Comments Add Comment

एक बर्षमै साढे ४ अर्ब रुपैयाँ थपियो घले दम्पत्तिको सम्पत्ति

अष्ट्रेलियाका धनाढ्यको सूचीमा १०५ औं नम्बरमा

Shesh-Ghale-Hotel-Sheratan-Press-Meet१४ जेठ, काठमाडौं । अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङको सम्पत्ति यो बर्ष ५ करोड ८० लाख डलर (करिव ४ अर्ब ४६ करोड रुपैयाँ) ले थपिएको छ ।

सूची प्रकाशन गर्दै आएको अष्ट्रेलियाको बीआरडब्लु म्यागेजिनले सन् २०१६ को सूची शुक्रबार बिहान प्रकाशन गरेको छ । जसमा घले दम्पत्ति कुल ५८ करोड ६० लाख डलर सम्पत्तिसहित सूचीको १०५ औं स्थानमा परेका छन् ।

गत बर्ष सूचीको १०० औं स्थानमा परेका घले दम्पत्तिको सम्पत्ति ५२ करोड ८० लाख अष्ट्रेलियन डलर रहेको थियो ।

एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुले संयुक्तरुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी-एमआइटी)मा बिभिन्न देशका करिव ३ हजार ५ सय बिदेशी बिद्यार्थी अध्ययनरत छन् ।

यसैगरी एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेटल तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ ।

सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)को नेतृत्व गरिरहेका घलेले नेपालमा पनि लगानी गरिरहेका छन् ।

उनको लगानीमा काठमाण्डौमा शेराटन होटल निर्माण भइरहेको छ जसको लागत झण्डै १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उनीहरुले हालै युरोपमा पनि होटल क्षेत्रमा लगानी विस्तार गरेका छन् ।

घले दम्पत्तिले नेपालमा परोपकारी क्षेत्रमासमेत काम गरिरहेका छन् । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी उनीहरुले गत बर्षमात्रै एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छन् । यो नै नेपालको अहिलेसम्मको ठूलो निजी क्षेत्रको परोपकारी कोष हो ।

सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले त्यहाँ कठिन संर्घष गरी सफलता हाँसिल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment