१ जेठ, काठमाडौं । एकता प्रक्रियामा रहेका माओवादी पार्टीहरुले पाँच सदस्यीय संयोजन समिति गठन गरेका छन् ।
शनिबार राजधानीमा बसेको माओवादी पार्टीहरुको संयुक्त बैठकले पाँच माओवादीबाट एक-एक जना नेता रहने गरी संयोजन समिति गठन गरेको हो ।
समितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका रामबहादुर थापा ‘बादल’ र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापा छन् ।
यसैगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीका नेता बसन्त घर्ती र वैद्य माओवादीबाट निष्कृय बस्दै आएकी जयपुरी घर्ती पनि एकता संयोजन समितिमा छिन् ।
एकताको घोषणा यही जेठ पहिलो साता भित्रै गर्ने माओवादी नेताहरुको तयारी छ ।
सबै माओवादीहरुलाई एकता प्रक्रियामा ल्याउन एमाओवादी र वैद्य माओवादीका युवा नेताहरुले अभियान नै चलाएका थिए । त्यस अभियानलाई ‘माओवादी पुनर्गठन अभियान’ नाम दिइएको थियो ।
पुनर्गठन अभियानका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले आफूहरुको अभियान सफल भएको भन्दै खुसी व्यक्त गरे ।
प्रभाकरले अनलाइनखबरसँग भने, ‘हामीले ठूलो सफलता हात पारेका छौं । नेपालका सबै कम्युनिष्ट पार्टीलाई एउटै झण्डामा गोलबन्द गर्ने अभियानको यो पहिलो खुड्किलो हो । अब बिस्तारै अरु माओवादीहरु पनि एकता प्रक्रियामा आउँछन् ।’
यो पनि पढ्नुस्
एमाओवादीसँग एकताका लागि वैद्य माओवादी फुट्यो, बादलले लिए नेतृत्व