Comments Add Comment

यी हुन् लुम्बिनीमा खुलेका लक्जरी होटल

२३ वैशाख, काठमाडौं । विश्वका शान्तिदूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा स्तरीय होटल खोल्ने होडबाजी चलिरहेको छ । लुम्विनी र भैरहवा क्षेत्रमा दर्जनौं पर्यटकस्तरीय होटल खुलिसकेका छन् ।

यहाँ सञ्चालित होटलमा स्वदेशी तथा विदेशी नागरिकको लगानी छ । खासगरी जापानी नागरिकहरुले लुम्विनीमा सुविधासम्पन्न होटलहरु खोलिरहेका छन् । लुम्विनीमा सबैभन्दा महंगा होटल जापानी लगानीकर्ताकै छन् ।

लुम्विनी र भैरहवामा बुद्धिष्ट पर्यटकलाई लक्षित गरेर होटल खोलिएको छ । यहाँ आउने पर्यटक पनि सबैभन्दा बढी बुद्धिष्ट नै हुने गर्छन् । एउटा लक्जरी होटलमा उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाहरु यहाँ सञ्चालित होटलहरुले दिइरहेका छन् ।

हामीले पर्यटकीय केन्द्र बन्दै गइरहेको लुम्विनी र भैरहवामा सञ्चालित केही लक्जरी होटलका बारेमा चर्चा गर्न गइरहेका छौं ।

१) होटल कासाई, लुम्विनी

Hotel kasai

यो लुम्विनी विकास कोषभित्र सञ्चालित होटल हो । शान्ति स्तुपाको छेउँमा रहेको यो होटल जापानी नागरिक नोवुओ कासाईले सञ्चालन गरेका हुन् । कोषको ४ विगाहा जग्गा ५० वर्षका लागि भाडामा लिएर होटल सञ्चालन गरिएको हो । यो होटल सन् २००९ को डिसेम्बरदेखि सञ्चालनमा आएको हो ।

यो होटल लुम्विनी भैरहवा क्षेत्रकै सबैभन्दा महंगो होटलमा पर्छ । यहाँ बस्नका लागि विदेशीले सिंगल बेडरुमको १२० अमेरिकी डलर र ट्याक्स तथा डबल बेडरुमको १५० डलर र ट्याक्स तिर्नुपर्छ । नेपाली र भारतीय नागरिकले भने ंसिंगल बेडरुमको ४७ सय र डबल बेडरुमको ६४ सय रुपैयाँ तिरे पुग्छ ।

होटल कासाईमा नेपाली र भारतीय पर्यटक धेरै नआउने महाप्रबन्धक दिनेश मानन्धरले अनलाइनखबरलाई जानकारी गराए । तुलनात्मक रुपमा महंगो भएको हुँदा नेपाली र भारतीय पर्यटकको रोजाईमा यो होटल पर्न नसकेको हो ।

यहाँ आउने पर्यटकहरु खासगरी जापानीज हुने गरेका छन् । त्यसको अलावा पश्चिमी मुलुकबाट पनि उत्तिकै आउने गर्छन् ।

होटलमा २ तले भवन छ । जहाँ ३० वटा कोठाहरु छन् । जसमध्ये दुईवटा स्वीट र बाँकी डिलक्स रुमहरु हुन् । होटलमा वेष्टर्न र जापानीज गरी २ वटा रेष्टुरेन्टहरु रहेका छन् । दुबै रेष्टुरेन्टमा चकटीमा बसेर खान पाइन्छ । जसलाई जासिकी स्टाइल भनिन्छ ।
होटलमा मुख्य खानाका रुपमा जापानीज हुन्छ । यसको साथै चाइनिज, नेपाली, इन्डियन लगायतका खानाहरु पनि रेष्टुरेन्टमा पाक्ने मानन्धरको भनाई छ ।

२) होटल बुद्धमाया गार्डेन, लुम्बिनी

Hotel buddha maya garden Bhairahawa

वरिष्ठ पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले लुम्विनीमा लक्जरी होटल सञ्चालन गरिरहेका छन् । बुद्धिष्ट पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको उनको होटल आठ विगाहा क्षेत्रफलमा फैलिएको छ ।

होटलमा चारवटा भवनमा ८५ वटा कोठाहरु रहेका छन् ।  सबै कोठाहरु डिलक्स रहेको शाक्यले अनलाइनखबरसँग बताए । बुद्धमायाँ लुम्बिनी र भैरहवा क्षेत्रकै सबैभन्दा ठूलो र स्तरीय होटल भएको उनको दाबी छ ।

होटल परिसरमा बुद्धकालिन रुखहरु रोपिएको छ । साथै, काठमाडौंको स्वयम्भूमा जस्तै पानीको पोखरी (पानी चैत्य) समेत बनाइएको छ । मायादेवी मन्दिर नजिकै रहेको रुखको हाँगा लिएर रोपिएको शाक्यले बताए ।

शाक्यले बुद्धिष्ट पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको बताए । उनका अनुसार बुद्धमायाँ होटलमा चाइनिज, जापानीज, कोरियन, थाइल्यान्ड, भियतनामी, श्रीलंकन पर्यटक बढी आउँछन् । साथै नेपाली, भारती र अन्य मुलुकका पर्यटक पनि यहाँ आउने गर्छन् ।

यो होटल सन् २००२ सालमा सञ्चालनमा आएको हो । होटलमा तेस्रो मुलुकका पर्यटकले प्रति कोठा ७५ देखि ८० अमेरिकी डलर तिर्नुपर्छ । भारतीय पर्यटकका लागि ६ हजार भारु र नेपाली पर्यटकका लागि ६ हजार नेपाली रुपैयाँ राखिएको छ ।

३) होटल होक्के, लुम्विनी

Hotel-hokke,

यो लुम्विनीको पुरानो र चर्चित होटल हो । लुम्बिनी परिसरभित्र रहेको यो होटल होक्के क्लव जापानले सन् १९९१ म्ाा सञ्चालनमा ल्याएको हो । लुम्विनी विकास कोषबाट ५० वर्षका लागि जग्गा भाडामा लिएर जापानीज क्लवले होटल खोलेको हो । होटल १६० बाई १६० मिटर क्षेत्रफलमा फैलिएको छ ।

होटलका रुमहरु जापानीज र वेष्टर्न स्टाइलमा छन् । सबै कोठाहरु सुपर डिलक्स हुन् । यहाँ बस्नका लागि सार्क मुलुकका पर्यटकले ५० देखि ६० अमेरिकी डलर, विदेशीले ९० देखि १०० डलर र नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्छ ।

जापानीजले खोलेको हुँदा यहाँ आउने पर्यटक बढी जापानीज नै हुने गर्छन् । यसको अलावा भारतीय, नेपाली र सार्क तथा अन्य मुलुकबाट पनि उत्तिकै आउने गर्छन् ।

४) होटल नान्स, भैरहवा

Hotel-nancs

भैरहवा लुम्विनी क्षेत्रमा सञ्चालित होटलमध्ये दुईवटाले मात्र थ्री स्टार स्तर लिएका छन् । जसमध्ये एउटा हो, होटल नान्स । भैरहवाको देवकोटा चोकमा रहेको होटल नान्समा ४० वटा कोठाहरु रहेका छन् । होटलका सबै कोठाहरु डिलक्स क्याटगोरीका रहेको सञ्चालक सिपी श्रेष्ठले बताए ।

सञ्चालक श्रेष्ठ सिद्धार्थ होटल एशोसियसन अफ नेपाल -सान)का अध्यक्षसमेत हुन् । उनको होटलमा मिनी क्यासिनो समेत सञ्चालनमा छ । क्यासिनो खेल्नका लागि सीमा क्षेत्रका भारतीयहरु आउने गरेको उनले जानकारी दिए ।

होटल नान्समा साउना बाथ, स्टिम बाथ, जीम हाउस, रेष्टुरेन्ट, कन्फ्रेन्स हल लगायतका सुविधाहरु छन् । नेपाली, भारतीय र बुद्धिष्ट पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएको यो होटलको मुख्य आकर्षण भनेको मिनी क्यासिनो हो ।

होटलमा विदेशीका लागि एउठा कोठाको ७० देखि ८० अमेरिकी डलर तोकिएको छ । भारतीय पर्यटकले यो होटलमा रात विताउन २५ सय भारतीय रुपैयाँ र नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्छ ।

५) बोधी रेड सन होटल, भैरहवा

Hotel-red-sun

यो होटल भैरहवा-नवलपरासी सडकको बसन्तपुरमा रहेको छ । यो पनि भैरहवा लुम्बिनी क्षेत्रको विलासी होटलमा पर्छ । यो होटलमा ३८ वटा कोठाहरु रहेको म्यानेजर अमृत खनालले जानकारी दिए । होटलका सबै कोठाहरु डिलक्स रहेको उनको दाबी छ ।

दुई विगाहा क्षेत्रफलमा फैलिएको यो होटल २०७१ कार्तिक १२ गतेदेखि सञ्चालनमा आएको हो । यो होटलमा प्रमोद यादव र बुद्धिराम यादवको २५ करोड रुपैयाँ लगानी छ ।

होटलमा स्वीमिङ पुल, साउना बाथ, ५० जना क्षमताको पुल साइड रेष्टुरेन्ट, कफी सप, बार लगायतका सुविधाहरु छन् । शहरी कोलाहलभन्दा बाहिर रहेको यो होटलमा शान्त वातावरण रहेको छ । होटलमा २ सय जना अटाउने कन्फ्रेन्स हल रहेको छ ।

यो होटलमा रात विताउनका लागि विदेशी पर्यटकले ८० अमेरिकी डलर, भारतीयले २५ सय भारु र नेपालीले ३ हजार रुपैयाँ तिर्नुपर्छ । सबै वर्गलाई टार्गेट गरिएको हुँदा होटलमा पाहुनाको अभाव नरहेको खनालको भनाई छ ।

६) होटल निर्भाणा, भैरहवा

Hotel-nirvana

होटल निर्भाणा भैरहवाकै पुरानो तीनतारे लक्जरी होटल हो । तर, अहिले होटलले तीनतारे लिएको छैन । होटलका सबै सेवाहरु तीनतारे स्तरका छन् । पक्लिहवा रोडमा रहेको यो होटलमा ४० वटा कोठाहरु छन् ।

होटलमा ३८ वटा डिलक्स र २ वटा स्वीट रुमहरु छन् । होटलमा विदेशी पर्यटकका लागि प्रतिकोठा ४० देखि ४५ अमेरिकी डलर छ । नेपाली र भारतीयका लागि एक्लै बसेमा २५ सय रुपैयाँ र दुईजना बसेमा ३५ सय रुपैयाँ तिर्नुपर्छ । यदि स्वीट रुममा बस्न चाहेमा नेपालीले ६५ सय रुपैयाँ तिर्नुपर्छ ।

होटल परिसरमा सुन्दर बगैंचा छ । दुई सय जना अटाउने सभा हल छ । अर्को सानो सभाहलको अहिले रेनोभेसन गर्ने काम भइरहेको छ । होटलमा ८ वटा सुपर डिलक्स रुमहरु थप्ने काम भइरहेको छ । त्यस्तै, स्वीमिङ पुल र जीम हाउस बनाइरहेको होटल व्यवस्थापनले जनाएको छ ।

होटलमा सबै कोठाहरु वातानुकुलित रहेका छन् । लुम्विनी भ्रमणमा आउने र भैरहवामा बिजनेशको शिलशिलामा आउने व्यक्तिहरु होटलका पाहुना हुन् । होटल निर्भाणा प्रकाशचन्द्र श्रेष्ठले सञ्चालनमा ल्याएका हुन् ।

७) होटल जाम्बाला, लुम्विनी

Hotel-zambala

यो होटल लुम्विनीको ४ नम्बर गेटको अगाडि रहेको छ । चाइनिज इँटाले बनेको तीन तले भवनमा ३० वटा रुमहरु छन् । होटल १ विगाहा क्षेत्रफलमा फैलिएको छ । जहाँ आकर्षक बगैंचा, कृषि फार्म लगायत छन् ।

होटलमा २० वटा कोठाहरु थपिँदै छन् । नयाँ भवन थपिएपछि होटलमा तीनवटा भवन पुग्नेछन् । होटलले कन्फ्रेरेन्स हल बनाउँदै छ ।

यो होटलमा बस्नका लागि विदेशीले ४५ डलर र नेपाली तथा भारतीयले ३० देखि ३५ डलर तिर्नुपर्छ । यो होटल परमेश्वर बानियाँले सञ्चालन गरेका हुन् । यस होटलमा नेपाली, भारतीय र विदेशी नागरिक आउने गर्छन् ।

८) होटल लुम्विनी गार्डेन न्यू क्रिष्टल, लुम्विनी

hotel-crystal

यो होटल लुम्विनीको मुख्य प्रवेशद्वारमा छ । सन् २००१ मा स्थापित यो लुम्विनीको लक्जरी होटल हो । यस होटलमा ७२ वटा कोठाहरु रहेका छन् । सबै कोठाहरु डिलक्स रहेको होटल सञ्चालक अजय स्थापितले जानकारी दिए ।

यो होटल ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । दुई तले बिल्डिङमा कोठाहरु बनाइएको छ । नेपाली र विदेशी दुबै पर्यटकलाई लक्षित गरिएको यो होटलमा स्वीमिङ पुल, जीम हाउस, कन्फ्ररेन्स हल, साउन बाथ, स्टिम बाथ, गार्डेन लगायतका सबै सुविधाहरु छन् ।

९) होटल यति, भैरहवा

Hotel yeti

यो भैरहवाको पुरानो होटल हो । देवकोटा चोकमा रहेको यो होटल राम थापाले २०४४ सालमा खोलेका हुन् । उनले होटललाई समयअनुसार अपग्रेड गर्दै आइरहेका छन् । यो होटल पहिला निकै चर्चित थियो ।

होटलको तीन तले भवनमा ३२ कोठाहरु रहेका छन् । होटलमा ७० जना क्षमताको रेष्टुरेन्ट छ । पर्यटकलाई सहज होस् भनेर होटलकै भवनमा आन्तरिक उडान भर्ने अधिकांश एयरलाइन्सको कार्यालय समेत छ ।

यो होटलमा बस्नका लागि कोठाको सेवा सुविधा हेरिकन भ्याट बाहेक ३५ सय, २५ सय, १८ सय रुपैयाँ तिर्नुपर्छ । यो होटल सुनौली नाकाबाट तीन किलोमिटरको दुरीमा पर्दछ ।

१०) होटल ड्रिमल्यान्ड गोल्ड रिसोर्ट, मणिग्राम

Dream Land Gold Resort

यो होटल तिलोत्तमा नगरपालिकाको मणिग्राममा छ । भैरहवा-बुटवल राजमार्गको मध्यविन्दूमा पर्ने यो होटलमा २५ वटा कोठाहरु छन् । सबै कोठाहरु डिलक्स वातानुकुलीत छन् । यो होटल स्थानिय गोपाल रानाले केही वर्षअघि सञ्चालनमा ल्याएका हुन् ।

रुपन्देही जिल्लामा स्वीमिङ पुलसहितको यो पहिलो होटल हो । शान्त वातावरणमा रहेको यो होटलमा खासगरी एनजिओ, आइएनजिओ, आन्तरिक तथा वाहृय पर्यटक आउने गर्छन् ।

आकर्षक देखिने यो होटलमा दुईवटा रेष्टुरेन्ट छन् । जहाँ पाहुनाहरुले आफ्नो रोजाई अनुसारको खानाहरुको स्वाद चाख्न पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment