Comments Add Comment

तारे होटलमा बसेर होमस्टेको खर्च, दुईदिने कार्यक्रममा ३७ लाख बजेट

Aananda Pokhrel२१ जेठ, काठमाडौं । प्राय: चहलपहल देखिने पर्यटन मन्त्रालय बिहीबार साढे १ बजे नै सुनसान भयो । पर्यटनमन्त्रीदेखि सचिव, सहसचिव र उपसचिवका कार्यकक्षमध्ये कतिपयका ढोकामा ताला थियो भने केहीमा चुकुल मात्र लागेको थियो ।

कतिपय कोठाका ढोका खुलै भए पनि कार्यकक्षमा कर्मचारी थिएनन् । केही अधिकृत र तल्लो तहका कर्मचारी भने कार्यालयमा थिए । करिब सवा दुई बजे प्राविधिकतर्फका एक उपसचिव र एक शाखा अधिकृत मन्त्रालयको गेटमा भेटिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

भेटिनासाथ उनीहरूमध्ये एकले ठट्यौली पारामा भने, ‘मन्त्रालयमा कोही छैन भन्ठान्नुभएको होला, अड्डा सम्हाल्न हामी बसेका छौँ ।’ उनीहरू खाजा खाएर फर्किएका थिए ।

पर्यटन मन्त्रालय र सार्क सचिवालयको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सार्कस्तरीय ग्रामीण पर्यटन कार्यशालामा भाग लिन उच्चपदस्थ कर्मचारी ललितपुरको गोदावरीस्थित एक तारे होटेलतिर लागेपछि मन्त्रालय रित्तिएको हो । मन्त्रालयका मात्र होइन, नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायत निकायका उच्चपदस्थ अधिकारीसमेत आवासीय कार्यशालाका लागि गोदावरी पुगेका छन् ।

मन्त्रालय स्रोतका अनुसार ग्रामीण पर्यटनसँग सम्बन्धित भएकाले कार्यक्रम उपत्यकाबाहिरका होमस्टेमा गर्ने तयारी थियो । त्यसका लागि दुई सदस्यीय समिति बनाएर अध्ययन थालिएको थियो ।

समितिले लमजुङको घलेगाउँ, नवलपरासीको अमलटारी र बर्दियाको डल्ला होमस्टेमध्ये एक स्थानमा कार्यशाला गर्न उपयुक्त हुने प्रतिवेदन बुझाएको थियो । पछि मन्त्रालयले वर्षालाई कारण बनाएर तारे होटेलमा कार्यशाला गर्ने निर्णय गरेको हो । दुईदिने कार्यक्रम, ३७ लाख बजेट सरकारी कर्मचारीसहितका पाहुनाका लागि बिहीबार होटेलमै बास बस्ने व्यवस्था मिलाइएको छ । शुक्रबार मात्र नगरकोटस्थित बास्तोला होमस्टे भ्रमण गराउने कार्यक्रम तय गरिएको छ ।

मन्त्रालय स्रोतका अनुसार कार्याशालाका लागि करिब ३७ लाख रुपैयाँ बजेट छुट्याइएको छ । त्यसमध्ये पर्यटन मन्त्रालयले १० लाख रुपैयाँ व्यहोर्नेछ । बाँकी बजेट भने सार्क सचिवालयको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment