१० जेठ, सप्तरी । राजविराज ९ स्थित गौरी कुमारी यादवको घरमा भाडा लिएर बसेका शैलेश सिंह एक्कासी झस्किए । उनी झस्किनुको कारण थियो, ‘एक महिनामै विजुलीको मिटरमा ३ सय ६५ युनिट खपत हुनु ।’
टाउकोमा हात राख्दै उनले नेपाल विद्युत प्राधिकरणलाई रकम बुझाए । एक परिवार मात्रै रहेको कोठामा कसरी यति धेरै युनिट उठ्यो भन्ने कुरा उनको मनमा खेलीरह्यो ।
चैत महिनामा ३ हजार ९ सय ८१ रुपैयाँ महसुल बुझाएर दुःखी भएका उनी जेठ महिनामा प्राधिकरणले पठाएको बिल हेरेर भने खुशी भए । बिलमा त ५० युनिट मात्रै उठेको रहेछ । ५० युनिट बराबरको तीन सय ६५ रुपैयाँ मात्रै बुझाउनुपर्यो भनेर उनी मख्ख परे ।
उनको दुःखी र खुसी हुनु आफ्नो ठाउँमा छँदैथियो । एक महिनामै यत्रो धेरै युनिट खपत हुनु र अर्काे महिनामा यत्रो कम खपत हुनुको कारण भने अर्कै देखापर्यो । कारण निस्कियो, ‘प्राधिकरण कर्मचारीको चरम लापर्वाही ।’
प्राधिकरणका कर्मचारीहरुले मिटर नै नहेरिकन आफूखुसी बिलमा युनिट उल्लेख गर्ने र त्यस अनुरुपको रकम भरेर ग्राहकलाई दिने गरेको भेद खुलेको छ ।
यसरी खुल्यो भेद
जेठ महिनाको बिलमा ५० यूनिट विजुली खपत भएको देखाएको छ । साविकको अंक ७४४७ तथा हालको ७४९७ देखाएर ५० यूनिट खपत भएको कर्मचारीले बिलमा उल्लेख गरेका छन् ।
सिंहले घरको मिटरमा हेर्दा अर्कै अंक पाइयो । उनी झसँग भए । मिटरमा ७५७२ अंक मात्र देखियो । ‘साविकको अंक र हालको अंक भिडाउँदा त १ सय २५ युनिट खपत भएको हुनुपर्नेमा प्राधिकरणले पठाएको बिलमा ५० यूनिट मात्रै खपत भएको उल्लेख गरिएको रहेछ,’ सिंहले भने, ‘यसले कर्मचारीहरुले आफ्नै मन अनुसारको काम गरिरहेको पुष्टि भएको छ ।’
चैत महिनाको बिलमा ३ सय ६५ युनिट देखाएको बेला यत्रो खपत कसरी भयो ? भनेर कर्मचारीसँग प्रश्न राख्दा मिटर बिग्रेको हुन सक्ने भनेर प्रतिकृया दिएका थिए । सिंहले प्राधिकरणमा निवेदन दिएर मिटरको जाँच गराए पनि ।
तर, त्यही प्राधिकरणका कर्मचारीले कुनै खराबी नभएको प्रतिकृया दिएका थिए । ‘कर्मचारीले मिटर ठीक रहेको बताएपनि चैत महिनामा ३ सय ६५ यूनिट र जेठमा ५० यूनिट मात्र देखाएपछि शंका लागेर मिटरको अंक हेरें,’ उनले भने, ‘मिटरभन्दा कर्मचारी नै बिग्रेको पाइएको छ ।
बिल बुझाउने काम मात्रै
ग्राहकको मिटर हेरेर खपत भएको यूनिट निकाल्नुपर्नेमा कर्मचारीहरु मिटर हेर्दै नहेरी आफ्नै मनले युनिट र त्यस वापतको रकम भर्ने गरेको यो दृष्टान्त भने कुनै नौलो होइन । सप्तरीमा मात्रै धेरैपटक यस्तो गुनासो आएपनि कर्मचारीहरुले बानी सुधारेका छैनन् ।
राजविराज ५ का अशोक यादवले पनि धेरै पटक विद्युत प्राधिकरणका कर्मचारीहरुले यस्तो गर्ने गरेको बताउँछन् । कुनै महिना कम युनिट हालिदिने र कुनै महिना अत्यधिक देखाएर बिल पठाउने गरिएको उनले बताए ।
ग्राहकलाई घाटा
नेपाल विद्युत प्राधिकरणले २० यूनिटसम्म खपत गर्ने ग्राहकका लागि ८० रुपैयाँ महशुल तोकेको छ । २१ देखि ५० यूनिटसम्म खपत गर्नेसँग प्रति यूनिट सात रुपैयाँ ३० पैसा, ५१ देखि १ सय ५० यूनिटसम्म खपत गर्नेसँग प्रति युनिट आठ रुपैयाँ ६० पैसा, १ सय ५१ देखि २ सय ५० यूनिटसम्म खपत गर्नेसँग प्रति युनिट नौ रुपैयाँ ५० पैसा र २ सय ५१ देखिमाथि युनिट प्रयोग गर्नेसँग ११ रुपैयाँ प्रति यूनिट महशुल निर्धारण गरेको छ ।
तर बिलमा आफ्नै मनले युनिट र महसुल वापतको रकम तोक्दा ग्राहकहरुलाई बढी रुपैयाँ तिर्नुपर्ने बाध्यता छ । ५० यूनिटसम्म बिजुलीको खपत गर्नेलाई प्रति यूनिट सात रुपैयाँ ३० पैसा तिर्नुपर्नेमा बढी युनिट उल्लेख गर्दा त्यस अनुरुपको रकम तिर्नुपरिरहेको छ । यसले सेवाग्राही मारमा पर्ने गरेका छन् ।
यस बिषयमा प्रतिकृया लिन खोज्दा नेपाल विद्युत प्राधिकरण शाखा राजविराजका प्रमुख रामउदगार साहसँग सम्पर्क हुन सकेन ।
प्रतिक्रिया 4