Comments Add Comment

भैरहवा क्षेत्रमै उत्पादन हुन्छ ४० प्रतिशत सिमेन्ट

११ उद्योगबाट दैनिक एक लाख बोरा सिमेन्ट उत्पादन

Cement-Industry-Lumbini
४ जेठ, काठमाडौं । पश्चिम क्षेत्रको औद्योगिक नगर भैरहवा सिमेन्ट उद्योगहरुको ‘हब’ बनेको छ । नेपालका ठूला सिमेन्ट उद्योगहरु भैरहवाको लुम्बिनी औद्योगिक करिडोरमा सञ्चालित छन् ।

नेपाली सिमेन्ट बजारमा भैरहवाका उद्योगहरुको हिस्सा करिव करिव ४० प्रतिशत रहेको छ । अहिले भैरहवामा ११ वटा सिमेन्ट उद्योगहरु रहेका छन् । यी उद्योगबाट दैनिक रुपमा झण्डै एक लाख बोरा सिमेन्ट उत्पादन भइरहेको छ ।

लुम्बिनी औद्योगिक करिडोरमा सिद्धार्थ सिमेन्ट, जगदम्बा सिमेन्ट, रिलायन्स सिमेन्ट, गोयन्का सिमेन्ट, बि्रज सिमेन्ट, सुपि्रम सिमेन्ट, पाठक सिमेन्ट, अम्बुजा सिमेन्ट, अग्नि सिमेन्ट, विशाल सिमेन्ट र अर्घाखाँची सिमेन्ट सञ्चालनमा रहेका छन् ।

पछिल्लो समय भैरहवा उद्योगीहरुको आकर्षण बनिरहेको छ । त्यसमा सबैभन्दा बढी आकर्षण सिमेन्ट उद्योगीको देखिएको छ । भैरहवा नेपालको मध्य भागमा पर्ने हुँदा उत्पादित सिमेन्ट बजारमा पुर्‍याउन सहज भएकाले उद्योगीहरु आकषिर्त भएका हुन् ।

‘सिमेन्ट उत्पादनका हिसावले भैरहवा एक नम्बरमा पर्छ, वीरगञ्ज दोस्रो नम्बरमा पर्छ’ सिद्धार्थ सिमेन्टका सञ्चालक राजेश अग्रवालले भने- ‘सुदुर पूर्व र सुदुर पश्चिम क्षेत्र बराबर रहेका छन् ।’ पछिल्लो समय दाङ लगायतको पश्चिम क्षेत्रमा पनि सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ ।

भैरहवामा सञ्चालित अधिकांश उद्योगहरुले क्षमता विस्तार गर्न चाहिरहेका छन् । तर, सरकारी मापदण्डले १० वटा सिमेन्ट उद्योगलाई क्षमता विस्तार गर्न रोकेको छ । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट १५ किलोमिटरभित्र नयाँ सिमेन्ट उद्योग खोल्न रोक लगाएपछि क्षमता विस्तार गर्ने बाटो रोकिएको हो ।

Cement-Industry-Lumbini-2

लुम्बिनीबाट १५ किलोमिटर बाहिर पर्ने अर्घाखाँची सिमेन्ट उद्योगले क्षमता विस्तार सुरु गरिसकेको छ । दैनिक १२ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको अर्घाखाँचीले क्षमता दोब्बर बनाउँदै छ । सिमेन्ट उद्योगको क्षमता विस्तारमा चार अर्ब रुपैयाँ लगानी थप्न लागेको सञ्चालक पशुपति मुरारकाले बताए ।

सरकारले नीति संशोधन गरेर आधुनिक प्रदुषणरहित प्रविधि अपनाएर सिमेन्ट उत्पादन क्षमता बढाउन दिनुपर्ने उद्योगीको माग छ । विकसित प्रविधि अंगिकार गरेका सिमेन्ट उद्योगहरु प्रदुषणरहित हुने उनीहरुको दाबी छ ।

चर्चित व्यवसायिक घराना शंकर ग्रुपको भैरहवामा दैनिक १२ सय मेट्रिकटन क्षमताको सिमेन्ट उद्योग छ । लुम्बिनीबाट १५ किलोमिटर भित्र पर्ने जगदम्बा सिमेन्ट उद्योगलाई आधुनिकीकरण गर्न लागेको ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रवालले बताए ।

शंकर ग्रुपको वीरगञ्जमा पनि दैनिक १२ सय मेट्रिकटन क्षमताको सिमेन्ट उद्योग छ । वीरगञ्जमा २ हजार मेट्रिकटन क्षमताको नयाँ प्लान्ट थप्न लागेको प्रबन्ध निर्देशक अग्रवालले बताए । भैरहवाको उद्योग आधुनिकीकरण गर्न र वीरगञ्जमा नयाँ प्लान्ट लगाउँदा करिव एक अर्ब लगानी थपिने उनको भनाई छ ।

लुम्बिनी करिडोरमा रहेको सिद्धार्थ सिमेन्ट उद्योगको दैनिक क्षमता ७ सय मेट्रिकटन रहेको छ । सिद्धार्थ सिमेन्टका सञ्चालक राजेश अग्रवालको अर्घाखाँची सिमेन्टमा पनि लगानी रहेको छ । अर्घाखाँचीको क्षमता विस्तारमा उनी पनि जुटेका छन् ।Cement-Industry-Lumbini-3

रिलायन्स सिमेन्ट उद्योगले आफै चुनढुंगाबाट क्लिकंर बनाउँदै आएको छ । रिलायन्सले दैनिक ५ सय मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको छ । भैरहवामा सञ्चालित सिमेन्ट उद्योगमध्ये अर्घाखाँची र जगदम्बा सिमेन्ट सबैभन्दा ठूला उद्योग हुन् । दुबै उद्योगको दैनिक उत्पादन क्षमता १२ सय मेट्रिकटन रहेको छ ।

समस्याहरु

भैरहवामा उद्योग चलाउन सबैभन्दा ठूलो समस्या भनेकै विद्युत हो । सरकारले विद्युतको समस्या समाधन गरेमा ठूला उद्योगहरु खुल्ने सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्मा बताउँछन् ।

यस क्षेत्रको लागि भारतबाट ल्याउन खोजिएको १३२ केभिएको विद्युतमा भारतले चासो नदेखाएको बताउँदै अध्यक्ष शर्माले नेपालबाटै १३२ केभिएको विद्युत ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिए ।

लुम्बिनी औद्योगिक करिडोरका लागिमात्र २ सय मेगावाट विद्युत ल्याउने तयारी भइरहेको अध्यक्ष शर्माले बताए । लुम्बिनी करिडोरमा भैरहवाको ठुटी पिपल, मैनीहवा हुँदै विद्युत लगिने प्रकृया शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment