Comments Add Comment

वीरगन्ज: मधेस आन्दोलनको एकतर्फी पक्षपोषण

‘इस्तानबुल:  मेमोरिज एन्ड द सिटी’ लेखेपछि नोबेल पुरस्कार विजेता टर्किस लेखक ओह्रान पामुकको दाइ र आमासँग सम्बन्ध बिग्रियो । आफू जन्मे-हुर्केको सहर इस्तानबुलबारे लेख्दा उनले त्यहाँको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनमात्र लेखेनन्, त्योसँगै त्यहाँका मानिसमा फेरिएको सोच र व्यवहारबारे पनि लेखे । पामुकले कतिसम्म इमानदारी देखाए भने आफ्नै दाजुको आलोचना पनि पुस्तकमा गरे ।

birjung_girish giriयता, पत्रकार गिरीश गिरी पुस्तक ‘वीरगन्जः  मेरो सहरको कथा’को उठान आफ्नै बुवाको स्मरणबाट गरेका छन् । प्रज्ञा भवनमा भएको एउटा सांगितिक कार्यक्रममा प्राध्यापक अभि सुवेदी छोराको सांगितिक प्रस्तुति हेरेर रमाएको देखेपछि आफ्ना बुबालाई ‘मिस’ गरेर बीचमै कार्यक्रम छाडेर गिरीश बाहिरिन्छन् । माओवादी युद्धमा गिरीशले आफ्ना बुवालाई गुमाए । आभार शीर्षक दिएर यही कुराबाट उनले पुस्तकको थालनी गरेका छन् । त्यसले पाठकलाई ‘इमोसनल’ बनाउछ र पुस्तकको शीर्षकलाई न्याय गर्न सक्दैन ।

गिरीशको पुरै पुस्तै यस्तै भावुकतामा रुमल्लिएको छ । यो एउटा सामन्य डायरी जस्तो लाग्छ,  मानौं सम्पादनबिनै पुस्तकको स्वरुप दिइएको होस । गिरीशले पुस्तकमा वीरगन्ज सहरको धेरै आयामलाई समेट्ने प्रयास गरेका छन् । त्यहाँको साँस्कृतिक, राजनीतिक, लगाइ-खुवाइ, शैक्षिकलगायतका विषयबारे धेरथोर पुस्तकमा प्रवृष्टि पाएको छ ।

तर, यी कुनै पनि विषयको गहिराइमा गिरीश पुग्न सकेका छैनन् । छताछुल्ल सबै विषयलाई ‘टच’ दिएर गिरीश प्रसंग र घटना जोड्दै जान्छन् । त्यसैले, पुस्तक वीरगन्ज भित्र पस्न सकेको छैन, आवरणमा सकिएको छ ।

पुस्तकको असल पक्ष भनेको यसको शैली हो । लामो समय पत्रकारितामा आवद्ध छन् गिरीश । त्यसैको प्रभाव हुनसक्छ, पुस्तक रिपोर्ताज शैलीमा लेखिएको छ । यसले पाठकका लागि पुस्तक ‘इजी रिड’ बन्छ ।

तर, भाषामा एकरुपता कायम गर्न नसक्दा बारम्बार लेखक चिप्लिएका छन् । कतिसम्म भने एउटै प्रसंगको व्याख्या गर्दै जाँदा लेखक कहिले वर्तमान कालमा आफ्ना कुरा लेख्छन् त कहिले त्यही सन्दर्भलाई भूतकालमा पनि लेखिदिन्छन् । यस्तो भाषिक सम्पादनका कारण पुस्तकको मिठास घटेको छ ।

यस्ता कमजोरी हुँदाहुँदै पनि पुस्तकले किन ध्यान तान्छ भने गत वर्ष वीरगन्जबाट सुरु भएको मधेश आन्दोलनले हाम्रो जीवन समस्यामा पारिदियो । एकातिर भारतीय नाकाबन्दी त अर्कोतिर वीरगन्जमा मधेशी दलको नेतृत्वमा भएको आन्दोलनले देशको प्रमुख नाका ठप्प भयो । यो फरक कुरा हो, महिनौँ चलेको आन्दोलनको न त सुरुवात सुखद रह्यो, न यसले त्यो क्षेत्रका लागि उल्लेख्य केही दिन नै सक्यो । यसले नेपालीलाई एउटा नमीठो अनुभव मात्र दियो ।

त्यही मधेश आन्दोलनलाई केन्द्रमा राखेर गिरीशले पुस्तकको खाका कोरेका छन् । निकट विगतको घटना भएकाले यस विषयमा पढ्दा पाठकलाई रुची लाग्नु स्वभाविक हो । तर, पुस्तक पढिसकेपछि लेखकले मधेश आन्दोलनलाई एकतर्फी रुपमा मात्र प्रशंसा गरेको पाउँदा पाठक निरास हुन्छ ।

पुस्तक पढ्दा राजनीतिक घटना र मधेश आन्दोलनबारे ‘अपडेट’ भइरहेको पाठकले लेखकमा निकट विगतबारे नै इमान्दार नभएको सहज निष्कर्ष निकाल्छ । यदि लेखक मधेश आन्दोलनको पक्षपोषणमा लागेका थिएनन् भने उनले त्यसले देशभर पारेको प्रभाव र उत्पन्न गराएको समस्याबारे पनि लेख्थे ।

पुस्तकमा लेखक एकपक्षीय देखिएको प्रमाणित गर्न अनेकौ उदाहरण छन् । जस्तो, पुस्तकमा मधेश आन्दोलनको पक्षका व्यक्तिसँग मात्र कुरा गरिएको छ । जस्तो, मधेश आन्दोलनका कारण डामाडोल भएको देशको अर्थतन्त्रबारे केही लेखिएको छैन ।

जस्तो, मधेश आन्दोलनलाई सम्बोधन गर्न सरकारले जारी गरेका प्रयासबारे केही उल्लेख छैन । पुस्तकमा सरकारले वार्ताका लागि गरेका आह्वानबारे पनि उल्लेख गरिएको छैन । यसले के प्रमाणित गर्छ भने पुस्तकमा मधेश आन्दोलनलाई न्यायोचित रुपमा व्याख्या गर्न सकिएको छैन । राज्य पक्षबाट भएका मामुली कारवाहीलाई अतिरञ्जित त्रिचण गर्ने, अनि आन्दोलनकारीबाट भएका जघन्य अपराधका घटनामा आँखा चिम्लिने ‘मानवअधिकारवादीको शैली’ उनले गौरवसाथ आत्मसात गरेका छन् ।

राजनीतिक प्रसंगलाई बीचैमा छाडेर लेखकले विगतका टिप्पणी गर्छन् । उठाइएको एउटा विषय पूर्ण नगरी लेखक ‘नोस्टाल्जिक’ बन्दा पुस्तकको लय बिग्रिएको छ

पत्रकार भएका नाताले पनि लेखकले चयन गरेको विषयमा सन्तुलित धारणा राख्ने प्रयास गर्नुपथ्र्यो । तर, पुस्तकमा त्यो धर्म निभएका छैनन् । बरु पाठकलाई कसरी भ्रममा पार्न खोजिएको छ भने राजनीतिक प्रसंगलाई बीचैमा छाडेर लेखकले विगतका टिप्पणी गर्छन् । उठाइएको एउटा विषय पूर्ण नगरी लेखक ‘नोस्टाल्जिक’ बन्दा पुस्तकको लय बिग्रिएको छ ।

वीरगन्जको विगतलाई पनि लेखकले विभिन्न प्रसंगमा उतारेका छन् । यसले वीरगन्ज सहरको स्थापना, रक्सौलको प्रभाव, त्यहाँको रहनसहनलाई बुझ्न सहयोग गरेको छ । तर, विडम्बना पहिलेको वीरगन्जलाई जति राम्रोसँग पुस्तकमा बुनिएको छ, त्यति अहिलेको वीरगन्ज पुस्तकमा आउन सकेको छैन । पछिल्लो समय वीरगन्जले देखाएको ‘रौद्र रुप’लाई गिरीशले सही तरिकाले वर्णन गर्न सकेका छैनन् ।

पुस्तकको सबैभन्दा ठूलो समस्या भनेको उठान गरिएको विषयलाई बीचैमा छाड्नु हो । पुस्तकका प्रायः अध्याय वर्तमान परिस्थितिबाट सुरु भएका छन् । त्यसको कुनै निष्कर्ष वा निचोड नआउँदै लेखक विगतका -अधिकांशमा आफ्नै बाल्यकाल) प्रसंगमा पुग्छन् । यसले लेखकको अस्थिरता देखाउँछ । त्यति मात्र होइन, यसले चलाखीपूर्ण रुपमा मधेश आन्दोलनको स्वरलाई समर्थन गरेको आभाष दिन्छ । तर, सँगै आफूलाई तटस्थ देखाउने अभिलाषा लेखकले पालेको प्रस्ट हुन्छ ।

shikhar ghimire
शिखर घिमिरे

पुस्तकमा उल्लेख भएका घटना र विभिन्न प्रसंगमा लेखकले सरसर्ती तस्विरमात्र उतारेका छन्, त्यसका असरबारे केही उल्लेख गरेका छैनन् ।

त्यस्तै, उनी कुनै पनि कुरामा आफ्नो मत दिनबाट चुकेका छन् । पत्रकारका रुपमा सन्चारमाध्यममा गरिने रिपोर्टिङमा आफ्नो मत दिनुहुँदैन, तर एउटा पुस्तकमा लेखकको विश्लेषण आवश्यक नहुनु पर्ने कुनै कारण हुँदैन ।

त्यसैले पनि पुस्तक सम्पादन नगरिएको र हतारहतारमा लेखिएको कुनै ‘फिचर’जस्तो हुन पुगेको छ । पुस्तकमा ‘२०१४ सालमा त्रिभुवन राजपथको उद्घाटन राजा त्रिभुवनबाट भएको थियो’ जस्ता तथ्यगत त्रुटीका कारण सम्पादनको अभावमात्र प्रमाणित हुँदैन, पुस्तकको ओज पनि स्वाट्टै घटेको छ ।

भनिन्छ, एउटा पुस्तकले समाजको चरित्र उतारेको हुन्छ । त्यही लेखनीले समाजलाई एकिकृत गर्न पनि सघाउँछ । तर, मधेश आन्दोलनलाई एकतर्फी रुपमा समर्थन गरिएको भान हुने गरि लेखिएको ‘वीरगन्जः मेरो सहरको कथा’ले समाज विभाजनलाई प्रोत्साहन नगर्ला भन्न सकिदैंन ।

के पनि बिर्सन हुँदैन भने इमान्दार भएर लेखेकै कारण पामुकको घरसँग सम्बन्ध बिगि्रएन मात्रै, दाजुसँग सधैंका लागि बोलचाल पनि बन्द भयो ।

ट्वीटरमा

@ShikharGhimirey

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment