै मधेशमा खडेरी हुँदा सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको थियो । मनसुन बहिर्गमनको सरदर समयभन्दा पछि पूर्वी नेपालमा भारी वर्षा र पहिरोले विपत्ति निम्त्याएको थियो ।
त्यसैले जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद मीनकुमार अर्याल यस वर्ष पनि त्यस्तै अवस्था नआउला भन्न नसकिने भएकाले सतर्कता जरुरी रहेको बताउँछन् ।
उनी भन्छन्, ‘मनसुन सुरु भयो भने पनि केही दिनसम्म सुक्खा हुन सक्छ । अनि खण्डित रुपमा कुनै–कुनै ठाउँमा ठूलो पानी पर्न सक्छ । त्यस्तो खालको वर्षाले क्षति पुर्याउन सक्ने भएकाले जतिबेला पनि सतर्क रहिरहनुपर्छ ।’
अर्का मौसमविद डा. विनोद पोखरेल यस वर्ष एलनिनोको अवस्था ‘डरलाग्दो’ देखिएको बताउँछन् । त्यसको प्रभावले दक्षिण एसियामा अनिकाल हुनसक्ने जोखिम रहेको उनको भनाइ छ । असारदेखि सुक्खा हुनसक्ने अनुमान गर्दै डा. पोखरेलले फेसबुकमा लेखेका छन्, ‘…आगामी ६ महिनाको सिजनल फरकास्ट हेर्दा त डरलाग्दो अवस्था देखिन्छ । एलनिनोले दक्षिण एसियामा नै अनिकाल लेराउनसक्छ ।’
विज्ञहरूका अनुसार वर्षाको अस्थिरता र अनिश्चितता जलवायु परिवर्तनसँग जोडिएको पनि हुन सक्छ । त्यसैले त्यसको एकिन गरी जलवायु अनुकूलन योजना बनाउनुपर्ने उनीहरु सुझाव दिन्छन् ।
मौसमविद मदन सिग्देल पछिल्ला मौसमी घटनाहरुले नेपालको मौसम प्रणाली थप अनिश्चित र संवेदनशील बन्दै गएको संकेत दिइरहेको बताउँछन् । कतिपयले यसलाई जलवायु परिवर्तनको असरको कारण मानेका छन् । तर सिग्देल भन्छन्, ‘सबैभन्दा पहिले जलवायु परिवर्तनको असर र प्रभाव यकिन गरी हाम्रा परम्परागत धारणा, योजना अध्यावधिक गर्दै त्यसै अनुसारका कार्यक्रम बनाउनुपर्ने हुन्छ ।’
प्रतिक्रिया 4