३ जेठ, रोल्पा । रोल्पामा रेड पाण्डा फेला परेको छ । जलजला क्षेत्रअन्तर्गत जेलबाङको जंगलमा विश्वमै दुर्लभ रेड पाण्डा (रातो हाब्रे) फेला परेको हो । रेडपाण्डा विश्वमै दुर्लभ वन्यजन्तु हो ।
पर्यटन व्यवसायी एवं फोटो पत्रकार बाल्कुराम पुनले जेलबाङको जङ्गलमा रेडपाण्डा खेलिरहेको तस्वीर कैद गरेका छन् । ‘मेरो र रेडपाण्डाको जम्काभेट भयो र मैले रेड पाण्डा खेल्दै गरेको फोटो र भिडियो खिच्न भ्याएँ’, उनले भने ।
शुक्रबार रेड पाण्डा जंगलमा देखिएपछि नजिक पुगेर अवलोकन गरेको उनले बताए । ‘यो क्षेत्रमा रेड पाण्डा छ भन्ने कुरा सुनेको थिए, मेरो र पाण्डाको करिब ३८ सेकेन्ड भेट भयो’, पुनले भने ।
रेड पाण्डा फेला परेको उक्त क्षेत्र समुद्री सतहदेखि करिब ३ हजार मिटर उचाइमा रहेको छ । रेड पाण्डा पाइएको ठाउँमा हिमाली बाँस र चुयाँ पाइन्छ भने रेड पाण्डाको मुख्य खाना बास र चुयाँ मानिन्छ ।
लुम्बिनी प्रदेशअन्तर्गतका रोल्पाको जलजलालगायतका क्षेत्रहरु रेड पाण्डाको बासस्थानका लागि उपयुक्त मानिन्छ । रोल्पामा पहिलोपटक २०७२ सालमा रेड पाण्डा फेला परेको थियो ।
रेड पाण्डा नेटवर्कले रोल्पाको जलजला क्षेत्र,गाम,जेलबाङ, थबाङ, उवा र रुकुम पूर्वका विभिन्न उच्च पहाडी क्षेत्रमा रेड पाण्डाको खोजी गर्दै आएको छ ।
रेड पाण्डाको संरक्षण र प्रवर्द्धनमा ध्यान दिन स्थानीयले सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया 4