१८ जेठ, ललितपुर । वन तथा भू-संरक्षणमन्त्री अग्नी सापकोटाले वन क्षेत्रका सहयोग र अनुदान दिने दाता घटेकोमा चिन्ता ब्यक्त गरेका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघको मंगलबारदेखि ललितपुरमा शुरु भएको सातौं राष्ट्रिय परिषद उदघाटन गर्दै वनमन्त्री सापकोटाले नेपालका कारण नभइ दाताहरु आफ्नै समस्याले सहयोग गर्न पछि हटेको बताए ।
‘हामीले खोजी नीति गर्यौं । कतै हाम्रै कारणले त दाता पछि हटेका होइनन्, तर बुझ्दै जाँदा उनीहरु आफ्नै समस्याले सहयोग नगर्ने भएका हुन्’, उनले दाताको सहयोग हटेको भए पनि समग्र वन क्षेत्रको बजेटमा भने कुनै कमि नआएको जिकिर गरे ।
वन क्षेत्रका सरोकारवालाहरुले सामुदायिक वनमा बजेट घटाएको भनेर गरेको दुःखेसोलाई स्वीकार गर्दै मन्त्री सापकोटाले नीति तथा कार्यक्रमको स्पिडमा बजेट नआएको पनि स्वीकारे । उनले सामुदायिक वन क्षेत्रका लागि बजेट कम भए पनि काम गर्दै जाँदा थप व्यवस्था गरिने आश्वासन दिए ।
उनले भने, ‘सामुदायिक वनमा कम बजेट आएको हो । काम गर्दै जाँदा अन्य क्षेत्रबाट बजेट व्यवस्थापन गर्न सकिन्छ । मैले यस विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गरेको छु ।’
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघले पूर्वमन्त्री वीरमणि ढकालसहित ११ जनालाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा प्रा. डा. तेजबहादुर महत, नीलप्रसाद भण्डारी, छटुलाल यादव, सुदन देवी सदा, हरि श्रीपाइली, फेकोफन बर्दिया, तुल्सी अधिकारी, झनक खत्री, ओमी गुरुङ र सृजन शर्मा छन् ।
प्रतिक्रिया 4