Comments Add Comment

शेरबहादुर देउवा किन असफल भए ? यी हुन् ५ कारण

'बाबु साहेव' देउवा, 'चतुर खेलाडी' ओली

sher-bahadur-deuba

२५ वैशाख, काठमाडौं (समाचार टिप्पणी) । केपी ओली नेतृत्वको सरकार हटाउने प्रयास असफल भएपछि नेपाली कांग्रेसमा यसको आन्तरिक समीक्षा सुरु भएको छ ।

पार्टी सभापति र संसदीय दलको नेताको चुनाव जितेपछि भएको देउवामय माहोलमा यो असफलताले नेपाली कांग्रेसलाई एउटा गतिलैै धक्का दिएको छ ।  कांग्रेसले पाएको यो हारपछि रामचन्द्र पौडेल पक्षले पार्टी सभापति शेरबहादुर देउवा एकलौटीरुपमा अघि बढ्न खोजेको र कच्चा खेल खेलेको टिप्पणी गरेका छन् ।

देउवा समूहका नेताहरुले प्रचण्डले धोका दिएको आरोप लगाएका छन् । तर, आन्तरिकरुपमा भने कांग्रेसमा प्रचण्डलाई विश्वासमा लिन नसक्नुमा भएका कमजोरीको खोजी सुरु भएको छ । र, त्यहाँ भएको समीक्षा र छलफललाई हेर्दा देउवा असफलताका पाँच कारण देखिएका छन् ।

१. बाबु साहेव देउवा र चतुर ओली

केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र नयाँ सरकार बनाउन देउवा अघि सरे पनि उनी आफैंमा निणर्ायक थिएनन् । एकीकृत नेकपा माओवादी र उसका अध्यक्ष प्रचण्ड मुख्य पात्र थिए ।

प्रचण्डलाई आफ्नो बनाउने दौडमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली थिए । अन्ततः देउवालाई ओलीले हराए । अर्थात प्रचण्डलाई देउवाले विश्वासमा लिन सकेनन् ।

देउवाको शैली बाबु साहेबको जस्तो छ । उनको आफ्नै शैली छ । उनी छोटो बोल्छन् । र, हुन्छ भने हुन्छ, हुन्न भने हुन्न भन्दै सिधा विषयवस्तुमा प्रवेश गर्छन् । ठीक विपरीत छन् केपी शर्मा ओली । उनी परिस्थिति अनुसार बोल्छन्जसले गर्दा यसपालि प्रचण्डको मन पगाल्न ओलीको शैली महत्वपूर्ण रहृयो ।

२. देउवाको कमजोर टीम

यसमा कांग्रेस सभापति देउवासँगै उनको टीमको पनि असफलता छ । उनका सहयोगीहरु विमलेन्द्र निधि, बालकृष्ण खाँड, रमेश लेखकहरुले प्रचण्डसँग जुन स्तरमा वार्ता र सम्वाद गर्नु पर्ने हो, त्यो हुन सकेन ।

सरकार गठनको प्रयास थाल्दै गर्दा प्रचण्डलाई नजिकबाट चिनेकाहरुले देउवालाई नियमित र आफैं वार्ता गर्न सुझाएका थिए । उनीहरुका अनुसार प्रचण्ड अस्थिर रहन्छन्, त्यसैले उनीसँग निरन्तर सम्वाद गरेर विश्वास जितिरहनुपर्छ । यसमा देउवा र उनको टीम चुकेको छ ।

साथै देउवा टीमका मानिसहरुले काम भन्दा हल्ला धेरै गरे । प्रचण्डसँग एक-दुई सम्वाद समेत हुन नपाउँदै उनीहरु सरकार त बनिसक्यो भन्ने रुपमा प्रस्तुत भए । बालकृष्ण खाँडले यतिसम्म भन्न भ्याए कि अब कांग्रेस र माओवादीको गठवन्धन बनिसक्यो, एमालेले नियमावलीमा अवरोध गर्छ र त्यसो गरे उसको पतन हुन्छ ।

यसले देउवा टीमले प्रचण्डको अस्थिरपनलाई राम्ररी बुझ्न नसकेको देखिन्छ ।

३. विषयवस्तुमा छलफल नै भएन

सरकार गठनको प्रयास निकै छिटो र छोटो थियो । अर्थात करिव ७२ घन्टाको आँधिबेहरी थियो । गति तीव्र भएकाले सुरुमा त केपी शर्मा ओलीको सरकारलाई यसले राम्ररी नै हल्लायो तर, परिणामतः देउवा नराम्ररी पछारिए । यसमा देउवाको गृहकार्य नपुगेको देखिन्छ ।

संविधान निर्माणका क्रममा एक समय प्रचण्ड र ओली आमने-सामने भएका थिए । जतिबेला ओली कांग्रेससँग नजिक थिए । तर, पछिल्लो समय उनीहरुको प्रेम परेको छ । र, त्यो प्रेमलाई डिभोर्समा लैजान खोज्ने कारण सत्तासँग अरु धेरै थिए । जसलाई देउवा टिमले राम्ररी केलाउन सकेन ।

खासगरी सशस्त्र द्वन्द्वकालीन मुद्दासहितका विषयले प्रचण्डलाई निकै पिरोलेको थियो । र, एमालेले भद्र सहमतिअनुसार काम नगरेपछि प्रचण्ड डग्मगाएका थिए । तर, यो ७२ घण्टे सरकार फेरबदलको प्रयासमा यी लगायतका विषयवस्तुहरुमा देउवा र उनका सहयोगीहरुले प्रचण्डसँग गम्भीर रुपमा वार्ता नै गर्न सकेनन् ।

ठीक विपरीत, त्यसलाई एमाले नेतृत्व र खासगरी केपी ओलीले बुझेका थिए । र, ९ बुँदे सहमतिमा त्यो प्रष्टै व्यक्त भएको छ । भलै यो कार्यान्वयन हुनेमा आशंका छ ।

४. माओवादीभित्रका समूहहरु

ओली सरकार गठनमा प्रचण्ड नै निणर्ायक हुन् । र, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि राम्रै भूमिका खेले । अहिले एमाओवादीमा नारायणकाजी श्रेष्ठ ओली सरकारसँग सन्तुष्ट त थिएनन् तर, कांग्रेससँग मिलेर सरकार बनाइहाल्नुपर्छ भन्ने पक्षमा उनी थिएनन् । कृष्णबहादुर महरा, जनार्दन शर्मा प्रभाकर र गोपाल किरातीहरु मात्रै सरकार फेर्ने हतारोमा थिए ।

देउवा टिमले पछिल्लो समय महरालाई विश्वासमा लिन खोज्यो, जो आफैं संकटमा परेका नेता हुन् । खासगरी टेप काण्डपछि महरा हिजोको अवस्थामा छैनन् । झन अख्तियारले पत्र काटेपछि उनी निकै दबावमा आएका छन् ।

यस्तोमा देउवा टिमले माओवादीभित्रको खेल राम्ररी बुझेर त्यहाँ चलखेल गर्नुका साटो विवादास्पद पात्र छनोट गर्‍यो, परिणामतः प्रचण्डलाई गलाउँछु भन्ने महरा आफैं गले ।

५. भारत यात्रा र अन्तराष्ट्रिय सम्वन्ध

केपी ओली सरकार हटाएर नयाँ सरकार गठनको प्रयास गर्नु केही समयअघि मात्र शेरबहादुर देउवा भारत गएका थिए । पत्नीको उपचारका लागि दिल्ली पुगेका उनले महत्वपूर्ण राजनीतिक भेटवार्ताहरु पनि गरे ।

र, भारतबाट फर्किएको २० दिन नपुग्दा सरकार गठनको प्रयास थाले । देउवाको यो टाइमिङ पनि गलत साबित भयो । नेपालको राजनीतिक मामिलामा भारत अहिले पहिला जस्तो निणर्ायक छैन । बरु रक्षात्मक अवस्थामा छ ।

झन केपी शर्मा ओलीले ‘राष्ट्रवाद’को नारा दिएका छन् । जसले वामपन्थीहरुलाई एक ठाउँमा ल्याउन राम्रै भूमिका खेलेको छ । यस्तो अवस्थामा या त देउवा भारत जानु नै हुँदैनथ्यो । होइन भने भारत गएको तीन महिनासम्म सरकार गठन विघटनको प्रयास गर्नु हुँदैनथ्यो । अन्यथा सरकार ढाल्ने खेलमा भारत मुछिन्छ ।

अहिले भयो त्यस्तै । देउवा हतारिए । खासगरी एमालेले ल्याउने बजेटको डर देखियो । र, यो सरकार गठनको प्रयासमा भारतसँगै अन्य छिमेकी देशहरु पनि जोडिए । भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसहितको विश्लेषण रहृयो । जसले उत्तरी छिमेकी चीनले वामपन्थीहरुको सद्भावलाई आकर्षण गर्न भूमिका खेल्यो ।

र, अब ओली सरकारको आयू

नयाँ सरकार गठन गर्ने देउवाको पहिलो प्रयास नराम्ररी असफल भयो । योसँगै अब ओली सरकारको आयु मात्र लम्बिएको छैन, गठवन्धन बलियो भएको छ ।

अब यो सरकारले बजेट ल्याउनेमा कुनै शंका रहेन । तर, यो सरकार जबसम्म रहन्छ, तबसम्म प्रचण्ड र ओलीको खटपट सुरु हुन्न । कांग्रेसको आशा छ कि यो खपटप जेठ १५ पछि सुरु हुनेछ । किनभने एमाले र एमाओवादीको ९ बुँदेमा केही भाकाहरु छन् । शान्ति प्रक्रियासँग जोडिएका विषयमा १५ दिने भाका छ, जुन कार्यान्वयन हुन मुस्किल छ । मानवअधिकारवादी लगायतले त्यसलाई चुनौती दिने सम्भावना छ ।

अर्को सरकारको विषय छ । एमालेेको सरकार बचिहाल्यो । उसले अब जेठ १५ पछि प्रचण्डलाई सत्ता हस्तान्तरणको कुनै समझदारी भएको छैन भन्ने थालिसक्यो । माओवादीहरुले भने भद्र सहमति भएको छ भन्ने गरेका छन् ।

अब सुशील कोइरालाले ओलीलाई सरकार छाड्ने भने जस्तै भद्रसहमति विवाद हुने देखिन्छ । यदि यो विवाद चर्किएको अवस्थामा शेरबहादुर देउवाले यसमा खेल्न सक्लान् । नभए, ओली सरकारको यात्रा केही परसम्म हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment