१८ जेठ, काठमाडौं । नेपालमा करिब हप्तादेखि परेको अविरल वर्षाका कारण मानिसमा विभिन्नखाले रोग निम्तने खतरा बढेको छ ।
दुषित पानी र बढ्दो प्रदुषणका कारण उनीहरुमा झाडापखाला, जण्डिस, टाइफाइड, फुड प्वाइजनिङ्ग जस्ता समस्या देखा पर्ने जोखिम बढेको हो ।
यस प्रकारको रोग विशेष गरी पानीबाट सर्ने गर्छ । यसलाई मौसरी रोग अर्थात ‘भाइरल इन्फ्लुएन्जा’ पनि भनिन्छ । यस्ता रोगबाट बच्न शुद्ध पानी तथा सरसफाईमा विशेष ध्यान दिनुपर्ने वरिष्ठ जेनेरल फिजिसियन डाक्टर डि.पी सिंह बताउँछन् ।
डा. सिंहका अनुसार दुषित पानीका कारण मानिसमा झाडापखाला, जण्डिस, टाइफाइड लगायतका रोग बढी मात्रामा देखा पर्छन् । यस्ता रोग एउटा मानिसबाट अर्को मानिसमा सजिलै सर्न सक्छ ।
त्यसैगरी दुषित हावा तथा बढ्दो प्रदुषणका कारण कमजोर स्वास्थ्य अवस्था भएका व्यक्तिहरुमा रुघाखोकी, ज्वरो, दम, निमोनिया लगायत स्वास प्रश्वास तथा छाती सम्बन्धी समस्या देखा पर्छन् । यस्ता समस्या विशेष गरी चिसो मौसममा बढी देखिन्छ ।
बढ्दो तापक्रमका कारण यी रोगका जिवाणु तिव्र गतिमा पैदा हुन्छन् । र, तापक्रम घट्दै जादा सकि्रय हुन थाल्छन् । अनि कमजोर पाचन शक्ति भएका मानिसलाई यस्ता रोगले सजिलै आक्रमण गर्छ । यस्तो बेलामा यी रोगबाट बच्न बालबालिका तथा बृद्धबृद्धालाई न्यायो कपडा लगाइदिनुपर्छ । झिंगा भन्केका खानेकुराबाट टाढै राख्नुपर्छ । त्यसैगरी सरसफाईमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म उमालेको तथा क्लोरिन हालेको पानी पिउनुपर्छ ।
‘यसका साथै महानगरपालिकाले पनि शहरको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । सडक प्रयोगकर्ताहरुलाई सार्वजनिक शौचालयको प्रयोग निःशुल्क रुपमा प्रयोग गर्न दिनुपर्छ तथा सडकमा दिशा पिशा गर्नबाट रोक लगाउनु पर्छ’, डा. सिंहले अनलाइनखबरसित भने, ‘अनिमात्र यो समयमा माहामारीको जाखिम कम हुनसक्छ ।’
रोगका लक्षणः
यस्तो रोगका लक्षणहरुमा टाउको दुख्ने, घाँटी दुख्ने, रुघाखोकी, अचानक ज्वरो आउने, छातीमा समस्या देखिने, झाडापखाला लगायत छन् ।
बच्ने उपायः
यस्तो रोगबाट बच्नका लागि शुद्ध तथा उमालेको पानी पिउने र सरसफाइमा विशेष ध्यान दिने सुझाव डाक्टरहरुले दिएका छन् । साथै झिंगा भन्केका खानेकुरा नखाने, फलफुल, सागपात लगायतका खानेकुरा राम्ररी धोएर, पखालेर मात्र खाने विज्ञहरुको सुझाव छ ।
प्रतिक्रिया 4