Comments Add Comment

द गुर्खाज डटरका लेखक भन्छन्ः आफ्नै पुस्तकहरू जलाइदिउँ कि जस्तो लाग्छ

अहिलेसम्म यस्तो नेपाली भेटेको छैन, जसले फोन राख्ने बेलामा 'लभ यु' भनोस्

prajwalसिक्किमका प्रज्वल पराजुली नेपाली भाषी परिवारमा हुर्किए । उनले अमेरिकामा स्नातक तहसम्मको अध्यन गरेर बेलायतको प्रख्यात अक्सर्फड विश्व विद्यालयबाट स्नातकोत्तर गरे । पराजुली अन्तराष्ट्रिय ख्याति प्राप्त किताब द गुर्खाज डटरका लेखक हुन् ।

पराजुलीको दोस्रो किताब ‘द ल्याण्ड हृवेर आइ फ्ली’ पनि अन्तराष्ट्रिय पाठकहरू माझ लोक प्रिय रहृयो । दुबै पुस्तकको नेपाली भाषी परिवारका कथाहरूमा केन्द्रित छन् । पराजुलीले हालै काठमाडौँ आएका बेला अनलाइनखबरसँग कुराकानी गरेका थिए ।

के तपाईँलाई आफ्नो पहिलो काठमाडौँ भ्रमणबारे याद छ ?

त्यो धेरै धेरै लामो समय अघिको कुरो हो । म गान्तोकमा हुर्किएँ । गान्तोक एउटा एकदमै सानो सहर हो । त्यसैले काठमाडौँ हाम्रा लागि सबै भन्दा नजिकैको ठूलो सहर थियो जहाँ हामी निर्धक्क घुम्न सक्थ्यौँ  ।

हामीलाई यहाँ आउँदा आफ्नो पाकेट कसैले मारिदेला भन्ने चिन्ता हुँदैन । हाम्रा अघिल्ला पुस्ताका मानिसहरू भन्ने गर्थे भारतका ठूला सहरहरूमा ठगहरू हुन्छन् जो पहाडको मानिस देख्नासाथ उनीहरूलाई लुट्न उद्दत हुन्छन् ।

त्यसैले काठमाडौँ हाम्रा लागि सुरक्षित सहर थियो । मलाई याद छ ०४४ तिरको जाडो बिदामा म काठमाडौँ पहिलोपटक आएको थिएँ । म तीन वर्षको थिएँ होला ।

काठमाडौँको विशाल बजारमा मैले आफै चल्ने भर्‍याङ पहिलोपटक चढेको थिएँ । त्यसबेलाको भ्रमणको हाइलाइट नै यही थियो । अनि मलाई काठमाडौँका  मानिसले वाइ वाइलाई चाउचाउ भनेको सुनेर अचम्म लागेको थियो !

तपाईँले भन्नुभयो काठमाडौँमा तपाईँहरू आफूलाई सुरक्षित महसुस गर्नुहुन्थ्यो । के यो भाषाका कारण पनि हो ?

मलाई लाग्छ, भाषा र संस्कृतिमा समानता भएको कारण होला । हेर्नुस, यदि म अमेरिकाको म्यसाच्युसेट्समा भएका बेला कोही नेपाली भाषीलाई भेटेँ भने निकै उत्साहित हुन्छु । यदि कोही हिन्दी भाषीलाई भेटें भने सायदै त्यति उत्साहित हौंला ।

prajwalयसो हुनुमा म हामीलाई हाम्रा ठूलाबडाले भन्ने गरेको कुरालाई पनि दोष दिन्छु । सबैले भन्थे कि पहाडका मानिसहरू सोझा हुन्छन् , उनीहरू कसैलाई ठग्न सक्दैनन् । तर, समथर भूभागका मानिसहरूबारे यसो भन्न सकिन्न ।

हामीले भर्खरै भाषाले कसरी मानिसहरूलाई नजिक्याउँछ भन्ने बारे कुरा गर्यौँ । भाषाकै कुरा गर्दा तपाईँले भन्ने गर्नुभएको छ नि, तपाईँको दोश्रो पुस्तक ‘द ल्याण्ड हृवेर आइ ˆली’ तपाईँले नेपाली भाषाका लागि लेखेको प्रेम पत्र हो । कसरी ?

म हाम्रो पुस्ताका धेरै मानिसहरू जस्तै नेपाली भाषामा कमै मात्र दख्खल राख्दछु । दुर्भाग्यवस नेपालीमा भन्दा अंग्रेजीमा आफूलाई राम्रोसँग व्यक्त गर्न सक्छु । हालै  मैले आफ्नो पहिलो किताब ‘द गुर्खाज डटर’ को पहिलो कथा द क्लेफ्टको अनुवाद गर्ने प्रयास गरेको थिएँ तर म अनपेक्षित तरिकाले असफल भएँ ।

अनि तपाईँका बुबाआमाले अनुवाद गरिदिनुभयो ?

जब म आफ्नै कथाको अनुवाद गर्ने प्रयास गर्दै थिएँ, म छिनछिनमा घरमा फोन गरेर यो शब्दलाई नेपालीमा के भन्छ भनेर सोध्दै थिएँ । शुरु शुरुमा त रमाइलो भयो । तर, पछि साह्रै गाह्रो लाग्यो । मैले अनुवाद त गरेँ । तर, कसैलाई देखाउने आँट गरिनँ !

ख्याल ख्यालमै मैले मेरा बुबाआमालाई उसोभए हजूरहरूले नै गरिदिनुस् न त भनरे भनेँ । शुरूमा त उहाँहरु त्यति उत्साहित हुनुहुन्न थियो । तर, समय बित्दै जाँदा उहाँहरूले त्यसमा रुचि देखाउनुभयो । केही हप्तापछि त उहाँहरु यसैमा तल्लीन हुनभयो !

the-gurkhas-daughter-in-nepaliम नेपालीमा राम्रो लेख्न जान्दिनँ । त्यसैले त्यसको सट्टामा मैले सक्ने भनेको नेपाली भाषाका बारेमा अंग्रेजीमा लेख्नु हो । मलाई लाग्छ, नेपाली भाषा निकै नै सुन्दर छ ।

तर, हामी नेपाली भाषीहरूले आफ्नो भाषाको महिमा बुझेका छैनौँ । मलाई त विशेष गरी नेपाली भाषाका गाली गलौजहरूले निकै सन्तुष्टि दिन्छन् । त्यसैले मैले मेरो दोश्रो पुस्तकमा नेपाली गालीहरूको ब्याक प्रयोग गरेको छु ।

तपाईँको प्रश्नको उत्तर दिन म के भन्छु भने नेपाली भाषा महान छ, तर यसलाई बु्झ्ने कम मानिस मात्र छन्, मेरो किताबको माध्यमबाट म नेपाली भाषालाई संसार माझ चिनाउन चाहन्छु । यस अर्थमा यो पुस्तक नेपाली भाषाका लागि लेखिएको प्रेम पत्र हो ।

तपाईँका किताबहरूमा तपाईँ सिक्किम र त्यसको वरिपरिका हिमालहरूको वर्णन बिरलै पाइन्छ । के यो तपाईँबाट सोच विचार गरेर तय गरिएको शैली हो ?

हो, त्यो मेरो लेख्ने शैली हो । म यस्ता लेखकहरूलाई पनि चिन्दछु, जसले ऊ त्यो भँगेराको चुच्चोको बखान गर्दै ४/५ पृष्ठ भर्न सक्छन् । उनीहरूको लेखाइमा खोट लगाउने कुनै ठाउँ छैन । तर, म उनीहरूजस्तो बन्न चाहन्न । यदि कसैले १/२ वटा वाक्य स्वाद लिएर पढ्छन् भने पढून् तर पाठकहरूले पाना पनि त पल्टाउनु पर्‍यो नि !

मैले यस्ता कथाकारहरूको कृति पनि पढेको छु, जसले अाफ्नो उपन्यास जुन ठाउँबाट शुरु गर्छन् त्यहीँ सकि पनि दिन्छन् । तर, म आफ्नो कथाका माध्यमबाट विभिन्न ठाउँमा चहार्न चाहन्छु । यति भनिरहँदा, मैले मेरो दोस्रो पुस्तकमा प्रकृतिको हल्का वर्णन भने गरेको छु । तर, त्यो नगरेको भए पनि मलाई खासै फरक पर्दैन थियो होला ।

अरू दक्षिण एशियालीहरूको तुलनामा नेपालीहरू कम रोम्यान्टिक अथवा कम बलिउडी अवश्य नै हुन्

हिमालयको काखमा हुर्किएका लेखकहरूमा के हुँदोरहेछ भने हामी संसारलाई हाम्रा हिमाल कत्तिको सुन्दर छन् भनेर हरदम सुनाउन चाहन्छौँ । मलाई याद छ मैले एउटा कथा लेख्दै गर्दा मलाई हिमालयको सौन्दर्यको वर्णन गर्न खुब मन लाग्यो । तर, अर्को मनले आफैलाई सोधेँ, के मैले पर्यटकहरूका लागि ब्रोस्योर त लेख्दै छैन ! म त्यो भुँमरीमा फस्न चाहन्नँ ।

तपाईँले आफ्ना किताबहरूमा नेपाली भाषी परिवारका सदस्यहरूको सम्बन्धहरूका बारेमा विस्तृत व्याख्या गर्नुभएको छ । नेपालीहरू आफ्नो माया-प्रेम व्यक्त गर्न नसक्ने जाति हुन् भन्छन् नि ? तपाईँलाई कस्तो लाग्छ ?

मलाई लाग्छ, नेपालीहरू आफूलाई त्यति व्यक्त गर्न सक्ने जाति होइनन् । हिजो मात्रै एकजना पत्रकारले अन्तरवार्ताको क्रममा मलाई सोधिन्, ‘प्रेमको परिभाषा के हो ?’ म त अक्क न बक्क परेँ ।

मैले अहिलेसम्म यस्तो नेपाली भेटेको छैन, जसले फोन राख्ने बेलामा अङ्ग्रेजी भाषीहरू जस्तो ‘लभ यु’ भनेर भनोस् । मलाई लाग्छ, भाषा मानिसको आवश्यकता अनुसार विकास हुने चिज हो । मलाई यो पनि लाग्छ कि अरू दक्षिण एशियालीहरूको तुलनामा नेपालीहरू कम रोम्यान्टिक अथवा कम बलिउडी अवश्य नै हुन् ।

मैले अहिलेसम्म यस्तो नेपाली जोडी देखेको छैन, जसले सिक्किमको झरनाको अगाडि बसेर एक अर्कालाई अंकमाल गर्दै फोटो खिचाएको होस् । तर, यो त हरेक दोस्रो बङ्गाली जोडीले गर्ने काम हो !

तपाईँलाई लाग्दैन नेपालीहरूसँग यी विषयमा सोच्ने फुर्सद नै हुँदैन ?

हो, मैले त्यही नै भन्न लागेको थिएँ । हाम्रो जातिका लागि सयौँ वर्षसम्म थुप्रै चिन्ताका विषयहरू थिए । भारतमा त हामीले बाँच्नका लागि नै ठूलो संघर्ष गर्नुपर्यो । मेरो अनुमानमा यसै कारण नै आफ्नो परिवारजनलाई कति माया गर्छौँ भनेर भनी राख्न हाम्रो प्राथमिकतामा परेन ।

नेपाली भाषी भारतीयहरु अहिलेको अवस्थामा आफूलाई नेपालबाट टाढै रहेको देखाउन चाहन्छन् । यदि नेपाल धनी र शक्तिशाली भएको भए भिन्न अवस्था हुन्थ्यो होला

तर, मलाई लाग्छ, नेपालीहरू आफ्नो परिवारमा आफूलाई सुरक्षित महसुस गर्छन् । तपाईँ आफ्ना बुबा-आमाको संसार नै हुनुहुन्छ, उहाँहरु तपाईँकै लागि बाँच्नुहुन्छ । मेरो विचारमा यसका कति नराम्रा पाटाहरू पनि होलान् । तर, यो नै यथार्थ हो ।

म एउटा उदाहरण दिन्छु, मेरो आफ्नै किताबबाट । मेरो दोस्रो पुस्तकका एक पात्र रुत्व जब गान्तोक छोडेर जाँदैछ, उसले आफ्नी दिदी भगवतीलाई उनी कति राम्री छिन् भनेर भन्छ । जहाँसम्म मलाई याद छ, उसले आफ्नी दिदीसँग अङ्कमाल पनि गर्छ । उनीहरूका बीच एक प्रकारको प्रेम देख्न सकिन्छ ।  रुत्व धेरै वर्ष विदेशमा बसेका कारण पनि यस्तो भएको हुन सक्छ ।

कतिपयले रुत्व नै प्रज्वल पराजुली हो भन्छन् नि ?

म रुत्वमा आफूलाई पूर्ण रुपमा देख्दिनँ । तर, मैले भन्ने गरेको छु, प्रज्वल पराजुली नराम्रो भएको भए रुत्व बन्थ्यो होला । रुत्वले भन्ने धेरै कुराहरू सायद म पनि भन्छु होला । रुत्वको विकास गर्दै जाँदा मैले आफूमा भएको नकारात्मक इनर्जीलाई एकीकृत गरेको चाहिँ अवश्य हो ।

जब मैले मेरो दोस्रो किताबका लागि प्रकाशकसँग सम्झौता गरेँ, मनमा अनौठा कुरा खेल्न थाले । मिडियाले मलाई अर्को गान्धी वा विवेकानन्द भनेर नामाकरण गर्दै थियो । र, मैले सोचेँ यदि यो सबै चिज भत्कियो भने के होला ? यदि मेरो दोस्रो किताब मानिसहरूले मन पराएनन् भने के होला ?

म बिहान ४/५ बजेसम्म लेख्दै थिएँ तब रुत्वका बारेमा मैले सोचेँ । रुत्व पनि एक लेखक हो, जो आफ्नो करियरलाई पुनः उचाइमा पुर्‍याउन चाहन्छ ।

तपाईँले आफ्नो एक अन्तरवार्तामा भन्नुभएको छ कि रुत्वले भनेको एउटा लाइन सम्पादकले हटाइदिए । के भनेका थिए उनले खासमा ?

रुत्वले एक ठाउँमा भन्छ कि तपाईँ कुनै पनि किताब लेख्नुस् । तर, शीर्षकमा ‘गुर्खा’ भन्ने शब्द घुसाइदिनुस् । अनि हेर्नुहोस् पश्चिमा पाठकहरू माझ त्यो कति छिटो लोकप्रिय हुन्छ !

मेरो दोस्रो पुस्तकको सम्पादन भइरहेका बेलासम्म मेरो पहिलो पुस्तकको (गुर्खाज डटरको) पेपरब्याक संस्करण प्रकाशित भइसकेको थिएन । रुत्वको भनाइ पढेर मेरा सम्पादकले ठट्टाको पनि हद हुन्छ नि भने !

मेरो पहिलो पुस्तकको शीर्षक छान्ने मानिसलाई म मान्दछु । नेपालमा होस् वा भारतमा होस, यस क्षेत्रमा पर्यटकहरू आइरहने छन् र मेरो किताब किनेर पढिरहने छन् । हालै म पोखराको एउटा कफी पसलमा बस्दै थिएँ, त्यहाँ मैले तीन जनाले मेरो किताब पढिरहेको देखेँ ।

prajwal2तपाईँको पुस्तक र त्यसका पात्रहरूको यति धेरै सुक्षम विश्लेषण हुँदा तपाईँलाई कस्तो लाग्छ ?

राम्रो लाग्छ । किताब लेखेको यत्रो वर्ष बितिसक्दा पनि यसको चर्चा अझै सेलाएको छैन । तर, कहिलेकाही मेरा पुस्तकहरूका बारेमा यति धेरै लेखिसकिएको छ कि अब त मलाई आफ्नै पुस्तकहरू जलाइदिउँ कि जस्तो लाग्छ ।

तपाईँका पुराना किताबहरुको चर्चालाई कम गर्ने सबै भन्दा उत्तम उपाय भनेको त नयाँ किताब लेख्नु होइन र ?

