Comments Add Comment

दशबुँदे घोषणापत्र जारी गर्दै बौद्ध सम्मेलन सम्पन्न

Buddha Jayanti At Lumbani (9)

८ जेठ, काठमाडौं । दशबुँदे घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सम्पन्न भएको छ ।

लुम्बिनीमा २५६०औं बुद्ध जयन्तीको अवसर पारेर सरकारले काठमाडौंमा ६ र ७ गते बौद्ध सम्मेलन आयोजना गरेको थियो । तेस्रो दिन लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा दशबुँदे घोषणापत्र सार्वजनिक गरिएको छ ।

समारोहमा झण्डै ५० हजार स्वदेशी विदेशी पाहुनाहरु सहभागी भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । उनले भने, ‘बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह भव्य रुपमा सम्पन्न भयो, उत्तिकै प्रतिफलमुखी पनि भयो ।’

लुम्बिनीको समारोहमा राष्ट्रपति विद्या भण्डारी प्रमुख अतिथि थिए भने प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए ।

यस्तो छ १० बुँदे घोषणापत्र

विश्वका २८ मुलुकका बुद्धिजिवी र भिक्षुहरु सहभागी भएको सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनमा सहभागीहरुले नेपाल बुद्ध जन्मेको देशमात्र नभई बुद्ध धर्मको उद्गम स्थल र बुद्धको कर्मथलो भएको स्वीकार गरेका छन् ।

यो बुँदा पारित हुनु सबैभन्दा उपलब्धीमुलक रहेको मन्त्री पोखरेलले बताए । ‘दोस्रो बुँदामा बुद्ध धर्म एशियाको मात्र ज्योती होइन, समग्र विश्वकै ज्योती हो, विश्व शान्तीको प्रस्थान बिन्दु नेपाल हो भन्ने कुरा पनि पारित भएको छ’ मन्त्री पोखरेलले भने ।

यसैगरी बुद्धको शरिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने पनि घोषणापत्रमा उल्लेख छ । लुम्बिनी विकासको मास्टर प्लान बनाउने र लुम्बिनी, तिलौराकोट, देवदह तथा रामग्रामलाई बराबरी विकास गर्ने पनि सहमति भएको छ ।

लुम्बिनी विश्वविद्यालयलाई सेन्टर फर एक्सिलेन्ट बनाउने १० बु्ँदेमा घोषणा भएको छ । बुद्धले बुद्धत्व प्राप्त गरेको भारतको बोधगया, ज्ञान बाँडेको भारतकै सारनाथ र बुद्धले मृत्यूवरण गरेको भारतकै कुशीनगरको पनि बराबरी विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी ग्लोबल बुद्धिष्ट फोरम बनाउने घोषणा पनि गरिएको छ । यसको उद्देश्य विश्वभर शान्ती र भाइचाराको विकास गर्ने, मानवीय शान्ति, जनावरको अधिकार लगायतका कामहरु गर्ने छ ।

बौद्ध सम्मेलन तथा बुद्ध जयन्ती समारोहमा २८ राष्ट्रका ३८५ जना विद्धान तथा भिक्षुहरुको सहभागिता रहृयो । सम्मेलनमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, कम्बोडिया, चीन, जर्मनी भारत, जापान, लुथानिया, मलेसिया, मंगोलिया, कतार, रोमानिया, साउथ कोरिया, श्रीलंका, स्वीट्जरल्यान्ड, थाइल्याण्ड, टर्की, युके, अमेरिका, भेइतनामका विद्धान र विक्षुहरु सहभागी भए ।

सम्मेलनमा भारतबाट ९ जनाको टोली आएको थियो भने चीनबाट ३०१ जना, कोरियाबाट ९ जना, थाइल्यान्डबाट १४ जना, अमेरिकाबाट ७ जना सम्मेलनमा भाग लिन आए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment