+
+
जावलाखेल कल सेन्टरको दुबई कनेक्सन :

चिनियाँ गिरोहको निशानामा दुबई पुगेका नेपाली

नारायण अधिकारी नारायण अधिकारी
२०८१ कात्तिक २९ गते २०:१८

२९ कात्तिक, काठमाडौं। भिजिट भिसामा दुबई गएका नेपालीहरू चिनियाँ गिरोहको टार्गेटमा पर्ने गरेका खुलेको छ । भिजिट भिसामा दुबई गएका नेपालीहरूलाई लक्षित गरेर चिनियाँ गिरोहले अवैध धन्दा सञ्चालन गरेको जावलाखेलको एक कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।

सीआईबीले २६ भदौको राति जावलाखेलमा चिनियाँले सञ्चालन गरेको एक अवैध कल सेन्टरमा छापा मार्दै ५० जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानबाट यहाँको कल सेन्टरको दुबई कनेक्सन देखिएको छ ।

‘भिजिट भिसामा दुबई गएर कामको खोजीमा रहेका नेपालीहरूलाई लक्षित गरेर चिनियाँ गिरोहले अवैध धन्दामा लगाउने गरेका हाम्रो अनुसन्धानले देखाएको छ’ सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले भने ।

कल सेन्टरबाट प्रहरीले १९४ थान मोबाइल, ५५ थान कम्युटर, ४ थान ल्यापटप बरामद गरेको थियो । ती उपकरणहरूको सहायतामा अनुसन्धान गर्दा करिब अर्बको हाराहारीमा अवैध क्रिप्टो करेन्सीको कारोबार भेटिएको छ ।

सीआईबीले कल सेन्टरबाट चिनियाँ नागरिक डिङ जिहोङ, लिन क्वीनजिङ, फिलिपिन्सकी महिला हानिपा सिन्सुएतसहित ४७ नेपालीलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका मध्ये दुई जना चिनियाँ कल सेन्टर सञ्चालक र एक फिलिपिनो महिला भाषा अनुवादक एवं सहयोगी हुन् । उनीहरूलाई प्रहरीले दुई महिना हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

सीआईबीले अनुसन्धान प्रतिवेदन बुझाएलगत्तै जिल्ला सरकारी वकिल कार्यालयले ३६ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ । सुरुमा उनीहरूविरुद्ध मुलुकी अपराधसंहिताको दफा २६२ अनुसार अभौतिक मुद्राको प्रयोग गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिएको थियो ।

तर संगठित रूपमा दुबईदेखि नेपालसम्म सञ्जाल फैलाएर आर्थिक अपराधको धन्दा चलाएको भन्दै उनीहरूविरुद्ध संगठित कसुर समेत आकर्षित गरेर मुद्दा दायर गरिएको छ ।

उनीहरूले चिनियाँ गिरोहको योजनामा अन्तरदेशीय सञ्जाल बनाएर संगठित रूपमा अवैध क्रिप्टोकरेन्सीको कारोबार गरेको सीआईबीको निष्कर्ष छ । यही धन्दा दुबईमा चलाएकाले उनीहरू सबैलाई दुबई प्रहरीले पक्राउ गरेर डिपोर्ट गरेको थियो । दुबईबाट डिपोर्ट भएपछि उनीहरूले त्यही धन्दालाई चिनियाँको योजनामा जावलाखेलमा सञ्चालन गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।

उक्त गिरोहले जावलाखेलस्थित जगदीश उपाध्यायको घर मासिक ३ लाख भाडामा लिई काम सुरु गरेका थिए । क्रिप्टोका साथै कल सेन्टरबाट हिंगी, बुम्बल, मुस्लिमा, इनसाहा, सलामा, मुज, अकुपिड, अलखत्ताबा लगायतका डेटिङ एपहरूमा महिलाको प्रोफाइल फोटो राखी युरोप, अमेरिका लगायत देशका पुरुषहरूलाई साथी बनाएर ‘अनलाइन फ्रड’ गरेको पाइएको सीआईबीको निष्कर्ष छ ।

पक्राउ परेका ५० मध्ये ४२ लाई हाजिरी जमानीमा छाडेर ८ जनालाई मात्रै हिरासतमा लिएर सीआईबीले सुरुवाती अनुसन्धान गरेको थियो । तर अनुसन्धानको क्रममा अन्यको पनि भूमिका देखिएपछि उनीहरूलाई पनि हिरासतमा लिएर अनुसन्धान अगाडि बढाइएको थियो ।

अनुसन्धानका क्रममा चिनियाँको कल सेन्टरबाट पक्राउ परेर अहिले मुद्दा चलाइएका ३३ नेपालीहरू नै भिजिट भिसामा दुबई गएको खुलेको छ । काम खोज्दै उनीहरू चिनियाँ गिरोहको सम्पर्कमा पुगेको भेटिएको छ ।

नेपालीलाई चिनियाँ गिरोहमा जोड्ने मुख्य व्यक्ति रौतहटका कमल कँडेल रहेको र उनी सन् २०१८ मा भिजिट भिसामा दुबई गएका प्रहरीले जानकारी दिएको छ । एक स्टोरमा २ वर्षसम्म काम गरेका उनी २०२३ को अगस्टमा राम्रो कामको खोजीमा चिनियाँ गिरोहको सम्पर्कमा पुगेका छन् ।

‘मलाई चिनियाँ कम्पनीमा जागिर खान भनेर लगियो । सुरुमा स्क्रिप्ट पढ्ने र टाइप गर्न लगाए, पछि क्रिप्टोको धन्दामा काम लगाए,’ कँडेलले सीआईबीको बयानमा भनेका छन् । तर पछि उनै कँडेलले नेपाली टोलीको नेतृत्व गरेका थिए ।

‘उनैले नेपालीहरूलाई चिनियाँसँग जोड्ने काम समेत गरेछन्, उक्त अवैध धन्दा दुबई प्रहरीले थाहा पाएपछि चिनियाँसँगै उनीहरूलाई पनि डिपोर्ट गरेको भेटियो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए ।

त्यसपछि त्यही दुबईको धन्दा जावलाखेलमा सुरु गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

मुद्दा चलाइएका अर्का व्यक्ति इलामका सन्दिप आचार्य पनि भिजिट भिसामा दुबई गएर चिनियाँ गिरोहको सम्पर्कमा थिए । आचार्यका अनुसार चिनियाँ गिरोहको कम्पनीमा काम गरेका १०० नेपालीलाई एकैपटक मे २०२४ मा दुबईले नेपाल डिपोर्ट गरेको थियो ।

झापाका विजयबहादुर गिरी पनि भिजिट भिसामै दुबई पुगेका थिए । दुबईमा पुगेर उनी चिनियाँको अवैधमा धन्दामा ५ महिनासम्म काम गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ५ महिना काम गरेपछि नेपाली एजेन्ट कमल कँडेलले ८ नेपालीको टोली नेतृत्व गिरीलाई दिएका थिए । दुई महिना काम गरेपछि गिरीलाई दुबई प्रहरीले पक्राउ गरेर १३ मे २०२४ मा नेपाल डिपोर्ट गरेको थियो ।

मुद्दा चलाइएका सबै नेपाली दुबईमै चिनियाँको आपराधिक नेक्ससमा जोडिएको पाइएकाले अन्य नेपालीहरू पनि यस्तै गिरोहका सञ्जालमा परेका हुनसक्ने आशंका प्रहरीको छ ।

कसरी हुन्थ्यो क्रिप्टोको अवैध धन्दा ?

नेपालीहरूलाई सुरुमा टाइपिङ र स्क्रिप्टको काम भनेर लगाए पनि बिस्तारै अवैध क्रिप्टोको धन्दामा लगाउने गरेको खुलेको छ । चिनियाँ गिरोहले विशेषगरी युरोप, अमेरिका, क्यानडा, बेलायत लगायतका देशमा रहेका नागरिकलाई क्रिप्टोमा लगानी गराउने उद्देश्यले केटी बनेर विभिन्न डेटिङ एप तथा ह्वाट्एपमा कुराकानी गर्न लगाउँथ्यो ।

लक्षित मानिसहरू कुराकानी गर्न इच्छुक भएपछि चिनियाँ गिरोहले आफैं कुराकानी गरी क्रिप्टोमा लगानी गर्न लगाएर स्क्यामिङ गर्ने गरेको एसपी बोगटी बताउँछन् ।

त्यसका लागि चिनियाँले लोकेशन बदलेर बेलायत, क्यानडा, अमेरिका जस्ता सम्पन्न देशमा रहेको देखाएर हिङ, बुम्बेल, सलामजस्ता एपहरू बनाएर विदेशीहरूसँग कुराकानी गर्ने गरेका थिए ।

बेलायत, अमेरिका, क्यानडा जस्ता देशका ह्वाट्स एप नम्बरहरूबाट कुराकानी अगाडि बढाएर क्रिप्टोमा लगानी गर्न लगाउने र कारोबारको स्क्रिन सर्ट समेत चिनियाँ गिरोहले पठाउँथ्यो ।

कमाउन दुबई गएका नेपालीविरुद्ध करोडका मुद्दा

भिजिट भिसामा दुबई गएर कमाउन खोज्ने नेपाली चिनियाँको आपराधिक सञ्जालमा जोडिएपछि दुबईबाट डिपोर्ट मात्रै भएका छैनन्, करोड–करोडका मुद्दा खेप्नुपर्ने अवस्थामा पुगेका छन् ।

दुई चिनियाँ तथा एक फिलिपिनो महिलाविरुद्ध जनही १० करोड ३४ लाख ९३ हजार ५४९ रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । बाँकी ३३ नेपालीविरुद्ध पनि लाखदेखि करोडसम्मको बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।

नेपाली युवा कमल कडँलेसँग ९२ लाख ११ हजार ३९६ रूपैयाँ, सन्दीप आचार्यलाई ४ करोड ४६ लाख ३० हजार ३९२ रूपैयाँ, विजयबहादुर गिरीको हकमा ५५ लाख ४५ हजार १३३ रूपैयाँ बिगो मागादाबी गरिएको छ । अरु नेपालीहरूलाई पनि उल्लेख्य मात्रामा बिगो मागदाबी गरिएको छ ।

उनीहरूको मुद्दा ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङयाको इजलासमा सुनुवाई भइरहेको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?