१४ जेठ, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले बेचबिखनमा संलग्न भएको आरोपमा उदयपुर, बेलटार बस्ने ३१ वर्षीया बिना तामाङ र उदयपुर पुरन्दह बस्ने २५ वर्षीया बालकुमारी विकलाई बिहीबार पक्राउ गरेको हो ।
विभिन्न बाहाना तथा वैदेशिक रोजगारको प्रलोभन देखाइ काँकडभित्ता हुँदै भारतको राजधानी नयाँ दिल्लीबाट कुबेत पठाउन लागिएका चार महिलालाई विशेष सूचनाका आधारमा महाशाखाको टोलीले कोटेश्वरबाट बिहीबार उद्धार गरेको थियो ।
प्रहरीले कोटेश्वरबाट काँकडभित्तातर्फ जाँदै गरेका अवस्थामा बा१ज ३१२१ नंको भाडाको हाइस गाडीमा जाँच गर्ने क्रममा चार जना पीडित महिलासहित बेचबिखनमा संलग्न दुई महिलालाई पक्राउ गरेको हो ।
तामाङ र विकलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दाका कारबाहीका लागि महानगरीय परिसर काठमाडौँमा पठाएको महाशाखाले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगार विभागमार्फत श्रम स्वीकृति लिएरमात्रै जान पाउने कानुनी प्रावधान भए पनि दलालले भारतको बाटो हुँदै महिलालाई लैजाने गरेका छन् ।
प्रतिक्रिया 4