+
+
Shares

शान्ति प्रक्रियाविरुद्ध अदालत भयानक षडयन्त्रमाः प्रचण्ड

अदालतलाई दवाव दिने मानवअधिकारवादीको पहिचान गर्न कार्यकर्तालाई निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ३१ गते १९:२३

Prachand

३१ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वकालीन मुद्दामा आफूलाई जेल हाल्ने फैसला गरेर देखाउन न्यायालयलाई चुनौती दिएका छन् । आफूले जनयुद्ध सुरु गर्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको प्रधानमन्त्री रहेको भन्दै प्रचण्डले आफूसँगै देउवालाई पनि जेल हाल्ने हिम्मत गर्न चुनौति दिए ।

दश वर्षे सशस्त्र जनयुद्धका क्रममा तत्कालीन विद्रोही पक्षबाट भएका सबै घटनाको जिम्मा आफूले लिने भन्दै उनले राज्य पक्षबाट भएका घटनाको जिम्मा पनि तत्कालीन सरकारले लिनुपर्ने बताए ।

‘द्वन्द्वकालमा भएका घटनाहरुमा प्रत्यक्षरुपमा म जिम्मेवार छु । त्यसकारण सरकारलाई पनि, अदालतलाई पनि, सबै राजनीतिक दलहरुलाई पनि र देशभरीका जनतालाई के भन्न चाहान्छु भने यदि विस्तृत शान्ति सम्झौता विपरित युद्धकालीन मुद्दा उठाइन्छ भने र अदालतको नियमित प्रक्रियामा लगिन्छ भने सबैभन्दा पहिला मलाई जेल हाल्नु पर्‍यो ।’

‘मुद्दा लगाउने, जेल हाल्ने जुन प्रपन्च गरिँदैछ यो भयानक अनैतिकता र षडयन्त्र हो । यो विस्तृत शान्ति प्रक्रियाविरुद्ध भयानक प्रहार हो,’ उनले अगाडि भने, ‘त्यसकारण म चुनौति दिन चाहान्छु । अहिले गिरिजाप्रसाद कोइराला हुनुहुन्न । त्यो ठाउँमा कांग्रेसको सभापतिको रुपमा शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ पनि त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसकारण अदालतले साँच्चिकै आँट गर्ने हो भने शेरबहादुरलाई र प्रचण्डलाई पहिला थुन्नुपर्‍यो ।’

एमाओवादीसहितका पाँच माओवादी पार्टीहरुले शुक्रबार काठमाडौमा गरेको अन्तर्क्रियामा अध्यक्ष प्रचण्डले शान्ति सम्झौताअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालीन मुद्दाहरुमा धमाधम फैसला गर्न थालेर न्यायालयले शान्ति सम्झौता विरुद्ध नै भयानक षडयन्त्र गरिरहेको आरोप लगाए ।

‘न्यायालयले पनि परिवर्तनको प्रक्रियालाई आत्मसात गर्नुपर्छ’ प्रचण्डले भने, ‘द्वन्द्वकालीन मुद्दाहरुमा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा हामीलाई कुनै हालतमा स्वीकार्य हुने छैन ।’ मानवअधिकारवादी र नागरिक समाजका अगुवाहरुसहितको उपस्थितिमा गरिएको कार्यक्रममा सामान्य कार्यकर्तालाई सताउनुभन्दा आफूलाई जेल हालेर देखाउन पटक-पटक चेतावनी दिएका थिए ।

‘डलर ल्याएर मानवअधिकारको वकालत गर्नेहरुको उक्साहटमा पर्नुको साटो न्यायालयले परिवर्तनलाई आत्मसात गर्नुपर्छ,’ प्रचण्डले भने । उनले द्वन्द्वकालीन मुद्दाहरु अदालतबाटै टुंग्याउनुपर्ने भनेर वकालत गर्ने मानवअधिकारवादीहरुको एक-एक गरेर पहिचान गर्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

वैद्य एकतामा आए सरकार छाड्छु’

द्वन्द्वकालीन मुद्दाहरुमा भटाभट फैसला हुन थालेपछि विभिन्न कारणले फुटेका सबै माओवादी एउटै मञ्चमा बस्ने अवस्था आएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले माओवादीको एकतालाई अब कसैले पनि रोक्न नसक्ने बताए । उनले नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य एकताका लागि तयार भए एमाओवादी कुनै पनि बेला सरकार छोड्न तयार हुने समेत बताए ।

कार्यक्रममा नागरिक समाजका अगुवाहरु डा. सुन्दरमणि दीक्षित र वीरेन्द्र मिश्र तथा मानवअधिकारवादी चरण प्रसाईं लगायतले शान्ति सम्झौताको भावना अनुरुप पीडितहरुले न्याय पाउन नसकेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?