Comments Add Comment

सरकारलाई छिमेकीको सहयोग र भरोसा छः एमाले

असमझदारीसमेत हटिसकेको दाबी

Kp oli And Modi (4)

२३ जेठ, काठमाडौं । नेकपा एमालेले आफ्नो नेतृत्वको सरकारलाई छिमेकी राष्ट्रबाट ‘उदारमना सहयोग’ र ‘भरोसा’ प्राप्त भइरहेको बताएको छ ।

एमाले सचिव प्रदीप ज्ञवालीले आइतबार एक विज्ञप्ति जारी गर्दै छिमेकी राष्ट्रसँग देखिएको असमझदारीसमेत हटिसकेको स्पष्ट पारेका छन् । शान्ति प्रक्रिया र संविधान निर्माण प्रक्रियाका साथै भूकम्पका बेलामा पनि छिमेकीले उदारमनले सहयोग गरेको भन्दै ज्ञवालीले मित्रराष्ट्रको भूमिकाको प्रशंसा गरेका छन् ।

ज्ञवालीले विज्ञप्तिमा भनेका छन्- ‘शान्ति प्रक्रिया र संविधान निर्माणमा हाम्रा मित्रराष्ट्रहरूको सदैव सदभाव रहँदै आएको छ । विनाशकारी भूकम्पपछि उद्दार तथा राहत कार्यमा प्राप्त अन्तर्राष्ट्रिय सहयोग, पुननिर्माणमा व्यक्त उदारमना सहायता एवम् संविधान कार्यान्वयनमा निरन्तर समर्थनले नेपाललाई कठिन समयमा पनि अगाडि बढ्ने भरोसा प्राप्त भएको छ ।’

एमाले सचिव ज्ञवालीले वर्तमान सरकार संविधानको कार्यान्वयन र मुलुकको आर्थिक समृद्धिका निम्ति छिमेकी मित्रहरू लगायत सबै मित्र राष्ट्रहरूबाट अझ फराकिलो साथ र सहयोग प्राप्त हुने विश्वासका साथ सहकार्यमा रहेको बताएका छन् ।

यस सन्दर्भमा केही समय अगाडि देखापरेका असहजताहरू पनि समाप्त भएर सम्बन्धको नयाँ आयाम प्रारम्भ भएको ज्ञवालीको भनाइ छ ।

शनिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ओलीले भारत र अमेरिकाको विरोध नगरेको एमालेले वक्तव्यमार्फत स्पष्ट पारेको छ ।

आइतबार प्रकाशित एउटा दैनिक पत्रिकाले प्रधानमन्त्री केपी ओलीलाई उधृत गर्दै भारत र अमेरिका एमालेविरुद्ध देखिएको व्यहोराको समाचार छापेको थियो । सो समाचारको खण्डन गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले छिमेकीसँग सम्बन्ध राम्रो बनेको बताएका हुन् ।

एमाले सचिव ज्ञवालीले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा छिमेकी मित्र राष्ट्रले उदारमनले सहयोग गर्दै आएको बताएका छन् ।

पढ्नुस् बिज्ञप्ति

UML

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment