Comments Add Comment

बुद्धजयन्तीमा स्वयम्भूमा विदेशी पर्यटकलाई प्रवेश निःशुल्क

Nepal World Heritage sites, one year after devastating earthquake (10)
६ जेठ, काठमाडौं। स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले २५६०औँ बुद्धजयन्तीको अवसरमा यही जेठ ८ गते त्यस क्षेत्रमा घुम्न आउने पर्यटकलाई प्रवेश निःशुल्क गर्ने भएको छ ।

सामान्य दिनमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्कराष्ट्र)का पर्यटकलाई ५० तथा अन्य मुलुकका पर्यटकलाई २०० रूपैयाँ लिइँदै आएकामा बुद्धजयन्तीका दिन पर्यटकलाई समेत प्रवेश शुल्क छुट गर्न लागेको हो । महासमितिको यस निर्णयले त्यहाँ आउने पर्यटक लाभान्वित हुने भएका छन् ।

महासमितिका उपाध्यक्ष ज्ञानु लामाले बौद्ध धर्मावलम्बीका लागि बुद्धजयन्तीको दिन ठूलो उत्सव तथा पवित्र दिन भएको र त्यस क्षेत्रमा पर्यटकलाई लाग्ने शुल्क छुट गरी उनीहरुलाई बौद्ध दर्शनको महत्वका बारेमा सन्देश दिन खोजिएको जानकारी दिए ।

महासमितिले मुलुकमा पर्यटक आवागमनको मौसममा विदेशी पर्यटकबाट दैनिक करिब एक लाखभन्दा रूपैयाँ बढी तथा सामान्य अवस्थामा पनि ५० हजार रूपैयाँको हाराहारीमा रकम सङ्कलन गर्दै आएको छ ।

गत वर्ष वैशाख १२ गते आएको भूकम्प तथा त्यसपछिका परकम्पका कारण स्वयम्भूनाथको चैत्यमा ठूलो क्षति पुगेको थियो । त्यसपछि पर्यटकको सङ्ख्यामा कमी आएको महासमितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले बताए ।

सरकार, पुरातत्व विभाग, महासमिति लगायतको सहयोगमा उक्त क्षेत्रमा जीर्णोद्धारका लागि पुनःनिर्माणको कार्य गत वैशाख अन्तिम साताबाट अघि बढाइएको छ । त्यस चैत्य तथा वरपरका अन्य सम्पदालाई नयाँ प्रविधिको प्रयोग गरी मर्मतसम्भार गरिने योजना रहेको महासमितिले जनाएको छ ।

विश्व सम्पदा सूचीमा सूचीकृत त्यस क्षेत्रका चैत्य तथा प्राचीन महत्वका अन्य सम्पदा समेत जोखिममा छन् ।

यसैगरी, महासमितिले यसवर्षको बुद्धजयन्तीका सन्दर्भमा सरसफाइ, रक्तदान, त्यहाँ आउने दर्शनार्थीका लागि भीड व्यवस्थापन, खिर भोजन लगायतका कार्यक्रम सञ्चालन गर्नेछ । त्यसका लागि नेपाल स्काउट, सुरक्षाकर्मी, स्वयम्सेवकलगायत आवश्यक स्थानमा खटाउने व्यवस्था मिलाएको छ ।

छिटोछरितो दर्शनको व्यवस्था तथा महाचैत्यबाट करिब दुई किलोमिटर तल सवारीसाधनको व्यवस्थापनका लागि प्रबन्ध मिलाएको छ ।

सोही दिन स्वयम्भू महाचैत्य तथा हारती माताको मन्दिर परिसरमा विशेष बुद्ध पूजा हुनेछ । महायानी तथा बज्रयानी सम्प्रदायका गरी १५ जना गुरुले उक्त पूजा गर्नेछन् ।

महासमितिका कोषाध्यक्ष पुण्यसागर लामाले यसवर्षको बुद्धजयन्तीमा विभिन्न कार्यक्रमलाई व्यवस्थित गर्न करिब रु आठ लाख खर्च विनियोजन गरिएको जानकारी दिए । बुद्धजयन्तीका दिन स्वदेशी तथा विदेशी गरी एक लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

उक्त महाचैत्यको उत्पत्तिका बारेमा विभिन्न किसिमका पौराणिक कथा सुन्न पाइए पनि काठमाडौँ उपत्यकाको प्राचीन सम्पदामध्ये एक महत्वपूर्ण तथा बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलका रुपमा विकास भएको छ । हिन्दू धर्मावलम्बीले समेत उक्त स्थानमा दर्शन गर्ने र आस्था प्रकट गर्ने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment