Comments Add Comment

कपिलवस्तुका २७ गाविस माविविहीन

पढ्नका लागि भारत जाने बाध्यता

school

२ जेठ, कपिलवस्तु । सबै गाविसहरुमा कम्तीमा एक माद्यमिक विद्यालय सञ्चालन हुनुपर्ने लक्ष्य राखेर ०६६ सालदेखि जिल्लामा विद्यालय क्षेत्र सुधार कार्य लागु गरिए पनि यहाँका २७ गाविस माविविहीन छन् । माद्यमिक तह पढ्ने विद्यालय अभावमा अधिकांश विद्यार्थीहरु बिचमै पढाइ छाड्न बाध्य छन् ।

०६६ सालतिर जिल्लाका ४८ गाविस माविविहीन थिए । त्यसयता २१ गाविसमा मावि थपिएका छन् । तर, अझै दक्षिणी भेगका २७ गाविसमा मावि र ७ गाविस निमावि विहीन छन् ।

सदरमुकाम तौलिहवासँग जोडिएका दोहनी र गौरी गाविसमा समेत मावि सञ्चालन भएको छैन । यस्तै लवनी, बासखोर, डुमरा, अभिराव, बिजुवा, पिपरा, हथिहवा, हरनामपुर, तितिर्खी, पर्साेहिया, सिंहोखोर, सोमडिह, धर्मपनियामा मावि छैनन् ।

जहदी, कजरहवा, बरइपुर, मानपुर, लालपुर र भिल्मीमा पनि माद्यमिक विद्यालय छैनन् ।

त्यस्तै पुरुषोत्तमपुर, कुशहवा, उदयपुर, रामनगर, सिसवा, भगवानपुर र खुरुहुरियामा पनि माद्यमिक विद्यालय सञ्चालन हुन सकेका छैनन् ।

स्थानीयमा चासो कम

स्थानीय सरोकारवालाहरु शिक्षाप्रति संवेदनशील नहुँदा गाउँमा माद्यमिक विद्यालय सञ्चालन हुन नसकेको शिक्षा कार्यालयका अधिकारीहरुको भनाइ छ ।

‘शिक्षकको दरबन्दी माग, व्यवस्थापन समितिका समस्या लगायतका गुनासो गर्न दैनिकजसो स्थानीय बासिन्दा घचघच्याउन आए पनि माद्यमिक विद्यालय सञ्चालन गर्नुपर्‍यो भनेर कोही आएका छैनन्,’ जिल्ला शिक्षा अधिकारी हरिप्रसाद गौतमले भने, ‘स्थानीय जागरुक नभई शिक्षा कार्यालयले मात्र केही गर्न गर्न सक्दैन ।’

समग्र जिल्लाको शैक्षिक स्थिति सुधार गर्न र विद्यालयमा विद्यार्थीहरुको पहुँच बढाउनकालागि सबैले पहल गर्नुपर्ने उनी बताउँछन् ।

भारत धाउने बाध्यता

कपिलवस्तु जिल्लामा ४ सय २७ सामुदायिक विद्यालय छन् । तर, दक्षिणी भेग मावि विहीन भएकाले स्थानीय मर्कामा परेका छन् । मावि नहुँदा प्रावि र निमावि तह पढेर अधिकांस बालबालिकाहरु बिचमै पढाई छाड्न बाध्य छन् । कतिपयले भारतका विद्यालयहरुमा छोरा-छोरी पढाउन पठाउने गर्दछन् ।

‘हुनेखानेहरुले घरबाट टाढा पठाएर भए पनि छोरा-छोरी पढाउने गरे पनि अधिकांश छात्र-छात्राहरुले विद्यालय छाडेर बस्ने गरेका छन्,’ कपिलवस्तुका सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले भने ।

गाविसमा मावि नहुँदा बिचमै पढाई छाड्ने कुरा जिल्ला शिक्षा कार्यालयको फ्लास रिपोर्टबाट पनि पुष्टी हुन्छ । प्रावि तहको ९१, आधारभूत तहको ८१ प्रतिशत भर्ना दर रहेको छ । माविको जम्मा ४१ प्रतिशत भर्ना दर छ ।

पुरानो र ऐतिहासिक जिल्लाकारुपमा परिचित कपिलवस्तुका दुई दर्जन बढी गाविसमा हालसम्म पनि मावि नहुनु दुःखदायी भएको स्थानीय बुद्धिजिवी हरिराज शर्माले बताए  । ‘यसले पनि ऐतिहासिक कपिलवस्तु जिल्ला शैक्षिक क्षेत्रमा पनि निकै पछाडि रहेको पुष्टी हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment