३० बैशाख, सप्तरी । यतिबेला देशभरी नै विद्यालय भर्ना जोडतोडले चलिरहेको छ । तर नन्दा सदाका ६ जना छोराछोरीलाई यसले छोएको छैन ।
जन्मदर्ता नहुनाले यी बालबालिकाहरु विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । यसपटक पनि उनीहरु विद्यालय भर्ना हुने सम्भावना क्षिण छ । स्थानीय निकायका साथै सरोकारबालाहरुले जन्मदर्ताको बारेमा निकै बहस गरेपनि यी बालबालिकाका अभिभावकसम्म उनीहरुको आवाज पुगेको छैन ।
सप्तरीको औरही गाविस- ७ मा बस्छ नन्दाको परिवार । जेठी छोरी १२ बर्षकी छन् भने कान्छो छोराको उमेर चार बर्ष भएको छ । यी दुईको बीचमा ९, ८, ६ र ५ बर्षका छोरीहरु छन् । उनीहरु कसैले पनि विद्यालयको मुख देखेका छैनन् । उनीहरु कसैको पनि जन्मदर्ता छैन ।
सप्तरीकै तरही गाविस ४ का अर्जुन चौधरीका पनि चार सन्तान छन् । १२, १०, ८ र ५ बर्षका सन्तान भएपनि कसैको जन्मदर्ता छैन । जन्मदर्ता नहुँदा उनीहरु पनि विद्यालय जान पाएका छैनन् । जबकी चौधरीको घरदेखि एक सय मिटरकै दूरीमा जनता माध्यमिक विद्यालय रहेको छ ।
तरहीकै वडा नम्बर ५ का प्रमेश्वर गुप्ताका ११ र ९ बर्षका दुई सन्तानको पनि जन्मदर्ता छैन जसका कारण उनीहरु पनि विद्यालयमा भर्ना हुन पाएका छैनन् ।
‘जन्म दर्ता नै नभएका यी बालबालिकाहरु यसपटक पनि विद्यालय जाने अवस्थामा छैनन्,’ शिक्षा क्षेत्रमा काम गर्ने आसमान नेपालका सहजकर्ता महेन्द्र सदा भन्छन्, ‘यसबारेमा उच्च तहमा कुरा राखिसकेको छु ।’
नागरिकता नै समस्या
नन्दा सदाको आफ्नो मात्रै नागरिकता छ । श्रीमती गीतासँग विवाह भएको १३ बर्ष बित्दा पनि न त विवाह दर्ता बनाइएको छ, न त श्रीमतीको नागरिकता नै । विवाह दर्ता र श्रीमतीको नागरिकता नबनाउँदा छोराछोरीहरु विद्यालय बाहिरै छन् ।
तरही ४ का अर्जुन चौधरीको घरमा पनि यस्तै समस्या देखिएको छ । उनकी श्रीमती ललितादेवीको पनि नागरिकता छैन । यी दम्पतिले विवाह दर्तासमेत नबनाउँदा छोराछोरीहरु शिक्षा लिनबाट बञ्चित छन् । अभिभावककै ढिलासुस्तीका कारण अर्जुनका छोराछोरी घरकै कामकाज गरी दिन बिताइरहेका छन् ।
तरही ५ का प्रमेश्वर गुप्ताले पनि श्रीमतीको नागरिकता बनाइदिएका छैनन् भने विवाह दर्ता प्रमाण पत्र पनि छैन । जसका कारण उनका दुई छोराछोरी शिक्षाबाट वञ्चित छन् ।
७ हजार ७ सय ३२ अझै विद्यालय बाहिर
विद्यालय नजाने बालबालिकाहरुको तथ्यांक संकलन गर्दा जन्मदर्ता नभएका बालबालिकाहरु पनि फेला परेको बताउँदै आसमानका सहजकर्ता सदाले विद्यालय भर्ना गराउने सवालमा सबै सरोकारबाला गम्भीर देखिएको बताए । जिल्लाको सबै ९१ गाविस र पाँच नगरपालिकामै शिक्षा कार्यालयद्वारा विद्यालय नजाने बालबालिकाको तथ्यांक संकलन गरिएको छ । यसमध्ये आसमान नेपालले जिल्लाको १० गाविसमा तथ्यांक संकलन गरेको छ ।
तथ्यांक अनुसार जिल्लाभरीका ७ हजार ७ सय ३२ जना बालबालिका अझै विद्यालय बाहिर छन् । शिक्षा अधिकारी लक्ष्मीप्रसाद भट्टराई कुनै पनि बालबालिका विद्यालयभन्दा बाहिर रहन नदिने आफूहरुको उद्देश्य रहेको बताए । उनले जन्मदर्ता नभएकै कारण विद्यालयमा भर्ना हुन नपाउने बिषयमा आफूहरु घनिभूत छलफल गरिरहेको उल्लेख गरे ।
‘जन्मदर्ता नभएकै कारण कुनै पनि बालबालिकालाई विद्यालय बाहिर रहन नदिन हामी प्रतिवद्ध छौं,’ उनले भने ।
प्रतिक्रिया 4