आफू त यो समाजले व्याख्या गर्ने गरेको अराष्ट्रिय तत्व परियो । यो देशमा केही समय राष्ट्रवादका खुब चर्को हुरी चल्यो । आई लभ नेपाल लेखेको टिसर्ट लगाएर डीभी भर्ने लाइनमा लामवद्ध युवा जमात र एमाओवादी अध्यक्ष प्रचण्ड राष्ट्रवादको वकालत गर्ने भए । हामी चिलगाडीमा चढेर बिदेश जानुभन्दा यही देशको खोरिया खोस्रेर खानुपर्छ भन्नेहरु अराष्ट्रिय भनेर चिनियौँ ।
हामीले सधै देशको अर्थतन्त्रको बिकास र युवाहरुलाई स्वदेशमा नै केहि गर्ने अवसर नहुँदासम्म राष्ट्रवादको नगरा बजाएर अरुको विरोध गरिनुको कुनै अर्थ छैन भन्यौँ । त्यसोभन्दा हामीलाई विभिन्न आरोपहरु लगाइयो । तर, देश विकासका निम्ति एक मिनेट पनि नदिने तर, भाषणचाँहि राष्ट्र प्रेमका गर्ने नेताहरु एकाएक राष्ट्रबादी बने । उनीहरुको राष्ट्रवाद कस्तोखालको हो ? यो कच्चा दिमागले बुझ्न सकेन ।
मेरो बुझाइमा राष्ट्रवाद भनेको मान्छेको सिङ्गो हुलिया हो । उसले प्रयोग गर्ने वस्तुहरुको निर्माण कहाँ भएको हो, उसले उपभोग गर्ने हरेक बस्तु कहाँ बनेको हो र उसले चाल्ने कदम कसको इसारामा चालिएको हो भन्ने कुरा प्रमुख हो । तर, अहिले पसीना पुछ्ने रुमालदेखि कपालमा लगाउने जेलसम्म विदेशी प्रयोग गर्नेहरु राष्ट्रवादी बने । हामी राष्ट्रघाती भयौँ ।
यो समयले पनि गज्जब संयोग पारेको रहेछ । एकथरी युवाहरुको राष्ट्रबादी नकाब डिभि नामको हावाले उडायो । राष्ट्र हितका लागी कोहिसँग नझुक्ने महान कमरेडहरुको नकाब दिल्ली दरबारले उडायो । एकदिन अघिपछि मात्र भयो । यी दुवैको चरित्र नेपाली समाजमा उदाङ्गो भएको छ । साथीहरुको राष्ट्रवादी लगौटी डीभी र दिल्लीको हुरी उडाएर गम्छा बनाइदिएको छ । हिजोसम्म अरुलाई कुरी कुरी भन्नेहरुले आज ऐना हेरेका छन कि छैनन ? हेरेका भए आˆनो शारिरीक बनोट हेरेर मनमा के गम्दै हुन ? उनिहरुले अरुलाई लगाएका बिभिन्न प्रकारका आरोपहरु सम्झिएका होलान कि नाई ?
हिजोसम्म नेपाल राष्ट्रीयताको व्याख्या गरेर नथाक्ने मित्रहरु फेसबुकका भित्ताहरुमा डीभी परेको खुशियालीमा उत्सव मनाइरहेका थिए । तपाईहरु हेर्दै जानुस् ती मान्छेहरुले बिदेश पुगेको दिनदेखि नै देशलाई गाली गर्न थाल्नेछन् । त्यो बेला उनीहरुले आˆनै बर्षदिन अगाडिको फेसबुक खोलेर स्टाटसहरु देखेभने मात्र पनि लाजले पानी पानी हुनेछन् ।
एमाओवादीको स्थायी समिति बैठकले प्रचण्ड नेतृत्वको सरकार बनाउन गरेको निर्णय पश्चात प्रचण्ड कमरेड छ महिना अघि आफैले गरेको भाषण सुनेर भन्ने छन् -‘मने निश्चितरुपमा यो भाषण मैले गरेको होइन, कसैले कपी गरेछ ।’ यता राष्ट्रवादी पाइजामा लगाएर दिल्लीमा देउवासँग महरालाई पठाएर पदका लागि जी हजुरी गरिरहेका थिए । मिलाएर गर्छु भन्दाभन्दै पनि उनको राष्ट्रवादको पाइजामा दिल्लीले उडाएको पत्तो पाएनन् ।
तपाईहरुलाई पत्यार नलाग्न पनि सक्छ, लेखेर राख्नुस अब प्रचण्ड कमरेड प्रधानमन्त्री भए भने मोदीलाई नेपाल बोलाएर ठूलो सम्मान गर्नेछन् । मोदीलाई खुशी बनाउनकै लागि भए पनि दुईचार थान विषयमा सम्झौता हुन सक्छ । भूकम्प गएको वर्ष दिन बितिसक्दा पनि भूकम्पपीडिहरु पालमा जिन्दगी बिताइरहेका छन् । योप्रति नेपालका राजनीतिक दलहरु मौन छन् । नेपालमा एक वर्षमा थुप्रैपटक उच्चस्तरिय वार्ताहरु भए । तर, कहिल्यै पनि देश बिकासको एजेण्टाले बैठकमा प्रवेश नै पाएन ।
जति पनि दलका बैठकहरु भए, ती बैठकहरुमा कुन दलको भागमा के पर्ने भन्ने बिषयमा मात्रै छलफल भयो । वर्ष दिनअघि भत्किएको देश अवशेष बनेर ठिङ्ग उभिई मात्र रह्यो । तर, नेपालका राजनीतिक दलका नेताहरु पदीय भागवण्डामा व्यस्त भए । यो देशका राजनीतिक दलहरु यति धेरै बेईमान भए कि देशको यस्तो बिकराल अवस्थामा पनि सरकार गिराउने र बनाउने खेल सरकार बन्दाको दिनदेखि नै सुरु भयो ।
अहिलेसम्मका राजनीतिक दलहरु समस्याको हल गर्ने र ढलेका संरचनाहरु उठाउनेतिर भन्दा पनि त्यही संरचनालाई देखाएर राजनीति गरीखाने दिशातिर लागे । भत्केका संरचना बनाएर देशलाई पुरानै अवस्थामा फर्कार्उनेमा भन्दा पनि सरकारले केही गर्न सकेन भन्ने पारेर सरकार ढाल्ने खेल खेल्नतिर लागे । आफ्नो अनुकूल नहुँदा दिल्लीको हुर्मत काढ्ने र आफ्नो पक्षमा हुने बित्तिकै दिल्लीको भजन गाउने मण्डले चरित्रका कारण यो देशले यत्रो दुःख बेहोर्नु परेको छ ।
देशको यस्तो अवस्था हुँदा सरकार फेर बदलमा लाग्ने दलहरुको चरित्र देखेर हिजो प्रचण्डलाई राष्ट्रवादीको पगरी गुथाउने साथीहरुको वचन बसेको छ । जसरी डीभी परेपछि सामाजिक सञ्जालमा केही साथीहरुले देश नै बिर्सिएका छन् । त्यसो होइन भने प्रचण्डले किन रातारात प्रधानमन्त्री बन्ने घोषणा गरे आˆनो स्थायी कमिटीको बैठक बोलाएर कोहीसँग जवाफ छ ? किन देउवा र महरा दिल्ली पुगेर फर्किएपछि मात्र प्रचण्डमा प्रधानमन्त्री बन्ने भूत सवार भयो यसको जवाफ प्रचण्डसँग र एमाओवादीसँग छ ?
देशमा रहेका राजनीतिक दलहरु देश विकासमा लाग्नुको सट्टा सरकार फेर्ने खेलमा लाग्दा अन्तराष्ट्रिय समुदायमा देशको छवि कस्तो बन्छ ? त्यतातिर कसैले सोचेको छ ? सरकारमा गएर थप अर्को प्रधानमन्त्री बन्ने कुरा ठूलो कुरा हो कि भैरहेको प्रधानमन्त्रीलाई सहयोग गरेर राष्ट्रनिर्माणमा लाग्ने कुरा ठीक हुन्छ ? यत्ति पनि सोच्न नसक्ने मान्छेहरु कसरी नेता भए भन्ने प्रश्नले मलाई सधै सताइरहने छ । कुरा देश विकासको गर्ने तर देश बिकास गर्ने बेलामा सरकार परिवर्तको खेलमा लाग्नेहरु आफूलाई कसरी राष्ट्र नेताको दर्जामा राख्नेछन्, हेर्नुछ ।यस्तै खालको अपरिपक्व निर्णय नेपाली दलका नेताहरुले गरेका कारण आज हाम्रो देशको अवस्था यति कमजोर भएको छ । नेपालीहरुको सहनशीलतालाई मान्नैपर्छ, हामीलाई आजसम्म विभिन्न बाहनामा गुमराहमा पारिँदै आएको छ । हामी जसोजसो नेता उसै उसै स्वाहा गरिरहेका छौँ ।
यसरी नै हामी थपडी बजाउँदै जाने हो भने हामी बुख्याँचा सिवाय केही बन्नेवाला छैनौँ । त्यसैले हामी मान्छे बन्ने दिशातिर उन्मुख हुन जरुरी छ । होइन भने बाघको खोल ओडेर म्याउ गर्नेहरुको मनपरिका कारण हाम्रो देशको अवस्था झन विकराल बन्दै जानेछ । यो बेला सबै राजनीतिक दलको एउटा मात्र नारा हुनुपर्नेछ देश बनाउने, देशको यस्तो कमजोर अवस्थामा पनि सरकार गिराउने खेलमा लाग्नेहरु सामाजिक बहिष्कार गरौँ ।