भन्नलाई सजिलो, गर्नलाई गाह्रो ।

त्यसमा काम गर्दै हुनुहुन्छ ?

विस्तारै हुँदैछ । ५/१० वर्ष भित्र आउला । मैले अहिले डिल साइन गरिसकेको छैन । म यति मात्रै भन्न सक्छु कि यो किताब फरक हुनेछ ।

अब प्रसङ्ग बदलौँ । तपाईँ त संसारभर घुम्नुहुन्छ, पश्चिमा देशहरूमा नेपाली भाषीलाई कसरी हेरिन्छ ?
हेर्नस्, मैले धेरै मानिसले, चाहे त्यो न्यू योर्कमा होस् वा मुम्बईमा, नेपालीहरूलाई ‘बफादार’ भनेर भन्छन् । मलाई त्यो पटक्कै मन पर्दैन । बफादार त कुकुर पो हुन्छ त !

विगत केही वर्षहरूमा पश्चिमा देशहरूमा नेपाली भाषीको संख्या हृवात्तै बढेको छ । अमेरिकाको डीभी र भुटानी शरणार्थीको पुनर्वासका कारण । अमेरिकामा मात्रै १ लाख भुटानी पुग्न लागिसके । त्यसै गरी बेलायात जहाँ नेपालीहरूप्रति ठूलो स्नेह छ, त्यहाँ निवृत्त गुर्खाहरूको ठूलो जमात नै छ ।  नेपालीहरू जहाँ जान्छन्, त्यहाँका मानिसहरू उनीहरूलाई मन पराउँछन् ।

विगत २० वर्षमा नेपालमा यति नराम्रा घटना भएका छन् कि नेपाली भाषी भारतीयहरू आफू र नेपालबीच विस्तारै भावनात्मक पर्खाल बनाउँदैछन् । नेपालमा हरेक दिन केही न केही भइरहेको हुन्छ र हरेक विषयलाई लिएर हामी चिन्तित हुन चाहदैनौँ

हामीलाई मन नपराउने कारण म देख्दिनँ । हामी सरल मानिस हौँ, जबसम्म हामीले रक्सीका केही गिलास सक्दैनौँ । मेरा एकजना मित्र भन्छन् नेपालीहरूको जीवनको मूल उद्देश्यलाई एउटै शब्दमा भन्न सकिन्छ र त्यो हो ‘रमाइलो’ । हामीले जे गरे पनि त्यो रमाइलो हुनुपर्छ !

तपाई नेपाली भाषी भारतीय नागरिक भएकाले नेपाल र भारतवीचको सम्बन्धमा आउने उतार-चढावले तपाईँलाई कस्तो असर गर्छ ?

नेपालमा भूकम्प गएका बेला हामी सिक्किम र दार्जीलिङवासीहरू निकै मर्माहत भयौँ । तपाईँहरुको सुख-दुःखले हामीलाई पनि असर गर्छ ।

विगत २० वर्षमा नेपालमा यति नराम्रा घटना भएका छन् कि नेपाली भाषी भारतीयहरू आफू र नेपालबीच विस्तारै भावनात्मक पर्खाल बनाउँदैछन् । नेपालमा हरेक दिन केही न केही भइरहेको हुन्छ र हरेक विषयलाई लिएर हामी चिन्तित हुन चाहदैनौँ ।

मलाई नाकाबन्दीका बारेमा त्यति थाहा छैन । तर, नेपाली भाषी भारतीयहरु अहिलेको अवस्थामा आफूलाई नेपालबाट टाढै रहेको देखाउन चाहन्छन् । यदि नेपाल धनी र शक्तिशाली भएको भए भिन्न अवस्था हुन्थ्यो होला । तर, नेपाली भाषी भारतीयका पनि आफ्नै समस्याहरु छन् । उदाहरणका लागि गोर्खाल्याण्ड नै छ ।

तर पनि मे के भन्छु भने हाम्राबीचको समानताले हामीलाई सधैँ एकतावद्ध गरिरहने छ ।

अनलाइनखबरको अंग्रेजी संस्करणबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment