Comments Add Comment

‘के म तिम्रो होइन र’ समीक्षाः ‘आर्यनको एक्सन गजब, रोचक प्रेमकथा’

aaryan-and-mariska
नायक-नायिकाको अभाव झेलिरहेको नेपाली चलचित्रले शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘के म तिम्रो होइन र’बाट २ कलाकार पाएको छ । आकाश अधिकारीले ‘काठमाण्डौ’ पछि बनाएको यो चलचित्रको बिषयवस्तु, राम्रा पक्ष र नराम्रा पक्षका चर्चा यहाँ गरौ ।

कथावस्तु
एउटा रेष्टुरेन्टमा आँखा जुधेपछि नजिक भएका चलचित्रका मुख्य दुई पात्र आर्यन अधिकारी र मरिष्का पोख्रेलको कथामा यो चलचित्र घुमेको छ । राम्रो काम गरेपनि मरिष्काकी आमा गौरी मल्लको नजरमा आर्यन गुण्डा मात्र हुन्छन् ।

मरिष्काको बिहे बच्चैमा प्रज्वल सुजल गिरीसँग तय गरिएको हुन्छ । तर, जब आर्यन र मरिष्का नजिक हुन्छन्, प्रज्वल र उनका दाजु आकाश खवास यसको विपक्षमा हुन्छन् । आर्यन र मरिष्काले प्रेम प्राप्तीका लागि गौरी, प्रज्वल र आकाशसँग गरेको लडाई नै यसको मुख्य कथावस्तु हो । अब, मरिष्का आर्यनकी हुन्छिन् या प्रज्वल कि, यसका लागि दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

राम्रो पक्ष
चलचित्रमा तपाइले पाउने सवैभन्दा गजबको कुरा भनेको, नायक आर्यन अधिकारीको एक्सन हो । चलचित्रको क्लाइमेक्स जसरी खिचिएको छ, आर्यनले त्यसका लागि जुन खालको मिहिनेत गरेका छन् त्यो साच्चै विरलै नेपाली चलचित्रमा देख्न पाइन्छ ।

चलचित्रमा ४ गीत समावेश छ । जसमध्ये ‘के म तिम्रो होइन र, रुक रुक, पागल’ बोलको गीतले दर्शकको मन जित्छन् । २ गीतको लोकेशन पनि उत्कृष्ट छ । निर्देशक आकाश अधिकारीले चलचित्रलाई जुन तरिकाले बुनेका छन्, जसले दर्शकलाई हलबाट टसमस हुन दिदैन । एउटा साधारण प्रेमकथा र त्यसका लागि गरिएको द्धन्द्धका कारण तपाई हलसम्म निर्धक्क जान सक्नुहुनेछ ।

कमजोरी के त ?
चलचित्रको समय केही लामो लाग्छ । विशेषगरि, निर्देशकले कुनै कुरा देखाउनका लागि जुन शैलीमा समय खर्चिएका छन् त्यसमा सम्पादन आवश्यक थियो । दोश्रो भागमा आर्यन र मरिष्काको मिलनका लागि खर्चिएको समयमा फास्ट कटिङ गरिदिएको भए हुन्थ्यो । चलचित्रमा आइटम गीतको आवश्यकता त्यती थिएन । चलचित्रको कथावस्तु नयाँ होइन, प्रस्तुती भिन्न हो ।

आर्यन र मरिष्काको काम कस्तो छ ?
चलचित्रमा आर्यन एक्सनमा जमेका छन् । नेपाली चलचित्रमा कुनै नायकले यसरि मिहिनेत गरेर, सिक्स प्याक बनाएर आउँदैनन् । आर्यनको मिहिनेत पर्दामा स्पष्ट देखिएको छ । आर्यनले संवाद बोल्ने शैलीमा केही मिहिनेत गर्न जरुरी छ । तर, यो चलचित्रबाट सवैभन्दा बढी फाइदा कसैलाई छ भने त्यो आर्यनलाई नै भएको छ । नेपाली चलचित्रले एक राम्रो नायक पाएको छ । मरिष्काको कामलाई पनि तारिफ गर्न सकिन्छ । मरिष्का वियोगान्त चलचित्रका लागि सुहाउने पात्र रहिछिन् भन्ने देखिन्छ । उनको संवाद शैलीमा अझै परिपक्कता देखिएको छैन । तर, अभिनय पहिलो चलचित्रको हकमा राम्रै हो ।

समग्रमा
आफ्नो करिअरको चौधौ चलचित्र बनाएका निर्देशक आकाश अधिकारीले ‘के म तिम्रो होइन र’को मेकिङमा कुनै कञ्जुस्याँइ गरेका छैनन् । चलचित्र क्षेत्रमा उदाएका निर्माता सुरेश अधिकारीले दृश्यका लागि खर्चिएको रकम पर्दामा देखिन्छ । तपाई रोचक प्रेमकथा, त्यसमा आउने आरोह-अवरोह र आर्यनको नौलो एक्सन अवतार हेर्न चाहनुहुन्छ भने यो चलचित्र हेर्न हलमा जान सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment