Comments Add Comment

केडिया अपहरणकाण्डः सिपाही र हवल्दारलाई कार्वाही, कमाण्डरलाई उन्मुक्ति ?

दोषि देखिए एसपीलाई पनि कार्वाही हुन्छः गृह

२४ जेठ, काठमाडौं । नेपालीमा एउटा आहान छ- ठूलालाई चैन, सानालाई ऐन । ठ्याक्कै यही आहान अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा लागु भएको छ ।

Suresh-Kediyaव्यवसायी सुरेश केडिया अपहरणकाण्डमा आफ्नो सुरक्षा कमजोरी रहेको स्वीकारेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले सिपाही, हबल्दार लगायत तल्ला तहका सुरक्षाकर्मीलाई कारबाही प्रक्रिया अगाडि बढाएका छन् । तर, तिनीहरुका कमाण्डर एसपीलाई भने उन्मुक्ति दिइएको छ । जबकी कुनै पनि संगठन वा समूहको असफलता वा असफलताको भागिदार त्यसको नेतृत्व अर्थात् कमाण्डर हुन्छ ।

सीमामा समस्या

भारतीय भूमीबाट हतियारधारी समूह १४ किलोमिटर भित्र नेपाली भूमिमा छिर्छ र दिनदहाडै नेपाली उद्योगपति सुरेश केडियालाई अपहरण गरेर लैजान्छ तै पनि प्रहरीकै सामुन्नेबाट ।

केडियालाई अपहरण गरेर लगिएको भारतीय नम्बर प्लेटको सेतो स्कार्पियो गाडीलाई रोक्न नसकेको भन्दै सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरी बल बारा तलेकुवा सुरक्षा बेसका निरिक्षक हेमराज न्यौपाने र कवहीगोठ बोर्डर आउट पोष्टमा नायब निरीक्षक चन्द्रशम्शेर कुँवरसहित एक हवल्दार र एक जवानलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले निलम्बन गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । तर, बारा जिल्लाकै सीमा सुरक्षाको कमाण्ड सम्हालेर बसेका सशस्त्रकै एसपी मोहन सिंह केसीलाई भने कुनै कारबाही गरिएको छैन ।

त्यसो त नेपाल प्रहरीले पनि आफना हवल्दार र सिपाहीलाई मात्रै निलम्बन गरेको छ । मध्यक्षेत्रीय प्रहरी कार्यालयले हबल्दार तेजबहादुर, जवानहरु प्रमोदकुमार यादव, बुनिल महतो र सुरेन्द्र प्रसाद साहलाई निलम्बन गरेको छ । घटनाको समयमा डियुटी हुँदा अपरहणकारीको गाडी रोक्न नसकेको भन्दै उनीहरुलाई निलम्बन गरेको हो । जिल्लाकै सुरक्षा जिम्मेवारी सम्हालेका एसपी नरेन्द्र उपे्रतीलाई कुनै कार्वाही भएको छैन ।

कार्वाहीमा परेका हवल्दार र जवानहरुलाई जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी बिनोद शर्माको नेतृत्वमा गठित छानविन समितिले दोषि देखाएको हो ।

ड्युटीमा खटिएका प्रहरी दोषि हुन सक्छन् तर अपहरण भएको खबर पाएलगत्तै सीमा सिल गर्ने आदेश दिन सकिन्थ्यो । सीमा क्षेत्रमा प्रहरी तैनाथी बढाउन सकिन्थ्यो, त्यो सबै काम कमाण्डरको हो । तर, कमाण्डरले त्यो काम किन गर्न सकेन गम्भीर प्रश्न र आशंका उब्जिएको छ ।

कमाण्डर माथि पनि छानविन हुनुपर्छ: पूर्व एआइजी ढकाल

तराइ जस्तो जिल्ला त्यसमा पनि सीमा सुरक्षा खटिएका आफ्ना कर्मचारी कसरी परिचालन गर्ने भन्ने जिल्लाका एसपीहरुको योजनामा भर पर्छ ।

तर बारामा गत साता भएको केडिया अपहरण काण्डले भने सीमा सुरक्षाको नेतृत्व सम्हालेका अधिकृतहरु कम्जोर देखिएका छन् । १४ किलोमिटर भित्रदेखि मान्छे अपहरण गरेर लैजाँदासम्म सही तरिकाले आफ्ना कर्मचारी परिचालन गर्न नसकेको हो भने एसपीहरुलाई पनि कार्वाही हुनुपर्ने पूर्व एआइजी नवराज ढकाल बताउँछन् ।

उनले भने, ‘घटना भएको समयमा सीमामा खटिएका सुरक्षाकर्मी पहिला जिम्मेवार हुनुपर्छ तर घटना भएपछि तिनका कमाण्डरले कसरी परिचालन गरे भन्ने महत्वपूर्ण हुन्छ ।’ पटक-पटकका घटनाबाट पाठ सिकेर पनि सीमा सुरक्षाको प्रभावकारी रणनीति बनाउन नसक्नुले थप चुनौति थपिएको एआइजी ढकाल बताउँछन् ।

एसपीहरुलाई पनि कार्वाही हुन्छः गृह

केडिया अपहरण काण्डमा जिल्लाका एसपीहरु कतिको जिम्मेवार छन् भन्नेमा गृहमन्त्रालय पनि गम्भीर भएको प्रवक्ताएवम् सहसचिव यादव प्रसाद कोइरालाले बताए ।

छानविनको पहिलो चरणमा ड्युटीमा रहेका सुरक्षाकर्मीलाई निलम्बन गरेको र यदि छानविनले एसपीहरुको पनि कमजोरी देखिए उनीहरुलाई पनि कार्वाही हुने कोइराला बताउँछन् ।

‘सीमाको सुरक्षा संवेदनशील विषय हो । त्यति लामो दुरीबाट अपहरण भएको छ तल्लो दर्जालाई मात्रै कार्वाही गरेर छोड्ने भन्ने हुँदैन । छानविन पछि कमाण्डहरु दोषि देखिए उनीहरुलाई पनि कार्वाही हुन्छ,’ प्रवक्ता कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment