Comments Add Comment

उत्तरी गोरखाका भूकम्पपीडित बस्तीमा प्रचण्ड

Prachanda_4

२२ वैशाख, गोरखा । नेकपा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले गत बर्षको भूकम्पको केन्द्रबिन्दू गोरखाको बारपाक लगायत उत्तरी गोरखाका विभिन्न गाविस भूकम्पपीडितको अवस्थाबारे जानकारी लिएका छन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार गोरखाको गुम्दा पुगेका दाहालले पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सुरुवात गरे । गुम्दा-८ की पीडित माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गरे ।

भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उहाँले अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताए ।

सांसदहरु हितराज पाण्डे र कृष्ण धिताल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुनःनिर्माण प्राधिकरणका प्रतिनिधिसहित भूकम्प प्रभावित विभिन्न गाविस पुगेका अध्यक्ष दाहालले अलग्गिएका सबै माओवादीलाई एकजुट गरी पार्टीलाई देशकै ठूलो शक्ति बनाउने दाबी गरे ।

गुम्दापछि भूकम्पले क्षतविक्षत बनेको अर्को गाविस लाप्राक पुगेर दाहालले खानेपानी अयाोजनाको शिलान्यास गरे ।

लाप्राकदेखि ६ किलोमिटर टाढा (गणेश हिमालको फेदी) बाट गुप्सीपाखामा खानेपानी ल्याउने योजना छ । गुप्सीपाखामा ६०० अस्थायी टहरामा भूकम्प पीडितहरु बस्दै आएका छन् । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ (एनआएनए) ले सघाउने यसअघि नै सम्झौता भइसकेको छ ।

लाप्राकपछि प्रचण्ड भूकम्पको केन्द्रबिन्दू बारपाक पुगे । त्यहाँ उनले सामुदायिक भवनको शिलान्यास गरे । भूकम्पपीडित स्थानीयवासीले दाहाललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

अध्यक्ष दाहाल आजै सौरपानी र मुच्चोक गाविसमा पुगेर भूकम्पपछिको पुनर्निर्माणका लागि स्थानीयलाई अनुदान सम्झौतापत्र हस्तान्तरण र पुनःनिर्माण अभियानको सुरुवात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment