Comments Add Comment

यस्तो बन्दैछ लुम्बिनीमा तीन अर्बको पाँचतारे रिसोर्ट

चार सय कोठाहरु पुर्‍याउने दीर्घकालिन योजना

३० वैशाख, भैरहवा । लुम्बिनीमा खर्चालु पर्यटक भित्राउन लक्ष्यसहित रुपन्देहीको कोटिहवामा पाँचतारे रिसोर्ट बनिरहेको छ । हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले तीन अर्ब लगानीमा लक्जरी रिसोर्ट सञ्चालन गर्न लागेको हो ।

करिव १५ विगाहा जमिनमा फैलिने रिसोर्टको नाम ‘टाइगर प्यालेस’ राखिएको छ । रिसोर्टका भवनले मात्र दुई विगाहा क्षेत्रफ ओगट्ने सिल्भर हेरिटेजका नेपाल प्रमुख राजेन्द्र बजगाईंले बताए ।

Tiger-Palace-Reshort-Lumbin

रिसोर्टमा चार सय कोठाहरु बनाउने लक्ष्य राखिएको छ । तर, पहिलो चरणमा सय कोठाहरु तयार गरिने छ । आगामी दुई वर्षभित्र रिसोर्टमा तीन सय कोठाहरु थप्ने बजगाईंले अनलाइनखबरसँग बताए । रिसोर्टका कोठाहरु डिलक्स, सुपर डिलक्स, स्वीट प्रकृतिका हुने उनको भनाई छ ।

रिसोर्टमा स्वीट रुम र पौडी पोखरी आपसमा जोडिएका हुनेछन् । सबै स्वीट रुमबाट सिधै स्वीमिङ पुलमा ‘डाइभ’ हान्न सकिने छ । स्वीट रुमका लागि भिल्लाहरु बनाइरहेको बजगाईंले बताए ।

‘अहिले रिसोर्टका भवनहरुमा रुफिङको काम भइरहेको छ’ बजगाईंले भने- ‘यही नोभेम्बरमा रिसोर्टको सफ्ट ओपनिङ गर्ने हाम्रो लक्ष्य छ ।’ रिसोर्टमा पहिलो चरणको काम सम्पन्न गर्न दुई अर्ब लाग्ने अनुमान गरिएको छ । दोस्रो चरणमा कोठाहरु थप्नका लागि एक अर्ब लाग्ने अनुमान छ ।

रिसोर्टले खर्चालु पर्यटक भित्राउने लक्ष्य राखेको छ । खासगरी इन्डियन फेमिली र विवाह गर्ने खानदानी परिवारलाई रिसोर्टमा ल्याइने छ । पछिल्लो समय भारतका खानदानी परिवारले नेपाल आएर विवाह गर्न थालेका छन् । यही समुदायलाई रिसोर्टले आकषिर्त गर्ने लक्ष्य राखेको छ ।

रिसोर्टमा ७ सय जना आटाउने ठूलो हल बनाउने बजगाईंले बताए । अरु साना हलहरु पनि रिसोर्टमा बनाइने भएको छ । रिसोर्टमा एउटा ठूलो र केही साना स्वीमिङ पुलहरु बनाइने छ । भिल्लाहरुबाट स्वीमिङ पुलमा डाइभ हान्न मिल्ने गरी धेरै स्वीमिङ पुल बनाउन लागिएको हो ।

रिसोर्टमा स्पा, टेनिस कोर्ट, चिल्ड्रेन पार्क, वाटर फनपार्क लगायतका सुविधाहरु रहने बजगाईंले बताए । रिसोर्टमा क्यासिनो समेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । तर, क्यासिनो दोस्रो चरणमा मात्र सञ्चालनमा आउने छ ।

लुम्बिनी क्षेत्रमा भारतीय नागरिक क्यासिनो खेल्न आउने गर्छन् । अहिले भैरहवामा भएका दुईवटा मिनी क्यासिनोमा भारतीय भरिभराउ हुन्छन् । टाइटर प्यालेस रिसोर्टमा क्यासिनो खेल्न खर्चालु भारतीय भित्राउने लक्ष्य राखिएको छ ।

‘हाम्रो रिसोर्टमा एउटा पाँचतारे होटलमा हुनुपर्ने सबै सेवा सुविधाहरु उपलब्ध गराउँछौं’ बजगाईंले भने- ‘हाम्रो उद्देश्य ग्राहकले खर्च गरेअनुरुप रिसोर्टका सेवा सुविधाबाट सन्तुष्टी प्राप्त गरोस भन्ने नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment