Comments Add Comment

बग्गीखानाको तात्तातो एक्सन, अनामनगरको सडक पेटी एक घन्टामै साफ !

Trafic police action (4)

२७ वैशाख, काठमाडौं । सिंहदरबारलाई जिस्क्याउँदै अनामनगरको सडकपेटीमा सवारीसाधन यत्रतत्र पार्क गरिएको विषयमा अनलाइनखबरमा चार घन्टा अघि समाचार प्रकाशित गर्‍यो-बग्गीखानाका हाकिमले नदेखेको तमासाः पेटीमै पार्किङ ।

तर, अहिले सो स्थानमा जानुभयो भने समाचारमा उल्लेखित विवरणभन्दा फरक अवस्था देख्नुहुनेछ । अहिले सडक पेटी खाली छ ।

समाचार प्रकाशित भएको एक घन्टामै ट्राफिक प्रहरीले एक्सन लिएर सडक पेटी खाली गराएको हो । दिउँसो तीन बजे बग्गी खानाबाट र्‍याकर लिएर ट्राफिक प्रहरीहरु अनामनगर आएका थिए ।

Trafic police action (2)

उनीहरुले जथाभावी पार्किङ गरिएका सवारीसाधनका धनीलाई खोज्न थाले । केही गाडीवालाहरु दौडादौड गर्दै आए । उनीहरुलाई ट्राफिकले चिट काटेर पठाइदिए । सम्वन्धित व्यक्ति नभेटिएका दुई गाडीलाई भने र्‍याकरमा लोड गरियो र बग्गीखानातिर लगियो ।

Trafic police action (1)

अनामनगर-घट्टेकुलो मोडमा गाडी तेस्र्याउने एक भलाद्मी आफूलाई चार्टर्ड एकाउन्टेन्ट बताउँदै थिए । उनी १० मिनेट अगाडि मात्रै अर्जेन्ट कामले गाडी रोकेको भन्दै थिए ।

तर स्थानीयवासीका अनुसार उनले हरेक दिन गाडी दिनभरी त्यही पार्क गर्ने गर्छन् । फुटपाथमा तेस्र्याइएका गाडीले दिनहुँ पैदलयात्रुहरु हिँडडुलमा समस्या भोग्दै आएका थिए । साँघुरो सडकको छेउमा मात्र होइन, बीचमै पनि सवारी साधन पार्किङ गरिएका थिए । जसका कारण ट्राफिक जामको चर्को समस्या रहँदै आएको छ ।

Trafic police action (3)

सिंहदरबार वैद्यखानादेखि अनामनगर-घट्टेकुलो चोकसम्म सडकपेटी खाली गराइए पनि त्यहाँबाट सिंहदरबार पूर्वीगेटसम्मको सडक अस्तव्यस्त नै छ ।

Trafic police action (5)

त्यसो त अनामनगरको जस्तो दृष्य काठमाडौंका अन्य थुप्रै व्यस्त सडकहरुमा देखिन्छ । ती सडकहरुमा पनि जथाभावि पार्किङको समस्या समाधान गर्न ट्राफिक प्रहरीले तातो लाग्ने आशा गरौं । अनि, अनामनगरमा आज खाली भएको सडक पेटीमा भोलि फेरि पुरानै दृष्य दोहोरिने अवस्था पनि नआउने अपेक्षा राखौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment