Comments Add Comment

बुद्ध जयन्ती आज, लुम्बिनीमा विशेष समारोहको आयोजना

Lumbini (17)८ वेशाख, काठमाडौं ।  वैशाख शुक्ल पूर्णिमाका दिन शनिबार देशभर २५६०औँ बुद्ध जयन्ती  बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । सो अवसरमा लुम्बिनीमा विशेष समारोहको आयोजना गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा विभिन्न २८ देशका बुद्ध विद्धान्,भिक्षुहरुको सहभागिता रहने छ ।

नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा निस्किएका थिए ।

६ वर्षको तपस्यापछि ३५ वर्षको उमेरमा भारतको बौद्धगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रुपमा  विश्व प्रसिद्धि भए । ३६ वर्षको उमेरमा सारनाथमा बुद्धले पहिलोपटक पाँच जना शिष्यलाई प्रवचन गरेको  बौद्ध दर्शनको खोज अनुसन्धानमा लागेका बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले बताए ।

“सारनाथमा चार आर्य सत्यका विषयमा बुद्धले पहिलो प्रवचन गर्नुभयो, जसमा संसार दुखैदुःखले व्याप्त छ, दुःखको कारण छ, दुःखको अन्त्य हुन सक्छ र दुःखको अन्त्यको उपाय वा मार्ग पनि छन् भन्ने विषय थियो”– उनले भने ।

यसका साथै बुद्धले आर्य अष्टाङ्गिक मार्ग र पञ्चशीलको उपदेश पनि दिएका छन् ।  आर्य अष्टाङ्गिक मार्गमा सम्यक दृष्टि, सम्यक सङ्कल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक जीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि पर्दछन् ।

यसैगरी, पञ्चशीलमा चोरी नगर्नु, झुठो नबोल्नु, यौन व्यभिचार नगर्नु, मद्यपान नगर्नु र हिंसा नगर्नु रहेका छन् । मानव समुदायका लागि आवश्यक यी उपदेश दिएकैले बुद्धलाई एसियाका तारा उपाधिले पनि सम्मान प्रकट गरिन्छ ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवान्को नवौँ अवतार मान्दछ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

काठमाडौँको बौद्ध, स्वयम्भूनाथ, चाबहिलस्थित चारुमति विहारलगायतका बौद्ध विहार, गुम्बा, स्तूप, चैत्य, रुपन्देहीको लुम्बिनी, काभे्रपलाञ्चोकको नमोबुद्धलगायत स्थानमा बुद्ध मूर्तिसहित शोभा यात्रा र शान्ति र्याली निकालिन्छ ।

यसअवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध स्तूपको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व समेटिएको बौद्ध महाचैत्य (द ग्रेट बौद्ध स्तूप) पुस्तक सार्वजनिक गरिने भएको छ । बौद्ध धर्मका ञिङमा, शाक्य, गेलुक र काग्यु चारवटै सम्प्रदायका धर्मगुरुलाई बोलाएर ‘मानव जीवनमा बुद्ध वचनको महत्व’ विषयमा प्रवचन गरिने समितिका अध्यक्ष लामाले जानकारी दिए ।

बौद्धमा बिहान ७ बजे बुद्धको मूर्ति र अस्थि धातुसहित प्रभातफेरी एवम् दिउँसो ३ बजे शोभा यात्रा निकालिनेछ । प्रभातफेरी र शोभा यात्रामा ‘बुद्धम् शरणम् गच्छामी’, ‘धम्मम् शरणम् गच्छामी’ र ‘सङ्घम् शरणम् गच्छामी’ को नारा लगाइन्छ । बेलुकी बौद्ध स्तूप परिसर एवम् बौद्ध क्षेत्रका घरघरमा दीप प्रज्वलन गरिने कार्यक्रम रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment