Comments Add Comment

मुगु सदरमुकाम गमगढीमा पहिलोपटक बस पुग्यो

७४ वर्षीय गोर्खबहादुर भन्छन्- सपनाजस्तो लागेको छ

Mugu-Gamgadhi-Bus९ जेठ, गमगढी । मुगु जिल्लाको सदरमुकाम गमगढीमा पहिलोपटक यात्रुबाहक बस पुगेको छ । नाग्म-गमगढी ९४ किलोमिटर लामो सडकको ट्र्याक खोलिएको चार वर्षपछि मुगु सदरमुकाममा पहिलोपटक बस पुगेको हो ।

शनिबार साँझ रारा छायाँनाथ यातायात सेवाका दुईवटा बस बाँकेको नेपालगञ्जबाट गमगढी आएका छन् । गमगढीबासीले बाजागाजा, फूलमाला र अबिरले बस, बसका चालक तथा यात्रुहरुको भव्य स्वागत गरे ।

विगतमा कष्टकर यात्रा गर्न बाध्य स्थानीयबासी बस सेवा सुरु भएपछि निकै खुसी छन् । गमगढीबासी ७४ वर्षीय गोर्खबहादुर मल्लले भने, ‘घर छेउँमै बस आउँदा मलाई त सपनाजस्तो लागेको छ । अब हामी मुगालीका दुःख हट्ने भए ।’

बसलाई नजिकैबाट हेर्न मुगालीको घुइँचो लागेको थियो । सदरमुकाम आसपासका गाउँबाट पनि मानिसहरु बस हेर्न आएका थिए ।

Mugu-Gamgadhi-Bus

०६९ साल पुस १ गते ट्रयाक मात्र खोलेर उदघाटन गरिएको नाग्म-गमगढी सडकखण्डमा यात्रु बस चलेको यो नै पहिलोपटक हो । ट्रयाक खोलेको केहि बर्षसम्म मिनी ट्रक र ट्याक्टरहरु जोखिम मोलेर कहिलेकाहिँ मात्र ओहोर-दोहोर गर्दा पनि मुगालीले ठूलो राहत महसुस गरेका थिए । गत बर्षबाट कतिपय ठाउँमा बाटो चौडा बनाएपछि र ग्राबलिङ गरेपछि ठूला ट्रकसमेत आउन थालेका थिए । यातायात सहज बन्दै गएपछि बिस्तारै गमगढी बजार व्यापारीक केन्द्र बन्न थाल्यो । मानिसहरुको चहल-पहल र चाप बढ्ने क्रम तिब्र हुँदै गएपछि उद्योग वाणिज्य संघको पहलमा बस सेवा सञ्चालन गरिएको हो ।

उद्योग वाणिज्य संघ मुगुका केन्द्रीय सदस्य एवम् रारा छायाँनाथ बस व्यवसायी संघका अध्यक्ष नरवीर रावतको पहलमा ना ६ ख ३८०१ र ना ६ ख २८५३ का दुईवटा बसले गमगढीदेखि बाँकेको नेपालगञ्जसम्म सिधा सेवा सुरु गरेका छन् ।

गमगढीदेखि नेपालगञ्जसम्म २२ सय भाडा

मुगु सदरमुकाम गमगढीदेखि नेपालगञ्जसम्मको भाडा २ हजार २ सय रुपैयाँ तोकिएको छ । जुम्लाका लागि ९ सय र सुर्खेतका लागि २ हजार रुपैयाँ भाडा तोकिएको छ ।

यसैगरी गमगढीदेखि चाल्चसम्म एकसय, पिनासम्म दुई सय, गोठीजिउलासम्म ४ सय ५० रुपैयाँ भाडा दर कायम गरिएको रारा छायाँनाथ बस व्यवसायी संघका अध्यक्ष नरवीर रावतले बताए ।

मुगालीले नाग्म-गमगढी सडकखण्ड चाँडै कालोपत्रे गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment