Comments Add Comment

मुग्लिङ-नारायणगढ सडकको काम लक्ष्यभन्दा २० प्रतिशत कम

यात्रुले अझै सास्ती खेप्नुपर्ने

muglin_sadak (1)३१ वैशाख, चितवन । मुग्लिङ नारायणगढ सडक आयोजनाको काम लक्ष्यभन्दा २० प्रतिशत कम भएको छ ।

आयोजना सुरु भएसँगै हालसम्म ३४ प्रतिशत काम सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि १४ प्रतिशत मात्रै काम पूरा भएको छ । जसका कारण अब वर्षा समयको सिजनमा यात्रुहरुले थप सास्ती खेप्नुपर्ने भएको छ ।

मुग्लिङ नारायणगढ सडकखण्डको विस्तार तथा सुधारको काम गत वर्ष वैशाखदेखि सुरु भएको थियो । सडक विस्तार तथा सुधारको काम दुई वर्षमा पूरा गर्ने लक्ष्य छ । नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तर्गत निर्माण थालिएको यो राष्ट्रिय महत्वको सडक हो ।

पोखरा र काठमाडौंलाई तराईसँग जोड्ने मुख्य मार्ग भएकाले उक्त सडक खण्डमा दैनिक आठ हजार भन्दा धेरै सवारी साधन आवत जावत गर्ने गर्दछन् ।

मुख्य गरी काठमाडौंलाई तराईसँग जोड्ने मार्गको रुपमा चिनिने मुग्लिङ-नारायणगढ सडकखण्ड साँघुरो हुँदा दुर्घटना बढेपछि सुधारको काम अगाडि बढाइएको थियो । सडक सुधारको काम सुरु भएदेखि नै नाकाबन्दी, इन्धन अभाव लगायतका विभिन्न अवरोधका कारण निर्माणमा ढिलाई भएको आयोजनासँग सरोकार राख्ने व्यक्तिहरु बताउँछन् ।

सडक ११ मिटर चौडा हुने

जम्मा ३३ किलो मिटर सडकलाई विभिन्न तीन खण्डमा विभाजन गरेर निर्माणको जिम्मा दिइएको छ । भरतपुरको आँपटारीदेखि दासढुंगासम्म १० किलोमिटर खण्ड बिएलए-एससीसी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएका छन् ।

दासढुंगादेखि सिमलतालसम्मको ११ किलोमिटर सडक उडहिल-लामा ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएका छन् भने सिमलतालदेखि मुग्लिङसम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा सुप्रीम-रौताहा ज्वाइन्ट भेन्चरले पाएका छन् ।

muglin_sadak (2)नारायणगढ मुग्लिङ सडक विक्रम सम्वत् २०३६ सालमा निर्माण भएको थियो । यो सडक विस्तारको काम एशियाली बैंकको करिब तीन अर्ब ऋण सहयोगमा सुरु गरिएको हो । सडक सुधारसँगै आँपटारीदेखि मुग्लिङसम्मको सडकको चौडाई नौ मिटरदेखि ११ मिटरसम्मको हुने बताइएको छ भने अनावश्यक घुम्ती र उकालो पनि हटाइनेछ ।

सडक सुधार अन्तर्गत आँपटारीदेखि मुग्लिङसम्मको विभिन्न ठाउँमा पहाड फोर्ने तथा पुल बनाउने काम भइरहेको छ । त्यसैगरी, सडक मापदण्डमा परेका घर तथा टहरा समेत हटाउने काम भएको छ । सडक मापदण्डभित्र परेका ४६ वटा घर तथा टहरालाई मुआब्जा दिएर हटाइसकिएको छ ।

सम्झौता थप्न दबाव

सन् २०१७ को अपि्रलसम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको भएपनि देशमा सिर्जना भएको असहज अवस्थाका कारण निर्माण कार्यमा ढिलाई हुने भन्दै निर्माण कम्पनीले सम्झौता थप गर्न सरकारलाई दबाब दिइरहेको छ ।

एशीयन हाइवेको मापदण्ड अनुसार निर्माण हुन लागेको सडक सुधारको काम ढिलाई हुनुको मुख्य कारण देशमा देखिएको वर्तमान राजनीतिक अवस्था भएको आयोजना प्रमुख चन्द्र नारायण यादवको भनाइ छ ।

आयोजना सुरु हुने समयमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण निर्माण कार्यक्रमा ढिलाई भएको यादवले बताए । दुई वर्षभित्रमा सक्ने भनेर सम्झौता गरिएको भएपनि म्याद थपको लागि पहल भइरहेको यादवको भनाइ छ ।

muglin_sadak (4)पछिल्लो समय मुग्लिङ-नारायणगढ सडक आयोजना सुधारको काम तीव्र गतिमा बढिरहेको आयोजनाका इन्जिनियर शिव खनालले बताए । कालीखोलादेखि मुग्लिङसम्मको करिब तीन किलो मिटर सडकमा सुख्खा पहिरो बग्ने भएकाले बनाएको बाटोलाई स्थायीत्व दिनका लागि मुख्य कठिनाइ हुने खनालको भनाइ छ ।

अहिले मुख्य काम कटिङ, फिलिङ र वाल कल्भर्टको काम भइरहेकोले सवारी आवागमन बन्द गरी निर्माणको काम गरिरहेको खनालले बताए ।

यातायात अवरुद्ध हुँदा सास्ती

मुग्लिङ-नारायणगढ सडक आयोजना सुधारका लागि भनेर दैनिक रुपमा यातायात आवागमनमा रोक लगाएर बाटो खन्ने तथा माटो हटाउने काम भइरहेको छ । सडक सुधारको काममा अवरोध नहोस् भनेर हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडक खण्डमा यातायात अवरुद्ध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले बताए ।

नारायणगढ हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधनलाई दासढुंगाबाट र मुग्लिङ हुँदै नारायणगढ भएर पूर्व तथा पश्चिम जाने सवारी साधनलाई मुग्लिङमा रोक्ने काम गरिएको भेटवालको भनाइ छ । उक्त अवधिमा वैकल्पिक बाटो अपनाउन समेत भेटवालले आग्रह गरेका छन् ।

मुग्लिङ-नारायणगढ खण्डमा सूचना जारी गरि दैनिक रुपमा दिउँसो चार घण्टा यातायात सञ्चालनमा रोक लगाइएको भएपनि अन्य समयमा पनि यातायात अवरुद्ध हुने क्रम रोकिएको छैन ।

muglin_sadak (3)सामान्य अवस्थामा करिब एक घण्टामा पार गरिने उक्त सडक खण्ड पार गर्न अहिले कम्तिमा पनि साढे एक घण्टा लाग्ने गरेको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकहरु समेत अप्ठ्यारोमा पर्ने गरेका छन् ।

उक्त सडकमा नियमित रुपमा बस कुदाउने धादिङका प्रकाश कोइरालाले अनावश्यक रुपमा सडक अवरुद्ध गरिदा आफूहरुले सास्ती भोग्नु परेको बताए । निर्धारित समय भन्दा अन्य समयमा समेत सवारी साधन रोकिदिदा आफूहरु समयमा गन्तव्यमा पुग्न नसक्नुका साथै भोकभोकै सवारी साधन चलाउन बाध्य भएको कोइरालाले गुनासो गरे ।

सडक धेरै साँघुरो भएकोले पुरै सडक बन्द गरेर काम गर्नुपरेको आयोजना निर्माणकर्ताहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment